डा. विदुर चालिसे
१) वर्षा
कालसिंहको घरमा भोकमरि परेको थियो। धनसिंहको घरमा रोगव्याधले उत्पात थियो। गाउँका मान्छेहरू तिनको समस्या देखेर पनि केही गर्न सक्दैन थिए। कालसिंहले गाउँमा सुन्यो।
–‘सुनको वर्षा हुने रे!’
सुनको वर्षा हुने कुराले गाउँ निकै रमाइलो भयो। गाउँलेहरूले पनि आशाको दियो बालेर मनमनै सम्झन थाले।
–‘सुनको वर्षा भएपछि सके सुनै बेचेर काम चलाउँला, नसके सुनै पकाएर सुनको सुरुवा पिउँला!’
सुनको वर्षा लिएर आकाशमा एक हुल बादलहरू आए। त्यसै गडयाङगुडुङ गरे। एकछिनमा बिलाए। केही क्षणपछि अर्काे फुलेको बादल आयो। सुनको वर्षा होला होला जस्तो भएको थियो। आकाशमा कहिले सिंह, कहिले राक्षस, कहिले राजा, कहिले घोडा र कहिले बाँदरको रूप देखिन थाल्यो। गाउँलेले सुनका लागि पोल्टा थापेर बसिरहे। आकाशमा आएको हावा-हुरीले बादल सबै मेटिएर गयो। गाउँमा फेरि अन्योल थपिन थाल्यो। साँझपख सुस्त सुसेलीमा लहरिंदै एक मुस्लो आकाशमाथि देखियो। आकाशबाट एकाएक गाउँ झरेर भन्न थाल्यो।
-‘प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू! तपाईहरूको चाहना बमोजिम भोक प्यास मेटाउन आएको छु।’
गाउँका भोका,नांगा, निर्धन, गरिब र सोझाहरू मुस्लाको पछिपछि लागे। गाउँका महिलाहरूले सुनको वर्षा गराइदिन केही अनुरोध गरे। मुस्लो चुपचाप लाग्यो। विधवाको अनुहारतिर हेरेर भन्यो।
-‘विधवालाई सुन त के काम!’
-‘गरीब, दुखी र बेरोजगारहरूलाई दिनु न त हजुर!’
-‘पखपख तर एक सर्त छ!’
पछिपछि लागेका गाउँलेहरू आफ्नो जीवनमा दयामाया र प्रेम गर्ने देखेर सर्त मान्न तयार भएर भने।
–‘हुन्छ, हस!’
मुस्लोले आकाशमाथिबाट बोराका बोरा सुन बर्साउन थाल्यो। जतिजति बोराबाट सुन बर्सिंदै जान्थ्यो त्यति नै ती सुनहरू आकाशको बिचमै लालधनको रूपमा सिन्दुर पोतेर भुईंमाथि खस्न लागे। गाउँलेहरूले जब भुईंको लालधन टिपेर गुजारा चलाउन थाले। उनीहरूको पेट ढुस्स पर्न थाल्यो। उनीहरूले डाक्टरलाई गाउँलेहरूले सोधे,
–‘हजुर लाल धन खाएको कसरी यस्तो भो।’
–यो लाल धन होइन, तपाईंहरू भ्रममा हुनुभयो। यो कालो धन हो।’
–‘कालो धन त व्यापारीसँग मात्रै हुन्छ हैन, डाक्टर साब?’
चिकित्सा क्षेत्रका डाक्टर साब अलमललमा परे। उनलाई के भनौ के भनौं भयो। प्वाक्क भनिदिए।
–‘चुनावमा सबैको धन सेतो हुन्छ!’
घर फर्केका गाउँलेहरूले आफूआफूमा गन्थन गर्दै आपसमा छलफल गर्न लागे।
–‘चुनाव नहुँदा सधैं कालो हुने धन, कसरी चुनावमा सेतो हुन्छ र बाँडिन्छ?’
आकाशबाट अर्काे वाणी छुट्यो।
-‘यो वर्षातको बेला जे पनि हुन्छ!’
गाउँलेहरू वर्षातको बेलापछि लाखापाखा लागे। डाँडामाथि पुगेर चिच्याउन थाले,‘यसपालि पनि ठगियौं!’
२) प्रतिज्ञा
-‘म जसरी पनि हुन्छु!’
-‘के हुन्छु?’
‘मन्त्री!’
जिउँदो मान्छेको साथमा नारा लागेको थियो। सबैको साथमा झण्डा हल्लिरहेको थियो। भोकानांगाहरूले झण्डा हल्लाएर सलामी दिइरहेकाहरूमध्ये कसैलाई सोध्यो।
-‘यो कस्को मलामी हो?’
सलामीको झण्डा हल्लाइरहेको ङिच्चे अलमल्ल पर्यो। जुलुस मा अर्काे पिन्चेले सुँक्कसुँक्क गर्दै फेरि नारा लगायो।
-‘हाम्रो एकता अमर रहोस!’
एकताको नारा लगाउने पिन्चेको छेउ पुगेर भोकानांगाहरूले खुसुक्क सोधे।
-‘भन्नू न यो कस्को मलामी हो?’
-‘धेरै नकराऊ। जाऊ उता!’
-‘पहेलो पिताम्बर, रातो अबिर र सयपत्रीको माला लगाएको छ। चिन्नै मुस्किल। दाइ भन्नू न के कसको मलामी हो!’
सायद पिन्चेलाई पनि जुलुसमा झण्डा हल्लाउनुपर्ने बाध्यता थियो होला। उसले मनको विकार एकैचोटि ओकलेर भन्यो।
-‘कसैलाई नभन्नु है त!’
-‘धरोधर्म भन्दिनँ दाइ।’
भोका-नांगाहरूले कसम खाए। पिन्चेलाई आश्वस्त तुल्याए। पिन्चेको मुखबाट एक्कासि मनको जलन गुन्जियो।
-‘जिउँदो लासको!’
-‘अरे, जिउँदो पनि लास हुन्छ र!
-‘मरेको पनि लास नै हुन्छ! लास भनेकै लास हो, मरोस् कि बाँचोस्! लासको यसै गरी सलामी हुन्छ।’
-‘ए, यो मलामी होइन सलामी पो रहेछ, है?’
-‘ज्यो!’
मलाम र सलामको बीचमा भ्रम देखेका भोकानांगा, गरिब, किसान, मजदूर, अपांग, दुखी र वेदित मनुष्यहरूले जम्मा हुँदै व्याण्ड बाजा बजेको हेरिरहे। तिनले जिउँदो लासको सलामी हुन्छ भन्ने कुरा पत्याएनन्। तिनले पुनः कपाल कन्याए। मुन्टो फट्कारे। आँखा तन्काए। खुट्टा बजारेर भने।
-‘बुझेनौं हामीले त!’
-‘नबुझे मलामी, बुझे सलामी!’
हावामा पत्ता उडेझैं उडेका झण्डा कसैको हातबाट फ्यात्त भुईंतिर खस्यो। एकजना पण्डितले साइत खोल्दै भने।
-‘उम्मेदवारी दर्ता सम्पन्न भो!’
तालीको सलामीमा शहीदहरू पुन जिउँदै हिंडे। तिनको पछाडि थुप्रै लास सुतिरहेका थिए। लासहरू मलामी खोजिरहेका थिए। तिनीहरू पीडाले नेपथ्यमा कराउँदै रहे।
–‘मन्त्रीको बाचा!’
३) परित्याग
-‘योगदानको कदर भएन!’
पार्टीप्यालेस धेरै व्यस्त थियो, सभाहल खचाखच थियो, पत्रपत्रिकाका पन्नाहरू रङले तातेको थियो। सहयोगी, समर्थक र शुभेच्छुकहरू चिच्याहटले पसीना काढिरहेका थिए।
-यसपालि पनि योगदानको कदर भएन!’
जीवनभर आदर्शको घोडा बनेको शिवदास वैरागीको खुट्टामा आजकल उत्साह थिएन र बल समेत थिएन। उसले नेतृत्वले भनेको सधैं मान्यो। झण्डा बोकिरह्यो। ऊ जत्तिको इमानदार कार्यकर्ता न अरू कुनै पार्टीमा थिए न नेताको आज्ञापालक अरू कोही थिए। भरोसाको भ्रममा जीवन पर्खिरह्यो। एकदिन घरकी स्वामिनीले तिहुन खल्लो भएको निहुँमा अड्को थाप्दै भनिन्।
–‘लौ मलाई कि गाउँ देऊ कि सोधेको उत्तर देऊ!’
शिवदासलाई त्यसै पनि जीवनदेखि वैराग चलेको थियो। उस्ले अलिनो तिहुनको झोकमा उल्टै स्वामिनीतिर फर्केर कराउन लाग्यो।
–‘पैसा न सैसा टिकिट्याँसट्याँस! केको उत्तर दिने? गाउँ भए पो गाउँ दिने!’
उसले स्वामिनीसँग हरपल आदर्शका लागि ढाँटेको क्षण सम्झना हुँदै गयो। टाउकोमा हात राखेर सुइय्य गर्यो। ओठमा परेको चाउरीमा जिब्रोले थुक लगाएर भिजायो। मधुरो स्वरमा सम्झाउन थाल्यो।
–‘पख न! यसपालि त इमान्दार र आदर्शवादीलाई चुनावको टिकट पक्का गरेको छ नेतृत्वले। धन्दा नमान। चुनाव जितेपछि त अहिलेको अलिनो नुनको सट्टा पनि तृष्णा मेटूँला!’
स्वामिनीले शिवदासको मुखतिर हेरेर ओठ लेप्रयाई। पार्टीमा शिवदाशले ओहरदोहर गरिरहेका नेतृत्वको मुखमा हेरिरह्यो। मनमनमा नै पाक्दै रसिलो आँखा पारेर ट्वाल्ल हेरिरह्यो। एकजना नेताले उसलाई सोधे।
–‘के छ हालखबर?’
उसले नेताको घुँडासम्म झुकेर हात जोड्दै जदौ गर्यो। विगतमा सँगै भूमिगत भएको साथीलाई विन्ती बिसायो।
-‘बुढो भएँ! यसपालि त मेरो योगदानको कदर होस् हजुर!’
पार्टी कार्यालयको ढोकाछेउमा उभिएका शिवदास आशाको त्यान्द्रो लिएर घर फर्के। उनलाई अरूले त्यहाँ खासै चिनेन्। उनीसँगै कदरको भाउ मोलिरहेकाहरू वरपर घुमिरहेका थिए। एक हुल घरानियाँहरू मुसुमुसु हाँस्दै बाहिर निस्केर भने।
–‘तपस्याको फल!’
–‘तपस्याको फल धन्दा!’
अर्काे कुनामा धेरै मानिस कराउँदै थिए। झन् अर्काे कुनामा रूवाबासी गरिरहेका थिए। यत्तिकैमा कोही कता त कोही कता लाखापाखा लागे। उनीहरू सबैले आत्मसात् गरे।
–‘गण गणको तान्त्रिक कदर!’
शिवदास फेरि अर्काे चुनावको प्रतीक्षा सूचीमा चढेको सूचना स्वामिनीले मागेको गाउँतिर हल्ला चल्यो।
–‘कदर त हुन्छ रे!’
–‘हो रे-हो रे, आश्वासन र बदर!’
शिवदासले आज एकतमासा बीच आफ्नो जीवनको अन्तिम आदर्शको महान् घोषणा गरे।
–‘सेवाको निःस्वार्थ परित्याग!’
४) नजरबन्द
–‘सपनाको दुहाई!’
उसको विचारमा ब्रेक लाग्यो। विचार साँघुरिंदै गयो। फुकाउन खोज्यो। उसका विचारहरू थोत्रे कागज च्यातिएझैं च्यातिन थाल्यो। खुम्चिएको उसको चैतन्यले बर्बरायो।
–‘आज लघुताभास छ!’
नजिकै ‘आज रमिता छ’ उपन्यास थियो। रमिताको अर्थ हो-रमाउनु। ऊ रमाउन थाल्यो। रमाउँदारमाउँदै उसको मगजमा एक विचार आयो।
-‘उत्खनन!’
सोच, विचार, बुद्धि, विवेक, ज्ञान, आदर्श, प्रतिभा, अभ्यास र इच्छा सबै उसको अगाडि उत्खननको विषय थियो। जब हरेक सन्दर्भमा लघुताको उत्खनन हुन थाल्यो तब मान्छेहरूले एक नयाँ आविष्कार दिए।
-‘केन्द्रविन्दु!’
गाउँमा लघुताभासले धेरै युवा रोजगारी, अध्ययन, अवसर र आदर्शमा वञ्चित थिए। उनीहरूलाई केन्द्रविन्दु बनाएर एक केन्द्रको स्थापना गरियो। गाउँलेहरूमा जमेको लघुता एकदिन सडकमा आएर पोखियो। उनीहरूले माग नारा दिन थाले।
–‘शहीदको सपना साकार पार!’
–‘तँ पनि शहीद हो र?’
सँगै हिंडेको अर्काे लघुताभासीमा उसको मनमा पाकेको थुप्रै औडाहा प्रश्न थियो। हिच्किचायो। दुई पाइला अगाडि सरेर भन्यो।
-‘लघु मास्टरलाई न्याय दे!’
सोच, विचार, आदर्श, विवेक र बुद्धि सबै बदलिएर लघुतामा गएर टुंगियो।
-‘मास्टरलाई हैन, हामीलाई न्याय दे!’
भीडको नारा सुनेर सडकपेटीमा कान थापेर बसिरहेको एक सुलसुलेले अर्काे सुलसुलेलाई आँखा सन्काएर भन्यो।
-‘न्याय दिने त नजरबन्दमा छ।’
वरिपरि रहेका विद्वानजन, नागरिक समाज, वकिल, प्रोफेसर, इञ्जिनियर र चिकित्सकहरू गलल्ल हाँसेर चिच्याउन थाले।
-‘लघुकाण्ड!’
युटुवभरि लघु शब्दको यति प्रयोग देखिन थाल्यो, दुनियाँका सारा सोचहरू खुम्चिएर नेपाली जस्तै देखिन थाले।
प्रकाशित: २६ आश्विन २०७९ ०८:३२ बुधबार