लता केसी
१) सुझबुझ
‘म यस्तो र उस्तो’ भनेर समाजमा आफूलाई चिनाउने मीनाको बानी थियो। जुन उनकै मिल्ने साथी रीतालाई पनि मन पर्दैनथ्यो।
उनीहरूको परिचय एउटा चित्रकला प्रदर्शनीमा भएको थियो। रुचि मिलेकाले उनीहरू नजिकिएका थिए। कैयन् पटक चित्रकला प्रदर्शनमा मीनाले पुरस्कार र सम्मान जितेकी थिइन्। रीतालाई भने प्रतियोगितामा भाग लिन मन लाग्दैनथ्यो।
उनी भन्थिन्,‘तिमी पनि किन प्रतियोगिता?’
एकपटक मीनाले उनलाई पनि राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन जिद्धी गरिन्। उनको मनसाय के थियो कुन्नि तर साथीको मन राख्न भनेर सहभागी भइन्। प्रतियोगिता सुरु भयो। रीताले निकै उत्साह र लगन देखाइन्। नभन्दै नतीजामा रीता नै उत्कृष्ट भइन्।
‘नपत्याउने खोलाले पनि बगाउँदो रैछ’ भन्दै मीनाले खुबै जिस्काइन्। भित्रभित्रै उनीसँग जल्न थालिन्।
मौका पाउनासाथ समाजमा उनलाई तुच्छ देखाउन कोसिस गरिरहिन्।
यो अवस्थामा रीताले सोचिन्, ‘सबै कुरा शब्दमा भन्न सकिन्न तर व्यवहार र हाउभाउले कसैको पनि मन पढन सकिन्छ।’
२) विचित्र
देशैभरि चुनावको चहलपहल बढदो थियो। कालु सोच्न थाल्यो,‘आखिर जसलाई जिताए पनि हाम्रा गाउँ जस्ताको तस्तै छ। बरु शहर जानुपर्यो। एक पन्थ दुई काज भने जस्तै शहरको चुनावी रमझम पनि देखिने र यता कसलाई मत दिऊँ त भनेर टाउको पनि दुखाउन नपर्ने।’
भोलिपल्टै उसले सोचलाई यात्रामा बदल्यो। राजधानी भित्रिन पाएको थिएन, ऊ त दंगदास पर्यो। टोलटोल घुम्दै हिंड्दा कतै कुकरहरूको जुलुस थियो। नेताको मुख अघिल्तिर र्याल चुहाउँदै पुच्छर हल्लाएको देख्यो भने अर्कोतिर बाँदरहरू फुत्त-फुत्त उफ्रेर चकचक गरिरहेका थिए। भेडाहरू लाटाले पापा हेरेझैं ट्वाँ परेर हेरिरहेका थिए।
रमिता हेर्दै हिंडेको ऊ अब व्यस्त शहरमा पुग्यो।
‘आमामा कत्रो हूल यी नानीहरूको? चिच्याईचिच्याई के भन्दा रान्?’ सुन्नुपर्यो भनेर जुलुस नजिक पुग्दा ‘बलात्कारीलाई कारवाही होस्। निर्दोषले न्याय पाओस्।’ भनेको सुन्यो।
वास्ता नगरी ऊ त्यो भीड छाडेर अघि बढ्यो। युवाहरू जति प्रहरीको पछि लागेर पसल, ठेलागाडी जे पायो त्यही फोडदै गरेको हेर्दै थियो। उसैबेला गाउँबाट बुढीले फोन गरेर सोधिन्, ‘शहराँ पुग्नुभयो त? काम भयो? कहिले फर्किने?’
उसले झर्केर भन्यो, ‘नकरा, यहाँ शहरमा कस्तो काइदाको गणतन्त्र आ’को रैछ। जात्रा त हेरें। अब व्यापार पनि हेरेर मात्र फर्किन्छु नि!’
३) असर
कार्यालयमा काम धेरै भएकाले साँझ उनलाई घर पुग्न ढिलो भयो। उनी निकै थाकेकी थिइन्। कोठामा पस्नासाथ उनी ओछ्यानमा पल्टिइन्।
ऊ झम्टिन थाल्यो,‘दिनभरि नाठोसँग घुमेर अघाएकै होली नि! हाम्रो भोकको के चिन्ता?’
उनले श्रीमानसँग झिंझिदै भनिन्, ‘कत्ति शंका मात्र गर्न सक्छौ हौ?’
ऊ पुरुषार्थ देखाउँदै निहुँ खोज्न थाल्यो।
‘रछ्यान चलायो मुखमा छिटा’ भन्ने सोचेर उनी मौन भइन्। उठेर खाना पकाउन थालिन्। यसरी दिनहुँ कटाक्ष सुनेको धेरै भयो। न त एक्लै बस्न सकिन न त उसलाई सम्झाउन सकिन। चिन्तै चिन्ताले उनी बिरामी परिन्। ओखती गर्दागर्दा ऊ पनि हैरान भएको थियो।
एक दिन बिहानै बाहिर कोही करायो, ‘हजुर, दुई दिनदेखि भोकै छु। दया गर्नुस्,हजुर!’
उसले हत्त न पत्त त्यो माग्नेलाई घरभित्र बोलाएर खान दियो। पैसा पनि दिएर बिदा गर्यो। उनी छक्क परिन्। उनले जिस्काएको भावमा भनिन्,‘आज पश्चिमबाट किन सूर्य उदायो?’
ऊ मुसुमुसु हाँस्यो तर जवाफ फर्काएन। उनले सतर्क गराउँदै भनिन्, ‘यस्ता माग्नेहरू चोर- ठगार पनि हुन्छन् नि! अलि होस गर्नुपर्छ है!’
उसले भन्यो, ‘मानिसले शंका, लोभ जस्ता तुच्छ कुरा सोच्नु हुन्न। त्यसले आफूभित्र नकारात्मक भाव पैदा गर्नेछ।
४) अबुझ
‘पिलिट र गिलास होइन नि यार! प्लेट र ग्लास भन्न। अंग्रेजी सिक् अनि मात्र बोल्नु क्या!’ उसले साथीलाई बुझाउने प्रयत्न गर्यो तर साथीले सिक्नुभन्दा तर्कले जित्न खोज्यो।
उनीहरू रेस्टुरेन्टमा थिए। विवादलाई थाती राखेर खाजा मगाए। खान लाग्दा उसको चम्चा र प्लेट बारम्बार ठोक्किरहेको थियो। खान बसेका अरू सबै मानिसको आवाजप्रति नजर पर्यो।
अब त अति नै भयो भनेर उसले मुख खोल्यो, ‘तँ जस्तो जिद्धी मानिस त संसारमा कोही छैन होला। नजानेको कुरा त सिक्नुपर्छ नि! सधैं मेरो गोरुको बाह्रै टक्का!’
साथी रिसाउँदै करायो, ‘आफूलाई बडो बुज्रुक ठान्छौ है?’
भनाभन भयो। दुई साथीलाई शान्त गर्न तेस्रो पक्ष जुट्यो। खै के सोच्यो कुन्नि? अचानक साथीले भन्यो, ‘मैले तिम्रो कुरा एस्पेक्ट गरें। मलाई माफ गरिदेऊ।’
सबै गलल्ल हाँसे। एकजनाले सिकाउँदै भन्यो,‘एसेप्ट भन्नु न यार!’
उसले साथीको अनुहार पढ्यो र सम्झाउँदै भन्यो, ‘तँ शुद्ध बोल्लास् कि भनेर सबैले प्रयास मात्र गरेको हो।’
ऊ अझ बिन्दास पारामा तर्क गर्दै थियो, ‘भाषा भनेको भावना अभिव्यक्त गर्ने माध्यम होइन र? बुझ्नेले कुरा बुझेपछि यो पुराण किन?’
५) मनस्थिति
हामी सबै कर्मचारी कम्पनीलाई घर ठान्थ्यौं। दिलोज्यानले काम गर्थ्यौं। प्रगति देखेर कम्पनीका मेनेजर निकै खुसी थिए। उनी जहाँ पनि हाम्रो प्रशंसा गर्थे।
एकपटक कम्पनीमा नयाँ कर्मचारी आए। उनी हामी सबैभन्दा भिन्न सोचका थिए। उनी संस्थाभन्दा व्यक्तिलाई महत्त्व दिन्थे। अब मतमतान्तरमा अलमलिंदा हामीलाई काम गर्न असहज भयो। यसै बीच हाम्रा मेनेजरलाई विदेशबाट अवसर आयो। उनी गए। त्यो रिक्त स्थान नयाँ आएको मान्छेले लियो।
अब हामी अलमलिन पुग्यौं, व्यक्ति कि कुर्सीलाई मेनेजर मानौं?
प्रकाशित: ४ कार्तिक २०७९ ०८:२० शुक्रबार