१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

निर्मित भाष्यको विनिर्मिति: रावणायन उपन्यास

त्रेतायुगीन मिथकलाई वर्तमान समाज र राजनीतिका सन्दर्भसँग जोडेर लेखिएको खनाल रेवतीरमणको उपन्यास ‘रावणायन’ प्रकाशित भएको छ। यो उपन्यास पौराणिक एवम् मिथकीय पुनर्लेखनको पछिल्लो कदम हो। मिथकलाई मिथककै रूपमा लेख्ने जड प्रवृत्तिभन्दा माथि उठेर यसले सामयिक चेतना अभिव्यञ्जित गर्ने जमर्को गरेको छ।

मिथकको महत्त्व विगतका सामाजिक जीवनको प्रतिध्वनिका लागि मात्र नभएर समकालीन वैचारिक अभिव्यक्तिका लागि पनि धारिलो हतियार बन्न सक्छ भन्ने एउटा बलियो दृष्टान्त हो, रावणायन। इतिहास विजेताहरूको दस्ताबेज हो भने कला साहित्य सत्यको अन्वेषण हो। कलासाहित्य अतीतको स्वच्छन्द उडान मात्र होइन न कि वैयक्तिक जीवनको भाववेग। यो त विगत र आगतको संश्लेषण हो। स्थापित मिथ्या भाष्यका विरुद्ध सत्यताको सन्धान पनि हो। यसै सन्दर्भमा उपन्यासकार खनालको रावणायनले सार्थकताले प्राप्त गरेको छ।

कथासार

रावण शब्द दुष्ट, अहङ्कारी, अभिमानी र खराब स्वभावको प्राचीन ‘मेटाफोर’ हो। यसलाई सर्लक्क उल्टाएर वीर, साहसी, विद्वान्, दयावान्, चरित्रवान्, मिलनसार सर्वहारावादी नायकीय व्यक्तित्वका रूपमा यसमा रावणको चरित्र निर्माण गरिएको छ। ऋषिपुत्र भए पनि माता दैत्यकुलकी भएकीले रावणले पितृकुलमा ब्राह्मणको सम्मान पाउँदैन, हुर्कने बढ्ने क्रममा देवकुलका सन्तानहरूबाट धेरै विभेद सहनुपर्छ। यसले गर्दा उसमा बालकैदेखि विभेद र अन्याय विरुद्धको चेत बीजारोपण हुन्छ। विद्रोही स्वभावका कारणऊ पिताबाट समेत तिरष्कृत हुनुपर्छ।

शास्त्रज्ञान र तीक्ष्ण बुद्धिवान्भए पनि प्रतिरोध चेतनाकै कारण उसलाई ‘आश्रममा प्रवेश निषेध’ र ‘पिताको कुनै अंशबाट पनि वञ्चित’ गरिन्छ। यसबाट उसको जीवनमा नयाँ मोड आउँछ, ब्रह्माको कठोर तपश्या गरी वर प्राप्त गर्छ र त्यसैको शक्तिमा वेदमा आधारित समतामूलक समाज निर्माणको अभियानलाई ‘रक्ष संस्कृति’ का नाममा अघि बढाउने सङ्कल्प लिन्छ। उसले ‘वयं रक्षाम’लाई यसको मूल आधार बनाउँछ। शिवजीको समेत आशीर्वाद प्राप्त गरी सकेपछि उनले आफ्नै बल, बुद्धि र साहसका माध्यमबाट दैत्य पुर्खाको लङ्काराज्य प्राप्त गर्छ।

संयोगवश लङ्कामा उसकै विमात्री दाजु कुवेरले राज्य गरिरहेको हुन्छ। रावणले दैत्यहरूको राज्य फिर्ता गर्न अपिल गरेसँगै उसको प्रतापी वरदानका कारण कुवेरले छाडिदिन्छ, उसको पुष्पक विमान समेत रावणको हात लाग्छ। दैत्यराज्यको पुन: प्राप्तिपश्चात रावणले विभेदरहित समतामूलक ‘रक्ष संस्कृति’ निर्माणको अभियानलाई तीब्र गतिमा अघि बढाउँछन्। यसको मुख्य तारो विभेदकारी देव संस्कृति पर्दछ। देवकुलमा जन्मिएर पनि मातृकुलका कारण विभेदको पीडा सहनुपरेको रावणले समस्त देवशक्तिलाई परास्त गरी जगत्भर ‘रक्ष संस्कृति’ स्थापना गर्ने अभियानअघि बढाउँछ र ‘आफ्नो पितृ आर्यकुल परम्परा र मातृवंशको दैत्यकुल परम्पराका बीच सामञ्जस्य स्थापित गरी वेदमा आधारित नवीन संस्कृतिको स्थापना’ (पृ. ८४) गर्ने योजना बनाउँछ।

यसै सन्दर्भमा उसले स्वर्गका राजा इन्द्रलाई समेत पराजित गर्छ। यसबाट त्राहिमाम बनेका देवकुलका देवता, ऋषि एवम् आर्यजन एकजुट भएर रावणका विरुद्ध योजना बनाउँछन्। उनीहरू कौशलराज दशरथका पुत्र रामका माध्यमबाट रावणको अन्त्य गराउने योजनामा एकजुट हुन्छन्।

आर्यहरूको योजनाले भन्दा उसकै स्वपरिस्थितिका कारण रावणको अधोगति सुरु हुन्छ। लङ्काराज्य वैभवशाली बन्दै गएपछि रावणका मामा एवम् राक्षसराज सुमालीका पुत्र प्रहस्तको मनलाई लोभ जागृत हुन्छ र सिंहासन प्राप्त गर्ने अभीष्ट सिर्जना हुन्छ। यसैका कारण ऊ रावण दरबारमै बसेर रावणका विरुद्ध योजना बनाउन थाल्छ। उसैको उक्साहटमा लागेर रावणीकी बहिनी शूर्पणखा राम लक्ष्मणसँग कामातुर व्यवहार देखाउँछे र नाक काटिएर सजायको भागिदार हुन्छे।

यस घटनाले रावणको दरबारमा उथलपुथल मात्र ल्याउँदैन उसको जीवनको अधोगतिले पनि श्रीगणेश गर्दछ। रावणकी माता र बहिनीको हठका कारण ज्ञात भएर पनि रावण सीतालाई अपहरण गर्न बाध्य हुन्छ। सीता आफ्नै पुत्री भएको र उसलाई अपहरण गरी ल्याउनु आफ्नै अन्त्यको कारक हुनेछ भन्ने कुरा रावणलाई थाहा हुन्छ तर उसले आमा र बहिनी अनि मामा प्रहस्तको दबाबका कारण कुकृत्य गर्न बाध्य हुन्छ। उसको सोचाइ अनुरूप नै रामसँगको युद्धमा ऊलगायत सम्पूर्ण दैत्यराज्यको अन्त्य हुन्छ।

अन्त्यमा उपसंहारका रूपमा रावण पुत्र अरिमर्दनको जन्म भएको, उनले परसुरामको शिक्षादीक्षा एवम् भगवान् शिवको आशीर्वादबाट पुनः लङ्काराज्यमा सत्तारोहण गरेको र ‘रावणले बनाएको नीति पुनस्र्थापना गरी आवश्यक परिमार्जनसहित जनचाहनाअनुकूल लोकतन्त्रमा आधारित शासन व्यवस्था सञ्चालन गरेको’ सन्दर्भसहित उपन्यासको अन्त्य हुन्छ। यसको परिशिष्ट भागमा रावणसँग सम्बन्धित विविध खोजमूलक सामग्रीहरू पनि समावेश गरिएका छन्।

समतामूलक समाजको परिकल्पना

रावणायनले उठान गरेको मुख्य विषय भनेको विभेदरहित समाजको परिकल्पना हो। नेपाली समाजमा वर्ग, जाति, लिङ्ग, धर्म आदिका आधारमा विभेदको जरा धेरै जकडिएको छ। तिनका विरुद्धमा स्थापित सिद्धान्तहरूका आधारमा खेतीपाती गर्ने अनेक नामधारी राजनीतिक सङ्गठनहरू छन्। तिनका नाममा धेरै युद्ध भए, आन्दोलनहरू भए, आज तिनीहरूकै हातमा राज्यसत्ता हुँदा पनि विभेदको खाडल पुरिएको छैन। हजारौँले बलिदान दिए, लाखौँ प्रताडित बने तर विभेदको अन्त्य हुन सकेन। यद्यपि विभेदविरुद्ध आन्दोलन जारी छ । त्यसैको एउटा कडी रावणायन उपन्यास पनि हो। यसले उपन्यास कलासाहित्यमार्फत् विभेद विरुद्धको प्रतिरोध चेतनाको आवाज बुलन्द गरेको छ।

सनातन हिन्दू परम्पराका कारण रोपिएको विभेदको समाधान पनि यसैभित्रबाट खोज्ने प्रयास गर्नु रावणायन उपन्यासको वैशिष्ट्य हो। त्यसैले रावण भन्छ, ‘मैले परिकल्पना गरेको व्यवस्था ‘सर्वे भवन्तु सुखिनः सर्वे भवन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत्’ हो। नेपाली समाजमा विद्यमान विभेदलाई निर्मुल पार्न पाश्चात्य जगत्बाट आयातित ‘डेट एक्स्पाएर’ सिद्धान्तहरूको अन्धाधुन्धा अनुकरण गरी राजनीति गर्ने सङ्गठन र आइएनजिओहरूका लागि यस उपन्यासले गतिलो सन्देश दिएको छ-समस्या हामीसँग छ, समाधान पनि हामीसँगै छ।

नेपाली जनताले ती आयातित सिद्धान्तका नाममा विदेभका विरुद्ध सङ्घर्ष गरेको दशकौँ भइसक्दा पनि विभेदरहित समाजको स्थापना हुन सकेको छैन। तसर्थ रावण भन्छ, ‘धर्माचरण गरौं। वेदको अनुसरण गरौं। वेदले निर्दिष्ट गरेको बाटोमा हिडौं। यसो गर्न सकेको खण्डमा स्वतः सबै समस्याहरू समाधान भइजाने छन्।’ यसका लागि उसले ‘वयं रक्षाम’ को एकल सूत्रीय नारा तय गरेको छ। यसलाई ‘संसारका मजदुर एक हौं’ भन्ने सर्वहारावादीहरूको आयातित नाराका विकल्पमा तयार पारिएको मौलिक शास्त्रीय सूत्र मान्न सकिन्छ, जसको आधारमा हाम्रै समाज र संस्कृति हो। यो देशका माटोमा फुलेको र फलेको विचारले मात्र यसको सुगन्धमा परिवर्तन ल्याउन सक्छ भन्ने विचारले यस प्रकारमा मौलिक शास्त्रीय मन्त्र सिर्जना गरिएको छ।

विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमादेखि मिथकीय विषयले नेपाली उपन्यासमा प्रवेश पाएको देखिन्छ। मदनमणि दीक्षितको माधवी उत्कृष्ट मिथकीय उपन्यास हो। प्रस्तुत रावणायन पनि मिथकीय सन्दर्भ र वैचारिक धरातलका दृष्टिले माधवीसँग तुल्य रहेको छ-दुवैले वर्गविहीन समाजको परिकल्पना गरका छन्, दुवै सर्वहारा वर्गका पक्षमा कलम चलाउने स्रष्टा हुन्।

माधवी उपन्यासले दास र दासमालिक बीचको सङ्घर्षको चित्रण गरेको छ र दासहरूको मुक्तिका खातिर ‘अमोहमस्मी’ को मन्त्र निर्माण गरेको छ भने रावणायनले ‘वयं रक्षाम’ को मन्त्र अवलम्बन गरेको छ। समतामूलक समाजको परिकल्पनाका लागि माधवीमा साम्बाला गण स्थापना गरिएको छ भने यसमा लङ्काराज्यको पुनस्र्थापना गरिएको छ।

त्यस्तै मिथकीय पुनर्लेखन र खलपात्रको नायकत्वका दृष्टिले यो कृति कुमार भट्टराईको अश्वत्थामा उपन्याससँग पनि तुल्य रहेको छ। यस उपन्यासले विजेता संस्कृतिले पराजित दुर्योधनलाई खराब चरित्रका रूपमा स्थापित गरेको सन्दर्भमा यसले दुर्योधनका असल कर्महरूको उजागर र पाण्डवहरूको दुष्कर्मको भण्डाफोर गरेको छ।

रावणायनले पनि खलपात्र रावणलाई नायकका रूपमा स्थापित गराउने प्रयास गरेको छ तर यसले रामको सत्चरित्रलाई नभत्काई रावण पनि रामको समान उच्च नायकत्व प्रदान गरेको छ। अश्वत्थामाको उपदेयता मिथकको विनिर्माणमा रहेको छ भने यसको सार्थकता मिथकका माध्यमबाट समतामूलक समाजको निर्माणमा रहेको छ।

पाठकीय अनुप्रश्न

रावणजस्तो दुष्चरित्रलाई सत्चरित्रका रूपमा स्थापित गराई विभेद विरुद्धका विद्रोही नेताका रूपमा उभ्याउने रावणायनको औपन्यासिक प्रयास स्तूत्य हुँदाहुँदै पनि उपन्यासको गहन पठनपश्चात् पाठकले केही गम्भीर सवालहरू उठाउन सक्ने देखिन्छ। विदेभरहीत समाजको परिकल्पना गर्ने यस उपन्यासले नारी चरित्रलाई समाज विकासको अवरोधकका रूपमा चित्रण गरको छ भन्ने नारीवादीहरूले आक्षेप लगाउने देखिन्छ।

अर्को शूर्पणखाको कुण्ठित यौनावेगलाई नै समस्याको मूल जड स्वीकार गर्दा सर्वहारावादीहरूले वैचारिक प्रश्न गर्न सक्ने देखिन्छ। रामायणको निर्मित भाष्यलाई विमिथकीकरण गरेर पनि रामको धार्मिक अन्धताप्रति कुनै प्रश्न गर्न नसक्नुमा पनि पाठकले प्रश्न गर्न सक्ने छन्।

अन्त्यमा

रावणायन उपन्यास निर्मित भाष्यको विनिर्मिति हो। रावणको प्रतिनायक चरित्रलाई विनिर्माण गरी नायकत्व प्रदान गर्नु र विजेताहरूको मिथ्या इतिहासका व्यतिरेकमा पराजित चरित्र मार्फत वस्तुगत सत्यको सन्धान गर्नुमा यसको विशिष्टता छ। अग्रगामी छलाङका लागि हाम्रो समाज, संस्कार, संस्कृति, परम्परा र शास्त्रलाई निषेध गरी आयातित कथित ‘हाइब्रिड’ वैचारिकताको धरातलमा समाज परिवर्तनको दिवास्वप्न देख्नेहरूका लागि यस उपन्यासले नयाँ मार्गनिर्देश गरेको छ। त्यो हो-पुर्खातर्फ फर्क, शास्त्रतर्फ फर्क, पुराणतर्फ फर्क, परम्परातर्फ फर्क, तिनका छोपिएका पाटाहरू पल्टाऊ र छिपाइएका सत्यहरू खोज: क्रान्तिको बीज यसैमा छ, समतामूलक समाजको शास्त्रीय धरातल यही छ।  

प्रकाशित: १२ कार्तिक २०७९ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App