११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

नन्दलाल आचार्यका पाँच लघुकथा

लघुकथा

१) दक्षिणा

‘मसँग अरू केही छैन। पाएकै यत्ति हो।’ पाँच रुपैयाँको नोट देखाउँदै गणेशले साथीहरूसँग नम्रता दर्सायो।

साथीहरू उसलाई खसाउन तँछाडमछाड गर्न थाले,

-तँ कन्जुसको महाराज रहिछस्।

-तेरा मावली समेत इज्जतका व्यापारी रहेछन्।

-तैंले हामी साथीहरूको समेत हुर्मत लिइस्।

-तँ अर्काको मात्रै खान चाहँदो रहिछस्; खुवाउन चाहँदो रहिनछस्।

-निकै रुपैयाँ ल्याउँछ र तानूँला, पिऊँला, म्यारिज खेलूँला अनि ससाना केटाकेटीलाई जितौरी बाँडूला भनेको योजना नै भुस पार्‍यो यसले।

साथीहरूका यस्ता कुराले पहिले त गणेश कालोनिलो भयो। उसका ओठ-तालु सुके। निधारमा चिटचिट पसिना आयो। तुरुन्तै अर्को मन जागा भयो र मनलाई थुम्थुम्यायो।

साथीहरूमध्ये राजेशले प्याच्चै भन्यो, ‘दशैं जस्तो महान् पर्वमा पनि यत्ति जाबो रुपैयाँ दिनेलाई मावली भन्न पनि तँलाई लाज लाग्नुपर्ने हो!’

‘बिग्रने हैन सप्रने दक्षिणा दिनुभएको छ मामाले।’ गणेशले अलिक कडा स्वर निकाल्यो।

साथीहरूले अविश्वासिलो नजरले हेरिरहे। प्रत्युत्तरमा गणेशले विश्वासिलो स्वर निकाल्यो, ‘दक्षिणास्वरूप १२ कक्षापछिको तिम्रो पढाइ खर्च भन्दै पाँच लाख मुद्दती खातामा बचत गरिदिनुभयो मामाले।’

२) राजीनामा

‘एई, दशैंमा आउनुभएका तेरा ठुलाबालाई नमस्कार गर्।’ भवनाथले दस वर्षको छोरालाई ठाडो आदेश दिए।

छोराले रिसाएको ढाडे बिरालाका आँखाले नियाल्यो। मुखबाट अप्रिय ध्वनि भने निकालेन। भवनाथको मुखबाट निस्केको रक्सीको गन्ध वरपरको वातावरणमा फिंजियो।

‘तँलाई मैले जे भने त्यो तुरुन्न्तै तामेल गरिहाल् नत्र छोरो हुनबाटै राजीनामा दिइहाल्।’ भवनाथको यस भनाइको प्रत्युत्तरमा छोराले भन्यो; ‘कृपा गरी आफ्नो इच्छा पूरा गर्नुस्। मलाई जँड्याहाको छोरा हुनबाट मुक्त गर्नुस्।’

३) उत्तर

‘के म तपाईंको प्रिय छु, गुरु?’ बिहान १० बजे विद्यालय छिर्दै गर्दा प्रवेशद्वार नजिकै उभिएका राजेशले सोधे।

उनको अँध्यारो मुहार नियाल्दै मैले भने; ‘प्रश्नोत्तरको समय र सन्दर्भ हुन्छ।’

उनले झटपट सोधिहाले, ‘किन गुरु?’

मैले पनि लहरो तन्काएँ, ‘कतिपय सवालको जवाफ सवालकर्तासँगै हुन्छ।’

उनी जवाफ नपाए त्यहीं उभिरहने अडानमा पुगे। सत्य बताउँदा उनको मुहार अझ अँध्यारिने, असत्य बताउन आफ्नो मनले नमान्ने। म किंकर्तव्यविमूढमा फसें।

सहज रूपमा सोधें, ‘तिमीलाई आफ्नो बानीव्यहोरा आफैंलाई मनपर्छ?’

केहीबेर घोरिएर आफैंले उत्तर पाएँ भन्दै उनी कक्षाकोठातिर गए।

४) प्रतियोगिता  

उमाले रामेश्वरलाई भनिन्,‘पर्दै पर्दैन। यत्तिको सुझबुझ भएको मान्छेले जगहँसाइ गर्न पर्दै पर्दैन।’ 

‘साराले रमाइलो गरेको खेलमा मैले हात हाल्नु भनेको जितका लागि होइन।’ रामेश्वरको जवाफ थियोे।

त्यसबेला दशैंको अवसर पारेर कथा लेखन प्रतियोगिता भइरहेको थियो। सिकारुहरू भाग लिन्थे। लेख्न सिकेकाहरू भाग लिंदैनथे।

‘जतिसुकै आदर्श ओकले पनि आखिर ‘प्रतियोगिता’ हो।’ उमाको यस भनाइको प्रत्युत्तरमा रामेश्वरको स्वर थपियो; ‘भलै प्रतियोगिता एक अर्कालाई पछारेर एक्लै अघि हुने खेल हो तर अब सोच बदलिनुपर्छ।’

छक्क परिन् उमा र गम खान थालिन्। त्यही मौकामा रामेश्वरले थपे; ‘सिर्जनात्मक प्रतियोगितालाई लड्नेलडाउने खेल बनाउनु हुन्न। सबैका सामु शिर उठाएर हाँस्नुहँसाउनुपर्छ। यसलाई उठ्नेउठाउने र सिक्ने/सिकाउने अवसर ठान्नुपर्छ।’

 ५) कारण/अकारण

-यसपालिको हाम्रो दशैं आमनागरिकको जस्तो हुनुपर्छ।

-उत्पात मजाले मनाएको दशैं यसपालि दशा लागेजस्तो गरी मनाउन हुन्न।

-परिस्थिति परिवर्तन गर्न कारण हुनुपर्छ। अकारण बदल्न पाइन्न।

पारिवारिक जमघटमा थरीथरीका अभिमत आइरहेका थिए। सबैले ज्येष्ठ सदस्यलाई कारणसहितको निष्कर्षमा पुग्ने अधिकार दिए। उनले गरेको फैसलाले खान्दानको भावी प्रतिष्ठा चुलिने वा बिलाउने अवस्था थियो।

ज्येष्ठ सदस्य निष्कर्षमा पुग्दै बोलिन्, ‘हाम्रो आडम्बरी चालचलनबाट रुष्ट भएर हामीले पाउने जनमनको दया भाग्यो। अब जनताको हृदयमा बस्न हाम्रो जीवनशैली समेत आमनागरिकसँग मिल्नुपर्छ।’

‘बिनाकारण मान्न सकिन्न।’ एक सदस्यको असन्तुष्ट मनमा सन्तुष्टिको बिजारोपण गर्दै उनले थपिन्, ‘मुखैमा चुनाव छ। हामीले डरराज्य खडा गर्नाले जनताले हामीलाई नै थाङ्नामा सुताए विगतमा।’

प्रकाशित: २३ आश्विन २०७९ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App