४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

भूसांस्कृतिक नियात्रा: घामभन्दा पहिले

नेपाली साहित्यमा निबन्धको जराबाट पलाएको अतिरिक्त पालुवा हो नियात्रा। नवीन विधा भएकाले नियात्राको इतिहास स्वाभाविक रूपमा छोटो छ। हाम्रो साहित्यमा नियात्राको जग बसाउने श्रेय ताना शर्मालाई जान्छ। लैनसिंङ बाङ्देल, धच गोतामे, मञ्जुल, नारायण ढकाल आदिले शर्माले निर्माण गरेको डोरेटोलाई चक्लाबन्दी गरे। उनीहरूले नेपाली नियात्रालाई आयामगत बिस्तार मात्र गरेनन् यसमा सुन्दरताको लेपन पनि गरे। विधागत स्थापत्यको विकासमा पनि उनीहरूको जोड रह्‍यो। समसामयिक कालखण्डमा नियात्रालाई उचाइमा पु¥याउन मोहन मैनाली, जीवा लामिछाने, युवराज नयाँघरे, निर्मोही व्यास, प्रतीक ढकाल आदिजस्ता दर्जनौं नियात्राकार कम्मर कसेर लागेका छन्।  

नेपाली नियात्रा लेखनमा महिला लेखकको उपस्थिति भने निम्छरो देखिएको छ। नेपाली साहित्यको समग्रतालाई नियाल्दा पनि महिला लेखकहरू अल्पसङ्ख्यामै देखिन्छन्। यद्यपि चालीसको दशकपश्‍चात्‌ नियात्रा लेखनमा रञ्जुश्री पराजुलीको ‘विदेशमा बिताएका केही वर्ष’ (२०४१) शीर्षकको नियात्राबाट पुस्तकाकार रूपमा नियात्राले प्रवेश पाएको समीक्षक डा. गीता त्रिपाठीले उल्लेख गरेकी छन्। पछिल्लो समय निबन्ध र नियात्राको पुस्तकाकार कृति लिएर अप्सरा पुडासैनी, इल्या भट्टराई, कविता पौडेल, गीता रेग्मी, जुनु क्षेत्री, गीता खत्री, नर्मदेश्‍वरी सत्याल, प्रभा बराल, बानिरा गिरी, विना घले, भारती गौतम, रुकु कार्की, बिन्दु सुवेदी, सरस्वती ज्ञवाली, सरु सुवेदी, सीता विक आदि महिलाहरू निबन्ध र यात्रानिबन्ध लेखनमा सक्रिय देखिएका छन्। यस क्रममा आफ्नो लेखनी मिसाउन आएकी हुन् भवानी खतिवडा आफ्नो नियात्रा ‘घामभन्दा पहिले’ लिएर।

साहित्यवृत्तका धेरैलाई थाहा छ भनावीको परिचय खासमा कविको हो। त्यसमा पनि शब्द कुँदेर सिर्जना गरिने छन्दकविताका मञ्चहरूमा उनलाई धेरै स्रोताले खोज्छन्। उनी मञ्च उक्लेपछि छन्दपारखीहरूले परर‌ ताली बजाउन बिर्संदैनन् र अन्तिमसम्म करताल फोहोरा छुटाइरहन्छन्। यो पटक भवानीले बाटो फेरेकी छन्। पद्य कविताको मूलबाटोबाट अर्को नयाँ मार्गमा हिँड्न चाहेकी छन् उनी। उनको डाइभर्सन कतिपय छन्दप्रेमीलाई ननिको पनि लाग्न सक्ला। उनलाई लागेको हुनुपर्छ बेलाबेला थोरै भिन्न बाटो पनि समात्नुपर्छ जीवनमा। निरन्तर एउटै पदचापको डोरेटोले एकरसता सिर्जना हुनसक्ने जोखिम हुन्छ। जे होस् भवानीले नयाँ मार्गमा पाइला राख्‍न चाहेकी छन्। भन्न सकिन्छ, यही नवयात्राको नूतन थालनीको अभिलेखन हो ‘घामभन्दा पहिले।’

यसै भन्न सकिन्न; कोलम्बसले यात्रा नगरेको भए आजको अमेरिका पत्ता लाग्थ्यो–लाग्थेन ? यसो भनुँ न ‘पछि पत्ता लाग्थ्यो होला।’ यात्राको कत्रो भूमिका रहन्छ भन्ने दृष्टान्त यो जत्तिको बलियो सायदै अर्को होला। यात्रासंस्मरणले नयाँ कुराको अन्वेषण गर्ने गर्छ। सम्भाव्य ठाउँहरूको यात्राबाट असम्भाव्य परिकल्पना र नयाँ क्षितिज उघार्ने काम यात्राले नै गर्ने हो। यदि तपाईं नयाँ कुरा अनुभूत गर्न चाहनुहुन्छ भने नयाँ–नयाँ ठाउँमा घुम्‍नुुपर्छ। यस्तै जीवन्त यात्राबाट सिर्जना भएको कृति हो भवानीको ‘घामभन्दा पहिले।’  

घामभन्दा पहिले पुस्तकको आधारभूमि वा शब्दस्रोतको भूगोल उच्च हिमाली र नेपालको पहाडी क्षेत्र हो। मुक्तिनाथ, हलेसी र राराक्षेत्रलाई भवानीले आफ्नो यात्राको भूगोल र लेखनको खास क्यानभास बनाएकी छन्। मुक्तिनाथ क्षेत्रलाई नियात्राको आरम्भ वा प्रस्तावना र त्यहाँको प्रकृति, धर्म र स्थानीय जनजीवनलाई नियाल्दै उनले धेरै शब्द खर्च गरेकी छन्। हलेसी यात्राको अभिप्राय खासमा धार्मिक भ्रमण रहेको देखिन्छ तर यसमा ज्यादा नियात्राकारको सङ्घर्षको कुरा आएको छ। ‘तीन तालमा हलेसी’ शीर्षकमा पटकपटक हलेसी पुग्‍ने उत्कट अभिलाशालाई मूर्त रूप दिन गरिएको सङ्घर्षलाई यहाँ प्रस्तुत गरिएको छ। भौगोलिक जटिलता र मान्छेको शारीरिक जटिलताका निकै जटिल आरोहअवरोहलाई यहाँ वर्णन गरिएको छ। यस नियात्रामा भाषाको मादकता तिख्खर बनेर प्रस्तुत भएको छ –  

‘बन्यालीको महक बोकेर डुलिरहेको छ बतास। कोशीकिनारमा लता–वल्लरी बताससितै खेलिरहेका छन्। प्राकृतिक विविधताले सुसज्जित भूगोलबीचमा लहरिएको सुनकोसीको चलमलाहट देख्दा आफ्नै हृदयमा पनि उमङ्गका अनन्त लहर प्रवाहित भइरहझैं लागिरह्‍यो।’ 

यस नियात्रामा परिवेशवर्णन सुन्दर हुँदाहुँदै पनि नियात्रालाई लेखकको आत्मकथाको गथासोले बढी थिचेको भान पनि पाठकले अनुभूति गर्न सक्छन्।  

यसैगरी यस पुस्तकको आखिरी खण्डमा रारा क्षेत्रको वर्णन गरिएको छ। यो पुस्तकको पछिल्लो वा निष्कर्ष खण्ड पनि हो। यसमा सबैभन्दा धेरै समय, श्रम र अक्षर सँगसँगै खर्च भएको छ। पुस्तकको अधिकांश भाग कर्णाली वर्णनले ओगटेको छ। ‘त्यो उज्यालो कर्णाली’ पुस्तकमा छुटपुट हुनेपुगेका कतिपय कुरा पनि यस खण्डका नियात्रामा देखिएका छन्। राराक्षेत्र भनिए पनि यस वरिपरिका सुर्खेत, दैलेख, कालीकोट, अछामदेखि मुगुसम्मको भूगोललाई नियात्राकारले हृदयले चुम्बन गरेको फिहरिस्त पढ्न पाइन्छ यस पुस्तकमा।  

नियात्राकारको लेखकीय फ्रेमभित्र यिनै तीन क्षेत्रलाई आकर्षक रङरोगन गरिएकाले यात्राविवरणको सँगालो थप पठनीय बनेको छ। उच्च पहाडी र हिमाली जिल्लाको पदचापलाई लेखकीय दायरा बनाइएको प्रस्तुत पुस्तकबाट पाठक सजिलै अघाउँदैनन् यस्तै थप केही शब्दवर्णन खोजिरहन्छन्।

यात्राकै क्रममा लेखककी ममतामयी आमाको प्रतिकूल स्वास्थ्यका कारण आरामका लागि बीच बाटोमै छोड्नु पर्दाको कारुणिक र भावनात्मक यात्रावर्णनले पाठकलाई एउटा संवेदनशील आख्यान पढेजत्तिकै अनुभूति गाउँछ भने तीर्थाटन र प्रकृतिपरख यस पुस्तकको केन्द्रीय चुरो पनि यही हो भन्ने पाठकले सजिलै भेउ पाउँछन्। पुस्तकको बहुपृष्ठ राराक्षेत्रको वर्णन गरिएबाट अर्को के बुझिन्छ भने नियात्राकारको अन्तर्मनलाई राराको सुन्दरताले खिच्नसम्म खिचेको छ महेन्द्र राजालाई जस्तै। रारा पुगेपछि महेन्द्रले त्यसै कहाँ लेखेका हुन् र ‘रारा कि अप्सरा’ शीर्षकको कविता।  

प्रस्तुत पुस्तकमा भवानी यस्ती यायावर बनेर निस्केकी छन् जसले आफ्नो यात्राविवरणमा तत्तत्‌ भौगोलिक जीवनको सपाट चित्र उतार्न उत्सुक बनेकी छन्। एउटै नियात्रामा काव्यभित्रको भावुक सौन्दर्य, आख्यानमा हुने रोमाञ्चकता र प्रस्तुतिमा हुने हृदयसंवेदनालाई पनि उत्तिकै ख्याल गर्न भ्याएकी छन् नियात्राकारले। यो उनको लेखनीको सबैभन्दा भरोसालाग्दो पाटो हो।

पूर्व–पश्‍च पृष्ठसहित डेढसय बढी पाना ओगटेको ठिक्कको कलेबरले यो यात्रानिबन्ध सँगालोलाई एक–दुई बसाइमा सहजै पढिसक्न मुस्किल पर्दैन। पठनधैर्य कम भएका पाठकलाई पनि यस पुस्तकले अत्याउँदैन। हामीकहाँ वर्णन गर्न लायक धेरै ठाउँ छन् तर अधिकांशलाई आकर्षणको पासोमा पार्न सक्ने केही विशेष ठाउँहरू मात्र छन् जुन भवानीले आफ्नो नियात्रामा मन खोलेर बयान गरेकी छन्। समीक्षक महेश पौड्यालले भनेझैं धेरै नियात्राकारले यिनै खास प्रसिद्ध ठाउँका बारेमा बढी भट्याएका छन् भन्ने कुरालाई नियात्राकारले भविष्यमा ख्याल गर्नैपर्छ तर बयान खास स्थानको मात्र हुन्छ भन्ने कुरालाई पनि बिर्संन मिल्दैन। संसारका सतप्रतिशत ठाउँ बयानका लागि उत्तिकै उपयुक्त नहुन सक्छन् त्यसैले धेरै आख्यानकारले न्यु योर्कलाई रोज्छन् र भवानीहरूले रारालाई रोझिन्‌।  

नियात्रालेखनका लागि अनिवार्य सर्त यात्रा गर्नु हो। नियात्राकार खतिवडाले अनुकूल–प्रतिकूल दुवै परिस्थितिमा आफ्नो यात्राको थालनी गरेकी छन्। उनले यात्रा गरेका ठाउँ यति मात्र होइनन् बरु उनका आँखामा गडेका दृश्य र कलमले लेखूँलेखूँ लागेका चयनित स्थान मात्र यिनीहरू हुन् जुन नियात्राका मालामा उनिएको छ। फेरि लेखकले सक्रिय रहिरहेकाले उनले बाँकी रहेका स्थानका बारेमा भविष्यमा बेजोड तरिकाले नलेख्लिन् भन्ने पनि कसरी अड्कल गर्नू र ?  

यस सँगालोको अर्को बलियो पक्ष भनेको भाषाको अङ्कुसेमा पाठकलाई बाँध्न सक्नु हो। कुँदिएका शब्द छानीछानी गण मिलाउन सिपालु छन्दकवि खतिवडाको नियात्रागत भाषा पनि तिख्खर प्रतीत भएको छ। कतैकतै त लोभलाग्दो पनि छ। वस्तुलाई भन्ने ध्वन्यात्मक शब्द र बिस्तारित मेटाफोरलाई बुझाउने दर्जनौं वाक्यांश नियात्रामा पढ्न पाइनु उनको लेखनीको आँत हो, चुरो हो जुन पुस्तक लामो समयसम्म टिकाउ हुने मूल आधार पनि हो। यद्यपि ‘लेटनु’, ‘सप्लाइ’ आदिजस्ता विदेशी शब्दले कतैकतै पठनमा अस्वाभाविक उल्झन सिर्जना गरेको छ। 

केही प्रकाशकका तर्फबाट केही सर्जक स्वयंबाट प्राविधिक कमजोरीका धब्बा पनि पुस्तकमा देखिएका छन्। हिँड्ने मान्छे लड्छ भनेजस्तै भवानीको प्रस्तुतीकरणले उनी अब गद्य लेखनमा आफ्नो सिर्जनात्मक कुदाइ गर्न सफल हुने थुप्रै प्रमाणहरू यस पुस्तकमा देखिएका छन्। लेखकभित्र राम्रो नियात्रा बनाउने हुटहुटी अधिक छ तर कतैकतै निबन्धले नियात्रालाई ऐठन गर्न खोजेको पनि भान हुन्छ। ‘नर्क–कुण्डको ढोकैबाट’ शीर्षकको नियात्रा खासमा निबन्ध हुन पुगेको छ।  

‘आँखैमा राखे पनि नबिझाउने स्वभाव थियो उहाँको। माया साँचो र निस्वार्थ भयो भने रगतको मात्र त के अरू जुनसुकै किसिमले जोडिएका नातालाई पनि फिका तुल्याउने सामथ्र्य राख्तो रहेछ भन्ने लाग्छ मलाई उहाँहरूको व्यवाहर देखेर नै।’  

किताबका अन्य कमजोरीहरूमा विषयसूचीमा तीनवटा मुख्य विषय क्षेत्र भनिए पनि त्यसको विस्तारित सूचीमा १५ वटा उल्लेख छ। तर मूल पाठमा १४ मात्र शीर्षकहरू अटेका छन्। यसलाई प्राविधिक त्रुटि मात्र भनेर छुट पाइँदैन। यो एक प्रकारको हेलचक्र्याइँ पनि हो। त्यसमा पनि ‘मुस्ताङसितको भेट र मेरो भन्नु यति मात्र हो’ भन्ने उपशीर्षक पुस्तकबाट गायब भएको छ। थप कुरा भन्ने पुस्तकको टुङ्ग्याउनी विषयसूचीमा उल्लेख छैन।  

समाचारलाई हतारको साहित्य भनेर पत्रकारहरू जिम्मेबारीबाट भाग्न खोज्छन् तर नियात्राकारलाई पत्रकारलाई झैं घोषित हतारो हुँदैन र आजका पाठक व्यापक अपजसीया रहेकाले नियात्राकार आगामी दिन थप सचेत नहुनुपर्ने कुनै छुट छैन। यो अस्वाभाविक ठानिँदैन। हिज्जेका सामान्य कसरमसर पनि नियात्रामा छन्। पूर्वसमीक्षकहरूले उठाएजस्तै ठाउँठाउँ छपाइ त्रुटि अवश्य भएका छन्। यसलाई भवानी जत्तिको ऊर्जाशील लेखकले अर्को संस्करणमा नमाझ्ने कल्पनाभन्दा परको कुरा भैहाल्यो।

‘घामभन्दा पहिले’ नियात्रामा भावना छ। प्रकृति छ। घुमफिर गर्दा सुखदुःखात्मक अनुभूतिको सिञ्चन छ। खासमा सम्बद्ध ठाउँको भूसांस्कृतिक पक्षको उजागर छ। ‘माल पाएर चाल नपाएका’ हामी गोर्खेहरूको व्यवहारप्रति ठाउँठाउँमा गुनासो पनि छ। लेखन असन्तोषी पेसा हो। यो सिकायतभित्र समाजको समुन्नतिको आधार लुगेको हुन्छ। नियात्राकारले आफूमा रहेको देश प्रेम, अगाध प्रकृतिपारख र विश्वचकित पार्ने सक्ने सुरम्य प्राकृतिक सम्पत्तिप्रति लेखकीय गर्व छताछुल्ल पारेकी छन् ‘घामभन्दा पहिले’ मा।  

नियात्राकार सचेत छन्। यात्राबाट सामान्य जीवनका सूक्ष्म पक्षहरूलाई नियाल्न सकिन्छ। पैतालाले गरेको यात्रालाई कलमले डोब बनाउँदै जाँदा यात्रासंस्मरण बन्दोरहेछ जुन भवानीले बुझेकी छन्। यो उनको प्रवेश हो, डेब्यु हो। उनले अब सयौं यात्रासंस्मरण बान्की मिलाएर सिर्जन सक्छिन्। चितवन कविडाँडाको कार्यक्रममा उनको पुरस्कृत निबन्ध पढेपछि यो समीक्षकलाई लागेको थियो एक अब्बल निबन्धकारको जन्म हुँदै छ। हो त्यसैको पुष्टि गरेकी छन् उनले ‘घामभन्दा पहिले’ मा।  

पाठकलाई च्याप्प समात्न सक्ने प्रभावकारी प्रस्तुति यस नियात्राको सबल पक्ष हो। नियात्राकारले बयान गरेका ठाउँमा पुगेका र पुग्‍ने साइत नजुरेका जोसुकैलाई पनि तत्तत्‌ स्थानको मज्जाले परिभ्रमण गराउन सफल छ पुस्तक। छन्दबद्ध कविताबाट गद्यलेखनमा हामफालेकी भवानीलाई यस क्षेत्रमा टिकिरहन यस पुस्तकबारेमा समीक्षकहरूले देखाएका रिक्त स्थानहरू पूरा गर्दै आगामी लेखनमा थप तिखारिएर लाग्नु पर्ने चुनौती पनि छ। निबन्ध र नियात्रामा पनि एक प्रकारको कौतुहल सिर्जना गर्न कलाको विकास गरिसकेकी उनले बढी जिम्मेवार भएर नेपाली नियात्रा क्षेत्रलाई हराभरा बनाउने छन् भन्ने विश्वाास गर्न सकिन्छ।

प्रकाशित: २६ कार्तिक २०७९ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App