१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

सत्यम् शिवम् सुन्दरम

संस्मरण

अस्पतालको निकै विस्तृत परिसरमा म भित्रिएँ त्यो दिन। म निकै पर पुगेर एकजना गार्डलाई सोधें, ‘सत्यमोहन जोशीलाई राखिएको ठाउँ कता हो ?’ उनले अलि निरस पाराले उत्तर दिए, ‘उ...परको बिल्डिङमा ।’ उनले देखाएको बिल्डिङतिर अघि बढें। केहीबेरमै त्यस बिल्डिङको अघिल्तिर पुगेर आँखा फिजाएँ। सामान्य २/४ जना मानिसहरू आफ्नै काममा व्यस्त भएझैं यताउता गरिरहेका देखिन्थे। समय त्यस्तै साढे १० जति बजेको हुँदो हो, असोज ३० गतेको। त्यति बेलासम्म अस्पतालमा जोशीको प्रार्थिव शरीरको अन्तिम दर्शन गर्न भनेर पुग्ने मानिसहरू नगण्य संख्यामा देखिन्थे।

किस्ट शिक्षण अस्पतालको त्यस भवनको परिसर भने आकर्षक नै थियो। मूल गेटको अघिल्तिर झन्डै चार फुट जति चौडाइ र बीस फिट जति लम्बाइको कृत्रिम पोखरीमा भुल्भुलाइरहेका फोहराहरू थिए। पोखरीको वरिपरि सुन्दर पुष्पवाटिका मुस्कुराइरहेथ्यो। फोहराको मन्द ध्वनिलाई नजिकैबाट भने अनुभव गर्न सकिन्थ्यो। म त्यही सानु वाटिका-पोखरीको छेउमा उभिएर घरि त्यस भवनको उत्तरतर्फ फाटफुट आउँदैजाँदै गरेका मानिसहरूतिर र घरि अस्पतालको मूल गेटतिर हेर्दै उभिइरहेँ।

अँ,अब मानिस आउन थाले है। मैले अस्पतालको आधा खुलेको गेटनेर गएर यसो भित्रतिर हेर्न खोजेको मात्र थिएँ। ‘भित्र जान अहिले मिल्दैन, पारिवारिक सदस्यलाई मात्र जान मिल्छ,’ गेटमा उभिएका युनिफर्मवाला गार्डले भने। म गेटनेरको सिँढीमुनिको भुइँतिर फर्कें। त्यसबेलासम्म ३०/४० जनाजति मान्छे त्यहाँ जम्मा भएका थिए। ती सबैजसो निन्याउरा आँखाले गेटभित्रतिर हेर्दै थिए। गेटभित्रको लवी भने प्रायः रित्तो भन्न सकिनेजस्तै थियो। यसबेलासम्म मैले चिनेको अनुहार कोही पुगेको भने थिएन।

वरपर हेर्दै थिएँ। एकजना पुराना पत्रकार दाइ वंशिधर बज्राचार्य देखिए। नजिक गएँ। जोशीकै बारेमा छोटो कुराकानी भयो। मानिस थपिँदै गए। टेलिभिजन क्यामरासहितका पत्रकारहरू निकै देखिन थाले। ससाना हुलमा मानिसहरू आउने क्रम बढ्दै गयो। चिनेचिने जस्ता मानिसहरू पनि देखिए। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञहरू पनि देखिए। साहित्यकारहरूको बाक्लो उपस्थिति भने त्यहाँ देखिएन।

सबैका आँखा भित्रतिर थिए। अहँ, जोशीको प्रार्थिव शरीरलाई बाहिर ल्याउने संकेत थिएन। सबै धैर्यपूर्वक प्रतीक्षामा थिए। अस्पताल परिसरलाई प्रायः मौनताको उदासीले छाएको थियो। म अलि बाहिरपट्टि आएँ। एकजना टेलिभिजन पत्रकारले रिपोर्टिङ गर्दै गरेको सुनेँ। रिपोर्टिङका क्रममा उनले ‘अब केहीबेरमै जोशीको प्रार्थिव शरीरलाई अस्पतालबाट बाहिर ल्याइने जानकारी हामीलाई प्राप्त भएको छ...’ भनेको सुनेँ। उनले जोशीको जीवनवृत्तबारे संक्षिप्त तर राम्रै रिपोर्टिङ गरेका थिए। उनी एपिवान टेलिभिजनका रिपोर्टर रहेछन्। म नजिकमा उभिएको थिएँ। उनले जोशीको चिर अनुपस्थिति भएपछिको स्थितिबारे मसित पनि संक्षिप्त प्रतिक्रिया लिए।

१५/२० मिनटपछि जोशीकी धर्मपत्नी राधादेवी जोशीलाई ह्विलचियरमा बसाएर गेटबाहिर ल्याइयो। वरिपरि आफन्तजन र शोकाकुल मानिसहरूको घुइँचोजस्तै थियो। म अलि नजिकैजस्तो गएर भीडको चेपबाट श्रीमती जोशीलाई हेरेँ। उनका वयोवृद्धा आँखामा आँसुका अन्तिम ढिकाहरू खस्ने तरखरमा डग्डबाइरहेका थिए। बिरामी भएर सायद केही दिन पहिले उनलाई पनि अस्पताल पुर्‍याएको थियो कि भन्ने मैले अनुमान गरेँ। मेरो अनुमान नमिल्न पनि सक्थ्यो। अथवा आज असोज ३० गते बिहान निधनको घोषणा गर्नुभन्दा पहिले अन्तिम भेटका लागि उनलाई त्यहाँ पुर्‍याइएको पनि हुन सक्छ। पतिभन्दा ३/४ वर्षमात्र कम उमेरकी वयोवृद्धामा यस बेला वियोगान्त पीडाको निःशब्द हुन्डरी मडारिइरहेको थियो। केही बेरमा म अलि परतिर लागेँ।

सबै सञ्चारकर्मीहरू गेट अघिल्तिर स्ट्यान्डवाई थिए। अस्पतालको प्राङ्गण यस बेलासम्म जोशीको प्रार्थिव देहका अन्तिम दर्शनाभिलासी ३ सयभन्दा बढी नै जम्मा भइसकेका थिए।

जोशीको निष्प्राण देहलाई बाहिर ल्याउन लागिएको गेटभित्रकै लवीमा देखियो। उनको शरीरमा भित्रै फूलमालाले ढाकिसकिएको रहेछ। पँहेला फूलले ढाकिएको उनको शरीरमा पहिले पहेँलो वस्त्रले र त्यसको बाहिरपट्टि सयपत्रीका मालाले छोपिएको थियो। गेटबाहिर ल्याइएपछि उत्तर शिर पारेर उनको शरीरलाई अन्तिम दर्शनका लागि राखियो। अस्पतालको बेडमा उनको शरीर ल्याइएको थियो।अन्तिम दर्शनार्थीहरू फूलका माला लिएर उभिएका थिए। कसैकसैका हातमा सेता पहेँला मिश्रित रंगका खादा पनि थिए।

मसँग चढाउन केही पनि थिएन। माला लिएर उभिएका एकजनासँग ‘मालाबाटै निकालेर १/२ थुँगा फूल मलाई दिन मिल्छ कि भनेर मागें। उनले अप्ठ्यारो नमानी धागो खोलेर दुई थुँगा फूल मलाई दिए। मैले उनीबाट फूल लिएको देखिपछि मपछि उभिनेहरूले पनि मागे। उनले २/३ वटा फूल आफूलाई राखेर मालाका फूल सबै अरूलाई बाँडे। अब म रित्तो भइनँ। अब मसँग दुई थुँगा सयपत्री थिए। फूल हातमा लिएर उभिँदा अब मलाई असजिलो भएन। पाँच मिनटजति लाइनमा उभिएपछि म जोशीको निश्चल शरीरको सन्निकट पुगें र खुला शिरको सिरानतिर दुवै थुँगा फूल चढाएँ। मनमनै भनें, ‘हे महान् आत्मा! तिमीलाई हार्दिक श्रद्धाञ्जली।’ उनका आँखा चिम्लिएका थिए। अनुहारको तेज झन् बढेकोजस्तो लाग्यो। म बाहिरिएँ र केही परतिरबाट त्यतै फर्केर उभिएँ। उनको शान्त, निश्चल, निर्विकार अनुहार वरिपरि त्यति घुइँचो थिएन। विगत कर्महरूले उनलाई दिलाएको सन्तोष र प्रसन्नताको प्रतिबिम्ब अनुहारबाट प्रवाहित भइरहेजस्तो लाग्थ्यो।

म वरै खुला ठाउँमा घरि घाममा त घरि छाया परेको ठाउँबाट उनको प्रशान्त अनुहारतिर हेर्दै उभिएँ। त्यसरी उभिएर उनको देहतिर हेर्दै गर्दा उनलाई नजिकबाट भेटेका, उनीसँग कुराकानी गरेका विगतका यादहरू झुल्किन थाले। त्यसो त उनी प्रमुख अतिथि भएका धेरैवटा कार्यक्रमहरूमा म पुगेकै हुँ। उनका मन्तव्य संस्मरणहरू लामा भए पनि सुनेर कोही पनि दिक्क मान्दैनथे। उनी थोरै श्रोता भए पनि आफ्ना कुरा गम्भीरतापूर्वक व्यक्त गर्दथे। उनको स्मरणशक्ति थाहा पाएर श्रोताहरू रोमाञ्चित पनि बन्दथे। कार्यक्रम सकिएपछि श्रोताहरू भन्थे, ‘त्यसरी बाँच्नु पो बाँच्नु। शारीरिक, मानिसक रूपमा तन्दुरुस्त भएर, कति सम्झन सकेका होलान् बुढाले! यी बुढालाई सुनेपछि त इतिहास पढ्नै पर्दैन।’

यस्तैयस्तै। एकपछि अर्को गोष्ठीका दृश्यहरू सम्झनामा नाँच्न थाले। यस्तै, नयाँ वर्ष २०७६ लाग्दैको कुरा हो। नेपाली लेखक संघ, मोरङले उनलाई घरमै गएर सम्मान गर्ने कार्यक्रम बनाएको रहेछ। विराटनगरबाट साहित्यकारहरू दधिराज सुवेदी, विवश पोखरेल, गोकुल अधिकारी आदि आएका थिए। मलाई पनि खबर गरिएकाले जोशी निवास पाटनतिर गएँ। उनलाई अभिनन्दन पत्र प्रदान गरियो। केही वक्ताहरूले बोले। अन्तिममा उनलाई बोल्न आग्रह गरियो। त्यस लघु कार्यक्रममा उनले पुराना, नयाँ समयका विभिन्न साहित्यिक सन्दर्भका कुरा गरेका थिए।

एकादुई कुरा भने म यसबेला उनको आभामुक्त निश्चल निष्प्राण अनुहार देख्दा सम्झिरहेछु। उनले त्यस बेला भनेका थिए, ‘दिन बितेको चाल पाइन्छ तर वर्ष दिन बितेको चाल नपाइने रहेछ ।’ ओहो! समयको महत्त्व सम्झनलाई उनको यो भनाइ कति गम्भीर थियो। मानिसलाई दिक्क लागेका बेला, थकित भएका बेला, कुनै गम्भीर परिस्थिति आइलागेको बेला एक दिनको समय व्यतीत गर्न पनि गाह्रो महसुस भइरहेको हुन्छ। तर जे जस्तो भोग्नुपरे पनि समय बितिरहन्छ। आज, भोलि, पर्सि गर्दै हप्ता बित्छ, महिनाहरू बित्दै जान्छन्। हुँदाहुँदा मिलिक्क-मिलिक्क बित्दै जान्छन् वर्षहरू। मानिस उमेरले, अनुभवले खारिँदै जान्छ। बालक थाहै नपाई युवा र तरुणो हुँदै प्रौढ हुन्छ, वृद्ध हुन्छ। लामो समय बितेको पत्तै हुँदैन।

जोशीले आफूले व्यतीत गरेको समयलाई संकेत गर्दै, उपस्थित श्रोतालाई समयप्रति सचेत रहन स्मरण गराएका थिए। उनको यो एउटा भनाइ मात्र मैले सम्झेको होइन। उनका अरूअरू भनाइहरू पनि झल्याकझुलुक आए। उनले अन्यत्र पनि भनेका हुनसक्छन्, त्यही कार्यक्रममा पनि भनेका थिए, ‘साहित्यमा सत्यम् शिवम् सुन्दरम् हुनुपर्छ। त्यो साहित्य मात्र दीर्घजीवी हुन्छ।’ साहित्यप्रतिको यस्तो भनाइ त उनी अघिका वा उनका समकालीन सबैले भन्दै आएका हुन्। उनी बारम्बार यो भनाइलाई पनि दोहोर्‍याइरहन्थे। जोशीको मनमा गडेर बसेको सुन्दर चिन्तनको अंश भएकाले नै उनी यसलाई पुनस्मरण गरिरहन्थे। उनको लेखनवृत्तिको भित्रि ऊर्जाशील तत्त्व यिनै शब्दहरू भएको महसुस हुन्थ्यो-सत्यम्, शिवम्, सुन्दरम्। जोशी आफ्ना चिन्तनमा, कर्ममा र लेखनमा सत्यम्, शिवम्, सुन्दरम् खोजिरहन्थे भन्ने कुरा उनले दोहोर्‍याइरहने उक्त भनाइबाट पनि अनुमान गर्न सकिन्छ। नभन्दै उनका कर्महरूले सत्यम्, शिवम्, सुन्दरम्को खोजी गरिरहे। उनी त्यसैले मानव हुनुको अर्थमा सामान्य मानिस मात्र भएर बाँचेनन्, स्रष्टा, द्रष्टा, साधक, तपस्वी भएर बाँचे र अनि अरू सबैका लागि प्रेरणापुरुष भएर बाँचे।

जोशीको भौतिक देह चेतनशून्य भइसकेको झन्डै पाँच घण्टा बितिसकेको थियो। प्रायः सबै पुष्पाञ्जली अर्पण गरिसकेर ‘अब यहाँबाट कुन बेला लैजाने हुन्’ भन्ने मनस्थितिमा रहेझैं देखिन्थे। म झन्डै १२–१५ फिट पर उभिएको थिएँ। अरूअरू धेरैजनाका बीचमा म एक्लै थिएँ। मेरो ध्यान अन्यत्र गएन। फूलमाला, अबिर र खादाले ढपक्क छोपिएको जोशीको शरीर र खुला अनुहारतिर हेर्दै उभिइरहेँ। निष्प्राण अनुहारबाट उनैले बारम्बार भन्ने गरेका शब्दहरू तरङ्गित भएझैँ लाग्यो-‘सत्यम्, शिवम्, सुन्दरम्, सत्यम्, शिवम्, सुन्दरम्।’

फाटफुट दर्शनाभिलाषीहरू आउने क्रम भने झन्डै एक घण्टासम्म रह्यो। अस्पताल परिसर प्रायः शान्त थियो।

यस्तैमा एउटा ठूलो ट्रक ल्याइयो। त्यसलाई अलि पातलो गरी तीनतिरबाट फूलका मालाले सजाइएको थियो। प्रार्थिव शरीरलाई बिस्तारै बेडबाट उठाएर ट्रकमा राखियो। घुइँचो नगरीकन केही मानिसहरू ट्रकमा चढेर उभिए। केही मिनटमा ट्रकलाई ललितपुर महानगरपालिकाको कार्यालयतिर चलाइयो। उपस्थित मानिसहरू बिस्तारै बाहिरिन थाले। नेटिभीका साथीहरूसँग म पनि बाहिरिएँ।

केहीबेर मात्र पहिले जोशीको शरीर बोकेको ट्रक आइसकेको थियो महानगरपालिका प्राङ्गणमा। ट्रकभन्दा केही मिनेटपछि म पनि ललितपुर महानगरपालिकाको कार्यालय परिसरको हरियालीयुक्त वाटिकामा भित्रिएँ। धेरैजना आइसकेका थिए। ‘अब फलाना फलाना नेताहरू आउने कार्यक्रम छ’ भन्ने सुनें। जोशीको अन्तिम दर्शन गर्नुलाई कार्यक्रम नै भन्नुपर्ने हाम्रो बुझाइ र संस्कार सम्झेर मनमनै खिस्स भएँ। महानगरपालिकाका कर्मचारीहरू प्रायः युनिफर्ममा देखिन्थे। उनीहरू र अन्य आगन्तुकहरू सबैले बाटिकाको एक वृक्षमुनि राखिएको जोशीको देहमुक्त शरीरमा पुष्पार्पण गर्दै रहे। म अलि उता दक्षिणपट्टि उभिएर त्यहाँको शान्त चहलपहल हेरिरहें। म त्यहाँ यसअघि पसेको थिइनँ। अलि उतापट्टि अरनिकोको सालिकनेर गएर त्यसलाई निकैबेर लाएर हेरें। त्यहाँ लेखिएको विवरण पढेँ र फेरि अलि नजिकमै आएर पुष्पार्पण गर्दै गरेकाहरूतिर हेर्दै उभिएँ।

अँ...यहाँ भने साहित्यकारहरू फाटफुट देखिन थाले। फूल चढाएर फर्केका रामप्रसाद पन्तले मलाई देखेर भने, ‘कोही साहित्यकार देखिएन भनेको धमलाजीलाई देखियो।’ मैले भनें, ‘शिला खोज्दा मै फेला परेछु त !’ उनका साथमा ठाकुर शर्मा पनि थिए। ‘अरू पनि आउँदै होलान् नि, नजिकै छ,’ मैले फेरि भनें। ‘आउलान्,’ पन्तले भने। नभन्दै ५/१० मिनटपछि निकैजना लेखक, साहित्यकारहरू आउँदै, श्रद्धाञ्जलि दिँदै अलि उता खुलातिर गएर कुरा गर्न थाले। श्रीओम रोदन र राधेश्याम लेकाली साहित्यिक पत्रकारहरूका तर्फबाट सामूहिक श्रद्धाञ्जलि प्रकाशित गर्न साहित्यिक पत्रिकाहरूको नामावली संकलन गर्दै थिए। म जय छाङछा लगायत अरू साहित्यकारहरूसँग कुरा गर्दै उभिएँ।

केही ठूला नेताहरू पनि आए। उनीहरू हतारहतार आएर हतारहतार निस्किए। अलिपर श्रद्धाञ्जलि पुस्तिकामा नेताहरूले हतारहतार केही लेखेर फर्केको केहीबेर अघिदेखि देखिरहेछु अलिपरैबाट। त्यो पुस्तिका त्यहाँ छ भन्ने थाहा पाएर मलाई पनि त्यसमा ‘श्रद्धाञ्जलि’ शब्द लेख्न मन लाग्यो। म जोशीको प्रार्थिव देह भएतिर लागें। गार्डहरू थिए। ‘यहाँबाट जान मिल्दैन,’ भने। ‘श्रद्धाञ्जलि पुस्तिकामा केही शब्द लेख्न जान किन मिल्दैन?’ भन्दै म सरासर पुस्तिका राखेतिर गएँ। उनीहरूले रोकेनन्। त्यसमा माथिपट्टि जोशीको देहान्तको विवरण र मुनितिर हस्ताक्षर गर्न क्रम नं. लेखेर खाली ठाउँ छोडिएको रहेछ। मैले झन्डै २०/२५ शब्दजति श्रद्धाञ्जलिका शब्दहरू लेखें। म त्यतैबाट फेरि पहिले उभिएतिर आएँ र जोशीको अनुहार देखिने गरी केही बेर उभिएँ। जय छाङछाजीले ‘अब फर्कौं होला कि’ भने। हामी बाहिरियौं। उनको पुष्पपुरित प्रार्थिव अनुहारबाट सत्यम्, शिवम्, सुन्दरम् बगिरहेको थियो।  (जोशीका साथमा पंक्तिकार र अन्य साहित्यकारहरू)

प्रकाशित: १९ कार्तिक २०७९ ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App