हरिप्रसाद गौतम
गिरिसले सामाजिक शिक्षकलाई खिसी गर्दै धनेसँग सुटुक्क भन्यो, ‘ओई धने, त्यहाँ हेर् त महेश सरको लुगा! आज चार दिन भइसक्यो त्यो टिसर्ट लगाएको! कस्तो अप्ठेरो नलागेको होला है?’
महेश सर आफ्नै धुनमा पढाउँदै थिए। उनले गिरिस र धनेको यो कुरा सुनेनन्। उनी आजको पाठ सकेर गृहकार्य दिने कुराको समेत छलफल गर्न चाहन्थे।
यत्तिकैमा धनेले गिरिसको कुराको जवाफ फर्काउँदै बिस्तारै भन्यो, ‘के भो त! लुगा सफा नै छ। राम्रोसँग बुझ्ने गरी पढाउनुहुन्छ। बोली-वचन र व्यवहार पनि राम्रो छ। योबाहेक अरू के चाहियो र! आखिर सरले दिनदिनै फरक लुगा फेरेर लाए पनि के नै हुने हो र!’
कक्षामा पढाइबाहेक कहिलेकाहीं केटाकेटीका बिचमा सर-म्यामहरूबारे यस्तै कुराकानी हुने गर्थे। यस्ता कुराकानी हुँदा गिरिसले धेरैजसो महेश सरले एउटै खालका साधारण लुगा लाउनुको कारण उहाँको गरिबी हो भनेर निकै होच्याउन खोज्थ्यो। तर धेरैलाई यो कुरा मन पर्दैनथ्यो। उनीहरू भने सधैं सरकै पक्षबाट बोल्थे।
स्कुलको पढाइ सकियो। परीक्षाको नतीजापछि कक्षाको त्यो टिम विभिन्न कलेजमा बाँडियो। कोही कता गए, कोही कता तर धने र गिरिसले महँगै भए पनि एउटै कलेजमा पढ्ने निधो गरे। केही वर्षहरू यसरी नै बिते।
बिस्तारै केटाकेटीले आफ्नै टिमलाई पनि बिर्सन थालिसकेका थिए। यस्तैमा एकदिन अचानक आफ्नो बिरामी साथीलाई भेटेर लिफ्टबाट ओर्लँदै गर्दा धने र महेश सरको भेट भयो।
गिरिसका बाबु ठूलो दुर्घटनामा परेर त्यही अस्पतालमा भर्ना भएको कुरा धनेले सरलाई सुनायो। सर वार्डमा पुगे। गिरिसको भएभरको सम्पत्ति बुबाको उपचारमा सिद्धिएको र बाँकी उपचार हुन नसकेको कुरा बुझे। अहिले उसलाई साथसहयोग गर्ने कोही नभएको कुरा पनि थाहा पाए।
वार्डबाटै उनले आफ्नो पूर्व विद्यार्थी डा. मुकेशलाई बोलाए। सर र ती डाक्टर मिलेर बिरामीको सबै उपचार गर्न कुनै शुल्क नलाग्ने व्यवस्था मिलाइदिए। साथै चेकमार्फत उनले गिरिसलाई त्यहाँ आवश्यक पर्ने रकमको व्यवस्था गरिदिए। म भोलि भेट्न आउँछु भन्दै सर त्यहाँबाट निस्के।
गिरिस भुईमा थचक्क बस्यो। आफू जस्तै पूर्व विद्यार्थी मुकेश र आफूलाई दाँज्यो अनि आज पनि उस्तै पुरानो टिसर्ट लगाएका महान् व्यक्ति ‘महेश सर’ को यस्तो कोमल हृदय र आफूले उनलाई गरेको दुर्व्यवहार सम्झी डाँको छोडेर रोयो। वार्डका बिरामी र तिनका कुरुवा हरेको हेर्यै भए। वार्डमा सन्नाटा छायो।
प्रकाशित: २८ आश्विन २०७९ ०७:५४ शुक्रबार