२०७९ सालको बडादसैं २०७९ असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएर असोज २३ गते पूर्णिमाका दिन बिसर्जन हुन्छ। नेपालका सांस्कृतिक मान्यताहरू मध्ये दसैं यसक्षेत्रको मौलिक चाड हो। घटस्थापनादेखि नवरात्रसम्म गरिने बडादसैं अर्थात् नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो। घटस्थापनामा नवदुर्गा भवानीको नवरात्रीसम्म पूजा गर्न कलस थापी, जमरा राखी, परम्परागत शास्त्रीय विधिविधान अनुसार दसैं प्रारम्भ हुन्छ। घटस्थापना प्रायः सबैतिर एउटै प्रकारको चलन भए तापनि जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हात लामो लिङ्गो ठड्याइने परम्परा छ। वर्षमा ५२ हप्ता हुन्छ भनेर ५२ हाते लिङ्गो ठड्याइँदो रहेछ। यो परम्परा १४९८ सालदेखि प्रारम्भ भएको बताइन्छ। परम्परागत धार्मिक चलनअनुसार लिङ्गो ठड्याएर घटस्थापनाको विधिविधानअनुसार घटस्थापना प्रारम्भ गरिन्छ। यस हिसाबले काठमाडौंमा बडादसैंको रौनक अत्यन्त उल्लासमय हुन्छ। बडा दसैं नेपालीको राष्ट्रिय सांस्कृतिक पर्वको रूपमा मानिन्छ।
घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरूमा सबै जातका नेपालीहरू आराधनाका लागि पुग्ने गर्छन्। गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथीभरा, तेह्रथुमको सिंहबाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजविराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरगङ्गकी माइस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिङचोक भगवती, काठमाडौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाडौं र भक्तपुरकी इन्द्रायनी, भक्तपुरकी नवदुर्गा, पाटनकी बगलामुखी, हनुमान ढोकाकी तजेलु भवानी, साँखुकी बज्रयोगीनी, पाटनकी बज्रवाराही, डोल्पाकी त्रिपुरासुन्दरी, बाग्लुङकी माइस्थान, स्याङ्जाकी चण्डीकालिका, नेपालगन्जकी बागेश्वरी, कास्कीकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उघ्रतारा, कालिकोटकी बडी मालिकादेवीलगायत नेपालभरका अनेकौं शक्तिपीठहरूमा भक्तजनहरूको ठूलो उपस्थिति हुन्छ। यसरी हरेक क्षेत्रका शक्तिपीठहरूको आआफ्नै महिमा छ।
देवीपुराणमा उल्लेख छ-‘रामले आश्विन-शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लङ्कामा रावणका विरुद्ध युद्ध गर्न प्रस्तान गरेका थिए।’ यसरी नै पद्मपुराणमा उल्लेख छ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको वध गरेका थिए।’ तर रावणको वधको विषयमा कतिपय धार्मिक विद्वानहरूले विजया दशमीमा नै रावणको वध भएको थियो भन्ने अर्थ लगाउने गर्छन्। तर देवी पुराण र पद्यपुराणमा उद्धृत वाक्यलाई नै प्रमाणित मानिन्छ। अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजयादशमीको दिनदेखि शुभदिनका रूपमा हिमवत् खण्ड तथा भारत खण्डमा मानिँदै आएको हो। असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो दसैं।
नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वकै धनी राष्ट्र मानिन्छ। हामी नेपालीका चाडपर्वहरू यति मौलिक छन् कि यी कतैबाट नक्कल गरिएका होइनन्। पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण अभियानमा काठमाडौं उपत्यका विजयपछि इन्द्र जात्राको शुभदिनमा कुमारीको हातबाट टीका ग्रहण गरी हनुमान ढोका सिंहासनमा आरोहण गरेका थिए। काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाहबाट दसैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट दुवैको सप्तमीका दिन बढाइका साथ काठमाडौं ल्याउने परम्परा बसाएका थिए। त्यो परम्परालाई अध्यावधि मनाइन्छ।
स्वदेश–विदेशमा जहाँजहाँ अवस्थित नेपालीहरू सकेसम्म दसैं मनाउन उत्सुकताका साथ आआफ्नो घर फर्कन्छन्, आफ्नो मातृभूमिमा फर्कन नसक्नेहरू विदेशमा सगौरवका साथ दसैं मनाउँछन्। वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपासक हुन्छन्। ॐ कार जगत् नै वैदिक हिन्दु पञ्चदेवका उपासक हुन्। पाञ्चायन देवतामा गणेश, भगवती, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ। पाञ्चायत देवीदेवताको आराधनाको आआफ्नै समय हुन्छ। घटस्थापनादेखि ९ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आराधना गर्ने समय हो। हामी सबै हिन्दु तथा बौद्धहरू नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवीदेवताको आराधना गर्छौं। दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभ घडी हेरेर बाजे, बराजु, आमाबाबु अथवा आफूभन्दा बुढापाका गुरुहरूबाट टीका लगाउने प्राचीन परम्परा छ। तर कतिपय व्यक्तिहरू इसाईहरूको पारामा लागेर दसैंलाई बहिष्कार गर्ने अभियानमा सरिक भएको देखिन्छ।
दसैंको बहिष्कार विषयमा स्वामी प्रपन्नाचार्यले उसैबेला व्यक्त गर्नुभएको थियो-‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो। इष्टदेव महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाको रूपमा मान्ने गरिएको छ। लिम्बुहरू धृवासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीका रूपमा मान्छन्। नवदुर्गाको पूजा नवरात्रीमा गर्ने अति प्राचीन परम्परा हो। दशमीका दिन विजयादशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा, बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरूबाट टीका लाउने प्राचीन संस्कृतिलाई दुषित पार्नु बुद्धिमत्ता होइन।’ नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यतामाथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरूलाई खुसी पार्ने कुरा आत्मघाती हो।
दसैंमा पशुबलिको विषयमा धेरैको मतभिन्नता छ। कृष्ण प्रणाली, वैष्णम, जैन धर्मावलम्बीहरू पशुबलिलाई अमानवीय विकृति ठान्छन्। डा. गोविन्द टण्डन भन्छन्-‘विजयादशमीको धार्मिक, सांस्कृतिक एवं दार्शनिक महत्त्व अति नै छ। नवरात्रीभरि शक्तिरूपा देवी दुर्गाको विविध स्वरूपको आराधना गरी काम क्रोध, मोह, मदजस्ता दुर्गुणलाई त्याग्न साधना स्वरूप पशुवलि गर्ने मुख्य पर्वजस्तो बन्न गएकाले खसीबोका पर्वको रूपमा विकसित हुँदैजानु ज्यादै दुःख छ। धर्मको महत्त्व, गौरव र शालीनतालाई नै पशुवलि परम्पराले यस्तो मोडमा धकेलेको छ।’
यसै विषयमा डा. रामचन्द्र गौतम लेख्छन्, ‘हाम्रा धर्मशास्त्रहरूले राजश, तामस, या सात्विक पूजा विधि चयन गर्न अधिकार दिएको छ। बलि नदिई पनि पूजा गर्न सकिन्छ तर बडा दसैंमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गाभवानीका लागि बलि आवश्यक छ। देवीहरूको बलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनहरूले पनि बलि चढाएर शक्ति आर्जन गर्छन्। राज्य शक्तिका लागि पनि बलि अनिवार्य छ। राज्य शक्ति अथवा प्रभुसत्ता सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकालदेखि नै पशुपक्षीहरूको बलि दिने व्यवस्था रहँदै आएको छ।’
यसरी मतभिन्नता पनि प्रारम्भदेखि नै हुँदै आए तापनि दसैंलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ। महादसैंमा बलीको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्छन्-‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुनजाने छ। शक्ति साधना मरुल पर्व मानिएको बडा दसैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो। प्रारम्भिक कालदेखि नै सनातन धर्मका नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो।
पुराणले भनेको छ-मोहले वा अहंकारले दसैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनुहुन्छ र उसको सर्वनाश हुन्छ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ। तर कतिपय क्रिस्चियन प्रभावमा परेका जनजातिका अगुवाहरू यस क्षेत्रको सांस्कृतिक अध्ययन नै नगरी भन्छन्- पृथ्वीनारायण शाहले जबरजस्ती लादेको हो भनेर दसैंका बारेमा भ्रम खडा गर्न खोजेका छन्।
पार्टीगत रंगले पनि दसैंलाई दुषित पार्न खोज्दै छ। ‘दसैं सम्पन्नहरूले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै माओवादी नेता प्रचण्डले २०६३ सालपछि दसैं नमान्ने निर्देशन दिए तापनि दसैं बडो हर्षोल्लासले मनाइएको थियो। ‘दसैं र तिहार जनजातिका चाड होइनन्’ भन्दै आफूहरूलाई पृथक जाति देखाउन केही जनजातिहरू लागेका छन्।
दसैंमा दहीसँग मुछेर सेता अक्षताको टीका निधारभरि लगाउने चलन जनजातिबाटै प्रारम्भ भएको हो। काठमाडौं उपत्यकामा राता अक्षताको टीका लगाउने परम्परा भए तापनि नेपालमा लिम्बु, राई, मगर, गुरुड, तामाड जातिहरूमा विजया दशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ। स्वदेशमा केही जनजातिका अगुवाहरूले बहिष्कार गर्ने कुरा उठाए तापनि विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिब्बु, मगर, थकाली, थारु जो नेपाली होस्, उनीहरूले दसैं नेपालीहरूको मौलिक चाड हो भन्ने कुरालाई आत्मसाथ गरेर हर्षोल्लासपूर्वक मनाउँछन्।
दसैंझैं तिहारलाई दार्जिलिङ, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दसैं र तिहारलाई गोर्खाहरूको एकताको बिँडो ठान्छन्। भारत, बर्मा, श्रीलंका, इन्डोनेसिया लगायत विश्वका अनेकौं देशहरूका हिन्दुहरूले आआफ्नै प्रकारले दसैं मनाउँछन्। नेपाली भाषी नेपाली जातिबाहेक भारतीय हिन्दुहरू टीका नलगाएर पनि दसैंको उत्सव मनाउँछन्। नेपाल र नेपालबाहिरका हिन्दु-बौद्धले विजयादशमीको शुभसाइतमा मूल ढोकाको पूजा गरी मान्यजनबाट परिवारको मर्यादाक्रमअनुसार टीका प्रारम्भ हुन्छ।
हिन्दु र बौद्धबीचको सामञ्जस्यताको कारण हो-पशुपतिनाथ र स्वयम्भूनाथबीचको पारस्परिकता। पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ। बौद्धहरू पनि पशुपतिनाथको पूजाआजा गर्दछन्।
काठमाडौं उपत्यकामा बौद्धहरू आठओटा शिवलिङ्गलाई अष्टवैतरागका रूपमा पूजा गर्छन्। स्वयम्भूनाथमा पनि हरेक हिन्दुहरू मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन्। गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन्। मुक्तिनाथको मन्दिरमा लामा र बैष्णव दुवै पद्धतिबाट पूजा गरिन्छ। मुक्तिनाथमा हिन्दुहरू नारायणको रूपमा र बौद्धहरू भगवान् बुद्धको रूपमा मान्दछन्। साँखु बज्रयोगिनीलाई हिन्दु तथा बौद्ध समाजले पूजा गर्छन्। चाँगुनारायणस्थित गरुडलाई बौद्धहरू हरिहरवाहन लोकेश्वर मान्दछन्।
बुढानीलकण्ठलाई बौद्धहरू १०८ लोकेश्वरका रूपमा आराधना गर्छन्। बौद्ध विहारहरूका मूलढोकामा दाया र बाया गणेश र महांकालको प्रतिमा खडा गरी पूजा गर्ने गरिन्छ। यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा हामी नेपालीहरूले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकौं। दसैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदि अनेकांै चाडपर्वहरू नेपाली समाजका जीवनपद्धति हुन्। २०७९ सालको बडा दसैंको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूको सुख समृद्धिका लागि हार्दिक शुभकामना अर्पण गर्दछु।
प्रकाशित: १५ आश्विन २०७९ ०३:२७ शनिबार