१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

लड्डुको करामत

‘पहिला हाँसौं, पछि रोऔं’ यही हो हामी नेपालीको जीवन। प्रसङ्ग-आज मैले सपना देखें सहिद रोइरहेको। सोधें-किन रोएको? मैले पाप गरें प्रजातन्त्र ल्याउन। जीवन समाप्त पारे। मेरा काम र त्याग देखेर धेरै सहिद भए। कयौं देशभक्तहरू आज घर न घाटका भए। यहाँ आज प्रजातन्त्रलाई स्वाहा पारी गणतन्त्र नाम राखे तर माफियातन्त्रको स्थापना गर्ने काम गरे। माफियाको शासन र भ्रष्टाचारीको लुट। कसले धोका दियो। हाम्रो भनाइ र आदर्शमा लागेर धेरै कार्यकर्ता हुर्किए र शासन गर्न पाए। स्वार्थी र अराष्ट्रिय तत्त्वहरूले गर्दा हाम्रा सन्तान अरबमा ऊँट चराउन विवश भए। चेलीहरू अस्मिता बेच्न बाध्य भए। जन्मभूमिलाई स्वर्ग भनिन्छ तर आफ्नो राष्ट्रमा बस्न पाएनन्। विशेषतः अमेरिका, अस्ट्रेलिया आदि राष्ट्रमा गए। उतैका नागरिक भए। आमाबुबा दंग छन् छोराले भिसा पाए, अस्ट्रेलियाको बसोबास र काम गर्ने अधिकार पाए भनेर।

सपनाको सार अहिले यति नै उल्लेख गरौं। थप अनुरोध-साहित्यमा नौ रस हुन्छन्। म कृष्णप्रसाद भण्डारीलाई पढ्न खुबै मन पर्छ। लेख्न मन पर्दैन र लेख्न पनि आउँदैन तर आफूसँग भएको केही ज्ञान, अनुभव र जनसमुदायलाई सम्पर्कमा ल्याउने र सुसूचित गर्ने मनसायले विभिन्न पत्रपत्रिकामा केही लेख प्रकाशित गर्दै आएको छु। मेरा कयौं भनाइहरू अरू विद्वानहरूले उद्धृत गरेका हुनाले अझ उत्साहित हुँदै बेला मौकामा लेख लेख्ने कार्य गरिआएको छु। फुर्सदको कमीका कारण मेरा केही सहयोगीहरूको सहयोग लिएर लेखहरू परिमार्जित गर्नेगरेको छु। केही खराब वा झुठ्ठा कुरा लेखमा नआओस् भनी सहयोगीको जिम्मा लगाउने कार्यको मुख्य उद्देश्य नव लेखक तयार पार्नु पनि हो।

 मेहनत गर्नेको नाम नहुँदा निरुत्साहित पनि हुन सक्ने हुँदा सहयोगीको नाम पनि प्रत्येक लेखमा उल्लेख गर्ने चलन अपनाएको छु। छलफलबाट तयार हुने लेख सकेसम्म गलत पनि नहुने हुँदा म कृष्णप्रसाद भण्डारीले नौ रसको ज्ञान नभएकै कारण मेरो लेखलाई उटपट्याङ रसको दसौं रस भनी प्रस्तुत गरेको छु। लेखमा सुधार गर्न तपाईंहरूको अमूल्य भनाइ आएमा म तयार छु, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी।

धन्य हाम्रा म्यानपावर कम्पनी, जसले हाम्रा सन्तानलाई विदेश पठाई रेमिट्यान्स भित्र्याए। पहिले पनि हामी बम्बई र कलकत्तामा नारी बेची धन आर्जन गर्थ्यौं। कोठी चलाई धन आर्जन गर्ने कयौं भए। यो कार्य अनुचित ठहरिएपछि जिउ मास्ने बेच्नेको ऐन बन्यो। आज हाम्रा म्यानपावर कम्पनीले रोजगारी लगाइदिने नाममा हाम्रा सन्तानलाई विदेश पठाई दास बनाउँछन्। तर आज विदेशमा दास जीवनबाट सिप सिकी केही गरेका छन्। अरबौं-खराबौं रूपैयाँ रेमिट्यान्सका कारण बैंक मालामाल छन्। बम्बईको रेड लाइटमा अस्मिता बेच्ने हाम्रा चेलीहरू फरक छन्। रेमिट्यान्स पठाई कर्मचारी र नेतालाई पालनपोषण गरी सुख र शक्तिमा पुर्‍याएका छन्।

कर्मचारी भन्छन्-हाजिर गरेबापत तलब पाउँछौ, काम गरे बापत घुस लिन्छौं। ३०-४० वर्ष काम गरेबापत पेन्सन पाउँछौं। सुखसयल यही नै हो। उता नेताहरू भन्छन्-हामीले क्रान्ति गर्‍यौं। जनताहरूलाई दारूपानी खुवाई मत पायौं। जनतालाई मिठा मिठा कुरा गरी रमाएका छौं। शासनसत्ता हात पारौं। हामी पनि नेपाली नै हौं। हामीले सुखसयल गर्‍यौं भने हामीले के पाप गर्‍यौं। मूर्ख ती हुन् जो सहिद भए। सच्चा देशभक्त भएकाले दुःख पाए। कर्म भनेको आफ्नै हो।

अब आऊँ जिउँदो सहिद बिएल शर्मातर्फ। उनको वास्तविक नाम विश्वम्भरलाल शर्मा हो। जंगबहादुरले बृटिस साम्राज्यसँग मितेरी गाँसे। सो मितेरीका आधारमा कलकत्ता र बेलायतको आवतजावत बढ्न गयो। काठमाडौंमा न मिठाईको पसल थियो न चियाको। राणाहरूले मिठाईको स्वाद कलकत्तामा पाएका हुनाले काठमाडौंमा पनि मिठाई उपलब्ध गराउने उद्देश्यले मारवारी ब्राह्मण कुलका बिएल शर्माको नामले प्रसिद्ध विश्वम्भरलाल शर्माका बुबा हासिराज शर्माले इन्द्रचोकमा महाराजजीको नामले प्रसिद्ध अमृत भण्डार नामक मिठाई पसल खोले।

काठमाडौंबासीहरूले मिठाईको स्वाद पाउन थाले। पछि राम भण्डार थापाथलीमा नेपालीले अर्काे मिठाई पसल खोल्यो भने अर्कोतिर डिल्लीबजार कालिकास्थान चोकमा पनि मिठाई पसल खुल्यो। नेपाली पसलमा जेरी भनिने जिलेबी र मैदाद्वारा निर्मित रोटीले पनि खुबै प्रसिद्धि पाए।

प्रसङ्गमा जाऔं, १९९३ सालदेखि १९९७ सालसम्म समय हो। राजनीतिक पार्टी प्रजापरिषद्को जन्म भयो। परशुरामभक्त माथेमा परिवारको नारायणहिटी दरबारमा राम्रो पहुँच थियो। उक्त परिवार श्री ५ त्रिभुवन वीर बिक्रम शाहसँग सम्बन्ध कायम गर्ने परिवार थियो। बिएल शर्माको मिठाई दरबारमा जान्थ्यो। दरबारमा बिएल शर्माको आवतजावतमा रोक थिएन। भारतको स्वतन्त्र आन्दोलनको प्रभावस्वरूप युवा बिएल शर्मासँग परशुराम माथेमाको भेटघाटमा कुरा मिल्यो। लड्डुभित्र श्री ५ को पत्र। लड्डुभित्र पत्र, उक्त लड्डुमा खास चिह्न थियो। चिह्न भएका लड्डु केही संख्यामा श्री ५ समक्ष पुग्थे। श्री ५ को पत्र हिजोको लड्डुभित्र राखिन्थ्यो। लड्डुलगायत मिठाई दरबारमा लगिन्थ्यो। केही राखिन्थ्यो, केही फिर्ता जान्थे, यही क्रम जारी थियो। यसप्रकार लड्डुका माध्यमबाट दशरथ चन्दसँग कुराकानी हुन थाल्यो।

त्यसैगरी हवाइजहाजको सुरुवात बिएल शर्माबाटै भयो। यसको गौरव पनि निज शर्मालाई नै जान्छ। राष्ट्रभक्तहरूको हातमा श्री ५ को राय प्राप्त हुन्थ्यो। बाहिरका गतिविधि लड्डुभित्र पत्र राखी पठाउने प्रक्रिया चालु थियो। लड्डुभित्र पत्र आदानप्रदान गर्ने माध्यममा शंकाको गुन्जायस थिएन। यो कुरा २००७ सालमा श्री ५ को उदयपछि कयौंले श्री ५ बाट र पछि बिएल शर्माबाट थाहा पाए। ऊबेला लड्डुभित्रको करामत थाहा पाएको भए राणाले बिएल शर्मालाई पाँचौं सहिद बनाइदिन्थे। नेपालमा पहिले सिमरा काठमाडौं हवाइजहाज उडाउने व्यक्ति पनि उनै बिएल शर्मा भए। पछि पनि उनै मिठाईवालाले राष्ट्रिय पञ्चायतदेखि गणतन्त्रसम्म सबैलाई खाना खुवाउने समेतको सौभाग्य प्राप्त गरे। उनी अति मेहनती थिए। बुढेसकालसम्म पनि काम गर्दै गए। दुईवटा पार्टी प्यालेस पनि खोले। आज जिउँदो सहिद बाँच्न सफल भए पनि काम गरी जनसमक्ष खुला दिल राखे।

प्रजापरिषद्का सहिदहरूले हामीलाई प्रजातन्त्र पाउने आश दिए तर आज प्रजापरिषद्का सहिद र बिएल शर्माका सन्तान मात्र होइन, राष्ट्र सेवक क्रान्तिकारी नेपालीहरू सबैजसोलाई लाखापाखा पुर्‍याइयो। माफियातन्त्र अनि भ्रष्टाचारतन्त्रको शासन छ। रोएर के पाउने? हे पापीहरू! हाम्रा सन्तानले पठाएको रेमिट्यान्स खाई मोज गर्छौ। हामी तैयारीमा छौं, देशद्रोहीहरूलाई समाप्त पार्ने दिन आउने छ। हिम्मत गरौं, हार नखाऔं। हे नेपाली सपुत ! जाग। यही निवेदन छ।

भनिन्छ, सहिद धर्मभक्त माथेमा पहलवान थिए। श्री ५ त्रिभुवनलाई कुस्ती सिकाउन दरबार जान्थे। उनीहरूका बीचमा कुराकानी हुन्थ्यो। दोस्रो सहिद दशरथ चन्दको भेट बिएल शर्मासँग भयो। मारवाडीका सन्तान भारतबाट आएका थिए। प्रजातात्रिक आन्दोलनको ज्ञान थियो। सहयोग र आन्दोलन गर्न गएका चार सहिद भए। पाँचौं मारवाडी जात, ग्राहक रिझाउन सिपालु थिए। राणाका दरबारमा पनि मिठाई पुर्‍याउँथे। शङ्का गर्न सकेनन्। मिठाईको स्वादमा पहिचान गर्न ज्ञान भएन। इतिहास बनाउन लड्डु सहयोगी भए तर मानिस वा लड्डुको महिमा गाउने कोही पनि भएनन्।

अब हाम्रो अनुरोध छ, उठौं। कार्य गरी राष्ट्रोत्थानमा लागौं। इतिहासको गल्तीलाई मनन गर्दै अब सुन्दर एवम् सुखी संसार बनाउने विद्याको मूल फुटाऔं। देशभक्तहरूलाई सम्झौं र माया गरौं। देशद्रोहीहरूलाई कान समाती उठबस गराऔं। यही बिन्ती छ हाम्रो। उखान छ-‘ब्याड क्वाइन ड्राइभ द गुड क्वाइन अर्थात् खराब सिक्का बजारमा जान्छ। नयाँ राम्रा सिक्का बाकसमा थकिन्छन्, यही उपमा स्वरूप देशद्रोहीहरूले देशभक्तहरूलाई लाखापाखा लगाइराखे। अब हामीमा जागृत भावना ल्याई देश रक्षार्थ काम गरौं। इतिहासका पाना हेर्‍यौं अनि ओझेलमा पारिएका देशभक्तहरूलाई सम्मान गरौं। यही कामना छ।

आज टंकप्रसाद आचार्य र रामहरि शर्मा त हराए हराए। यता पुष्पलाल जसले कहिल्यै पनि सुख पाएनन्। केशरजंग रायमाझीले आफ्नो धन उडाए तर कहिल्यै सुख पाएनन्। अर्का धनाढ्यका सन्तान विष्णुबहादुर मानन्धरले काम र त्याग गर्दा अनि साम्यवादी विचारधारामा लाग्दा आफ्नो सम्पन्नतालाई कहिल्यै पनि ख्याल गरेनन्। मातृकाप्रसाद कोइराला, सुवर्ण शमशेर, तुलसीलाल अमात्य, खजाञ्ची साह र कमर शाह आदि धेरै यस्ता छन्।

हामी कुवेर शर्मालाई बिर्सिन सक्दैनौं। माफ पाऊँ, रिसाउनेहरूबाट क्षमा पाऊँ। अतीतलाई बिर्स। अरबको तातो घाम सम्झी पाप मोचन गरौं। यही अनुरोध छ। मेरा यी धेरै देशभक्तहरूप्रति श्रद्धासुमन चढाउँदै अरूलाई पनि सोही अनुसार गर्न हार्दिक अनुरोध छ। अतीतलाई सम्झी भोलिको सुमार्ग समातौं। ईश्वरले नेपाललाई जल, जंगल र जमिन दिएका छन्। समयमा बुद्धि पुर्‍याऔं। विकासको लहर फैलाऔं। सम्मान गरौं र गर्न सिकौं। हामी सबैको भलो हुने छ। सम्मान गरौं बिएल शर्माप्रति। 

प्रकाशित: ५ कार्तिक २०७९ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App