१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

भूमिको गीत

कविता

आस्था कोपिला

 

यो भूगोलबाट

सीमा स्तम्भ भत्किएझैं भत्किएर

सपनाको झोला बोकी

आङगभरि उज्यालो लिएर

एउटा गाउँले भाका सुसेल्दै

दोबाटाको प्राचीन देउरालीमा

बैनीले प्रेम उनेको सयपत्री हार चढाई

सूर्योदयमा टल्कने निर्मल शीतको थोपा जस्तै

धर्तीका आँसुहरू आँखामा राखी

एक अँगालो सञ्जीवनी हावा लिएर गयौ।

एक हुल आँखाहरू टक्क रोकियो

सालिक बनेर

तिमीलाई छुने पार्श्व छायाको क्षितिजसम्म

प्रतिध्वनित भयो।

यही माटोमा उभिई

जूनको उज्यालो धरतीमा

पोखिएको हेरेको हो।

ताराहरूको आकृति आँखामा खिच्न

सिकेको हो

यिनै धुले अक्षरको मन्दिरमा

कखहरा सिकी

जीवन लेख्न जानेको हो।

सखारै मुस्कुराउने घामको सपना

हरिया बोटवृक्ष

सन्तानप्रति भरिएको आमाको विश्वास

चोखो सुनगाभाले खन्याएको

एक अञ्जुली प्रेम

मुस्कुराउने चोमोलुङमा

सहृदयी हातहरू

वसन्त फुलेको रहर

पखेरो, खर्क र गोठलाहरू

सबै छातीमा सजाई

अनन्त सीमाना पार गर्‍यौ।

धेरै भयो

तिम्रा हुलाकीहरू आएका छैनन्

अझै गाउँ र शहर जोड्ने पुल

बनिसकेका छैनन्

जँघार नाघेर को आउँछ!

समदर्शी युग हेर्न चाहने आँखा

धमिलो देख्न थालेको छ

भोकाएका साँझहरू

मनकै मझेरीमा सारंगी रेटिरहेछ

अँध्यारामै बेअर्थ चिर्बिराउँछन्-चराहरू

फिक्का लालीगुराँस

तिमै लाली रङको पर्खाइमा छ।

सपना रोएर गाउँमा

रुझेका छन्

घरका कौसी र बार्दलीहरू

यो देशको चिसो छहारीमा

विभेदको अग्ला पर्खालछेउ

आज पनि उस्तै छन्

दासताले टेकेको

यो भूमिको गीत।

प्रकाशित: ३० कार्तिक २०७९ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App