२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

धूमव्यूह

कविता

लक्ष्मण थापा

किरिङमिरिङ रेखाहरू

सडकको किनारमा टाँग उठाइरहेका छन्!

‘बबल टी’ का चुस्कीहरूमा

दुर्व्यसनी विद्युतीय हुक्काहरू

धूमव्यूहको नवसिर्जनामा छन्!

धेरै भयो

टुकुचाले गन्ध हराएर

दुर्गन्ध गनाएको

हे बरदा! हे मोक्षदा!

मञ्जुश्रीको तरबारमा

खियाका अनेक तह जमेका छन्!

डायनासोरका अभिमन्त्रित फोसिलहरू

दौडिरहेछन् सडकमा धूलो उडाउँदै

सूर्यका आँखामा

खुर्सानीको धूलो थोपरिएको छ!

भिमेश्वरका पसीनाहरू

तप्पतप्प चुहिरहेछन्

राजाका सुनचाँदीका थालहरूमा

पिरामिडका तहखानामा

फारोहहरू जुर्मुराउँदै छन्!

नानीहरू पानीपुरी हेरेर

र्‍याल काढिरहेका छन्

पानीपुरीवाला एउटा हातले

चाक कनाउँदै छ

यतिबेला महारानीको हलो अड्किएको छ!

कर्पोरेट भवनहरू अगाडि

धूमिल बनेका छन् मन्दिरका गजुरहरू

बाँदरले नरिवल फोरेर

स्वास्नी र रखौटीहरूबीच

बाँडचुँड गरिसक्यो!

फुस्रा आँखा पल्टाएको छ घण्टाघरले

रानीपोखरीमा माछाहरू छैनन्

प्रताप मल्ल बलात्कृत आँसुहरू भरिएका छन्!

लुई सोह्रौंको राजभोजमा

तियानमेनचोक कट्कटिएको छ

मानवाधिकार घोषणापत्रका पानाहरूले

गु पुछिएको छ!

धृतराष्ट्रको पुत्रप्रेमको पुनरावृत्ति

यानि सम्भवामि युगेयुगे

विनाशकारी बेलुन

आकाशमा उडाउनकै लागि हो!

बलिवेदीमा बाँधिएको शुनःसेप

शून्यतातिर हेरेर

फुस्रा आँखा पल्टाइरहेको छ

न्यायमूर्तिका आँखामा

कालो पट्टी बाँधिएको छ!

सगरमाथाको फेदीमा

चेर्नोबिल भट्टीको विष्फोट भएको छ

सगरवेष्ठित धुम्रव्युहका बिचमा

यादवगणको कोलाहल छ!

व्याधाको बाण पीडित कृष्ण

टुँडिखेलमा आफ्ना विवशताका बिस्कुनहरू

सुकाइरहेका छन्!

प्रकाशित: २४ आश्विन २०७९ ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App