२४ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

विविधताको अन्तर्घुलन र संवेदनाको बहुरङ्गी ‘अभ्यन्तर’ कथासङ्ग्रह

पुस्तक

विश्वप्रसिद्ध कथाकार अर्नेस्ट हेमिङ्वेले भनेका छन्, “कथा त्यो हो, जुन लेखिएका शब्दहरूभन्दा परको कुरा हो।”

वास्तवमा, कथा शब्दको सीमाभित्र बाँधिएको विधा होइन, त्यो मौनताले बोलेको भाषा हो, अनुभवले कोरेको समय हो र मानिसको अन्तर चेतनाले रचेको जीवनको पुनर्सृष्टि हो। कथाको शक्ति घटनामा मात्र हुँदैन त्यो घटनाले जन्माउने अनुभूति, प्रश्न र चिन्तनमा निहित हुन्छ। यसैले कथा साहित्यको सबैभन्दा जीवित विधा मानिन्छ जहाँ जीवन आफैँ अनेक रूप, अनेक आवाज र अनेक संवेदनाका साथ पुनर्जन्म लिन्छ।

जीवन आफैँ एउटा विराट आख्यान हो। प्रत्येक मानिस एउटा अलग कथा हो। त्यसैले मानिस बाँचिरहँदा अनगिन्ती कथा जन्माइरहेको हुन्छ। कतै प्रेमको उज्यालो हुन्छ त कतै विछोडको धुवाँ। कतै विज्ञानले नयाँ क्षितिज खोल्छ त कतै नयाँ त्रास पनि जन्माउँछ। कतै गरिबी जीवनको नियति बन्छ त कतै सम्पन्नताभित्र पनि अभावको मरुभूमि फैलिएको हुन्छ।

साहित्यले यिनै अदृश्य कम्पनहरूलाई शब्द र सन्देश दिन्छ। त्यसैले कथा मनोरञ्जनको साधन मात्र होइन यो समाजको मनोवैज्ञानिक दृष्टि, समयको सांस्कृतिक अभिलेख र मानवीय चेतनाको कलात्मक अभिव्यक्ति पनि हो। यस्तैयस्तै विविध परिवेश र सन्देशका कथानक उभ्याएर फरकफरक स्वादका कथाहरू लिएर आएकी छन् सुमन वर्षा ‘अभ्यन्तर कथासंग्रह’ मार्फत्।

कथाकार सुमन वर्षाको ‘अभ्यन्तर’ समकालीन नेपाली कथासाहित्यमा अर्थपूर्ण आगमनका रूपमा देखापर्छ। शीर्षकले संकेत गरेझैँ यो सङ्ग्रह बाह्य घटनाको भन्दा मानिसको अन्तर्भूमिको खोजी हो। यहाँ पात्रहरू समाजसँग मात्र संघर्ष गर्दैनन्, उनीहरू आफ्नै मन, आफ्नै स्मृति, आफ्नै भय, आफ्नै चाहना र आफ्नै असुरक्षासँग पनि निरन्तर जुधिरहेका छन्। त्यसैले ‘अभ्यन्तर’ बाहिरी संसारको भन्दा भित्री संसारको यात्रा हो भन्ने मलाई लाग्छ।

‘अभ्यन्तर’ भित्रका अठार कथा अठार पृथक् संसार हुन्। कुनै कथा आधुनिक दाम्पत्य जीवनको मौन दूरीको कथा हो भने कुनै विज्ञानले जन्माउन सक्ने नैतिक संकटको हो। कतै वातावरणीय चेतनाको र कुनै स्त्री–अस्तित्वको गहिराइमा रहेको छ। कुनै वैदेशिक रोजगारीका कारण विखण्डित हुँदै गएको नेपाली परिवारको व्यथा हो भने कुनै महामारीको त्रासदीको। कुनै भने मानवीय सम्बन्धभित्रै लुकेको तीतो एक्लोपनको। विषयवस्तुको यही व्यापकता नै ‘अभ्यन्तर’ लाई समकालीन नेपाली कथासाहित्यमा अलग बनाउने पक्ष हो।

संग्रहको पहिलो कथा ‘अन्तर्य’ ले आधुनिक जीवनको व्यस्तता र सम्बन्धभित्र बढ्दै गएको मौनतालाई अत्यन्त सूक्ष्म मनोवैज्ञानिक धरातलमा प्रस्तुत गरेको छ। प्रेम यहाँ घोषणाभन्दा बढी मौनता हो। सरिता र बिसुको सम्बन्ध कुनै नाटकीय निष्कर्षमा पुग्दैन बरु जीवनका धेरै सम्बन्ध जस्तै अधुरै रहन्छ। यही अधुरोपनले कथालाई जीवनको नजिक पुर्‍याएको छ।

‘अर्को बिहानी’ ले चिकित्सकीय नैतिकताको प्रश्न उठाउँदै बालिकामाथि हुने यौन हिंसाको संवेदनशील चरित्रको चित्रण गरेको छ। कथाले पीडालाई सनसनी बनाउँदैन बरु मौन प्रतिरोधका रूपमा प्रस्तुत गर्छ।

त्यसैगरी ‘एउटा नदेखिने खडेरी’ ले आधुनिक मानिसको भावनात्मक सुक्खापनलाई यति प्रभावकारी ढङ्गले चित्रण गरेको छ कि कथा पढिसकेपछि पाठक आफ्नै जीवनतिर फर्केर हेर्न बाध्य हुन्छ।

यस सङ्ग्रहको सबैभन्दा विशिष्ट उपलब्धि ‘क्लोन’ कथा हो। नेपाली कथा साहित्यमा विज्ञान कथाको परम्परा अझै सीमित रहेको अवस्थामा, क्लोनिङ जस्तो जटिल वैज्ञानिक विषयलाई साहित्यिक संवेदनासँग जोड्नु आफैँमा चुनौतीपूर्ण कार्य हो। कथाकारले विज्ञानलाई चमत्कारका रूपमा होइन, मानवीय नैतिकताको परीक्षाका रूपमा प्रस्तुत गरेकी छन्। विज्ञानले मानिसलाई के दिन सक्छ भन्नेभन्दा पनि त्यसले मानिसबाट के खोस्न सक्छ भन्ने प्रश्न कथाभरि प्रतिध्वनित हुन्छ। यही कारण ‘क्लोन’ नेपाली विज्ञान कथाको सम्भावनालाई नयाँ दिशातर्फ उन्मुख गराउने रचनामध्ये एक मान्न सकिन्छ।

वातावरणीय चेतना बोकेको ‘गङ्गा दिदी मुसुक्क हाँस्छिन्’ प्रकृतिलाई पात्रका रूपमा उभ्याउने सुन्दर कथा हो। प्रदूषण, विकास र मानवीय स्वार्थबीच प्रकृतिको मौन पीडा यस कथामा प्रतीकात्मक रूपले अभिव्यक्त भएको छ। आजको विश्वव्यापी जलवायु संकटको सन्दर्भमा, यो कथा झन् सान्दर्भिक बनेको देखिन्छ।

प्रवासन नेपाली समाजको सबैभन्दा ठूलो सामाजिक यथार्थ हो। ‘जानुअघि’ ले विदेशिएका छोराछोरी र गाउँमा एक्लिएका वृद्ध अभिभावक बीचको भावनात्मक दूरीलाई यति स्वाभाविक ढङ्गले प्रस्तुत गर्छ कि कथा पढ्दा अनेक नेपाली घरहरूको वास्तविकता आँखाअगाडि उभिन्छ।

प्रविधि भएर पनि आत्मीय हराएको वर्तमान समयको विडम्बना यस कथाको केन्द्रमा छ। स्त्री–अस्तित्व र स्वतन्त्रताको प्रश्न ‘अभ्यन्तर’ का धेरै कथामा दोहोरिएर आएको छ। ‘सम्बन्धभित्रको सम्बन्ध’, ‘सरोगेसी’, ‘सौरभी’, ‘सोचिसकेपछि उसले’ र ‘होहल्लाको वृत्तबाट’ जस्ता कथाहरूले स्त्रीलाई पीडित पात्रका रूपमा मात्र चित्रण गरेका छैनन्, उनीहरू निर्णय गर्न सक्ने, सम्बन्ध तोड्न सक्ने, आफ्नो अस्तित्वका लागि संघर्ष गर्न सक्ने आत्मनिर्भर पात्रका रूपमा प्रस्तुत भएका छन्। यही पक्षले सुमन वर्षाको कथालाई समकालीन नारीवादी चेतनासँग जोड्छ।

भाषिक दृष्टिले पनि ‘अभ्यन्तर’ उल्लेखनीय छ। भाषा सरल छ तर सपाट छैन, सहज छ तर प्रभावहीन छैन। आवश्यक ठाउँमा स्थानीय शब्द, प्राविधिक पदावली र आधुनिक जीवनसँग सम्बन्धित अङ्ग्रेजी शब्दहरूको प्रयोगले कथालाई यथार्थपरक बनाएको छ।

कथाकारले भाषालाई प्रदर्शनको माध्यम बनाएकी छैनन्, बरु अनुभूतिलाई बोक्ने साधन बनाएकी छन्। शिल्पका दृष्टिले अधिकांश कथा कसिला छन्। घटनाको विकास क्रमिक छ। संवाद स्वाभाविक छन्। पात्रहरू कृत्रिम देखिँदैनन्। कथाहरूको सबैभन्दा ठूलो शक्ति भनेको पाठकीय जिज्ञासा हो। एउटा कथा पढ्न थालेपछि पढिनसकी छोड्न मन लाग्दैन। यो कुनै पनि कथाकारको ठूलो सफलता हो। यद्यपि आलोचनात्मक दृष्टिले हेर्दा केही कथामा सम्पादनको थप आवश्यकता महसुस हुन्छ। कतिपय स्थानमा वर्णविन्यासगत त्रुटि, वाक्य संरचनाको पुनरावृत्ति तथा केही कथाको अन्त्य अझ कसिलो हुन सक्थ्यो पनि । यस्ता सामान्य कमजोरीहरूले कृतिको समग्र साहित्यिक मूल्यलाई भने कमजोर बनाएका छैनन्।

समग्रमा, ‘अभ्यन्तर’ समकालीन नेपाली कथासाहित्यमा उल्लेखनीय उपस्थिति जनाउने कृति हो। यसले पाठकलाई कथा मात्र भन्दैन सोच्न, महसुस गर्न र आफ्नै जीवनभित्र फर्केर हेर्न प्रेरित गर्छ। समकालीन जीवनको बहुआयामिक दस्तावेजका रूपमा स्थापित हुन सक्ने कृति हो। यसले विज्ञान र संवेदनालाई, समाज र मनोविज्ञानलाई, यथार्थ र कल्पनालाई, स्त्री चेतना र मानवीय करुणालाई एउटै सिर्जनात्मक धरातलमा उभ्याएको छ। कथाहरू पढ्दा हामी पात्रहरूलाई मात्र भेट्दैनौँ, आफ्नै समयलाई भेट्छौँ, आफ्नै समाजलाई देख्छौँ र अन्ततः आफ्नै मनको एउटा अपरिचित कोठामा पुग्छौँ।

‘अभ्यन्तर’ बाहिरी संसारका घटनाहरूको मात्र सङ्ग्रह होइन, यो मानिसभित्र निरन्तर चलिरहने मौन संवादहरूको साहित्यिक अभिलेख हो। यसभित्रका प्रत्येक कथा एउटा झ्याल हो, जहाँबाट पाठकले समाजलाई मात्र होइन, आफ्नै अन्तरात्मालाई पनि नियाल्न सक्छ। यही यसको सबैभन्दा ठूलो उपलब्धि हो। यही कारण ‘अभ्यन्तर’ समकालीन नेपाली कथासाहित्यमा पठनीय मात्र होइन पुनः पठनीय कृति बनेको छ। आख्यानकार सुमन वर्षालाई सक्रिय साहित्यिक जीवनको कामना गर्दछु।

प्रकाशित: २४ श्रावण २०८३ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App