१५ मंसिर २०७९ बिहीबार
कला

अन्तिम इच्छा

बाहिर घाम लागिरहेको छ। त्यो पनि पारिलो। आकाश सफा मात्र हैन, क्रिस्टलझैँ निलाम्य बनेर चम्किरहेको छ। बगैँचाभरि सयपत्री, हेभिस्कस र गोदावरी ढकमक्क फुलेका छन्, वैंशालु भावमा। टलक्क टल्केको हिमालले सबैतिर रमाइलो छरिरहेको छ। लाग्छ–प्रकृतिले आफूलाई दुलहीको आवरणमा प्रदर्शन गरिरहेकी छिन्। त्यसैले त मानिस सबै खुसी बाँडिरहेका देखिन्छन्। नौरथा प्रारम्भसँगै देवी मन्दिरका घण्ट रालोहरू पूरै व्यस्त छन्। ‘दसैँ आयो..., खाउँला... पिउँला...’ बालबालिका गुन्गुनाउन थालेका छन्।  

विगतका दुई/तीन वर्ष संसार नै महामारीले प्रताडित थियो। कतिले आफन्त गुमाए। कतिले सन्तानै गुमाए। आमा/बाबा गुमाउने पनि निकै भए। लाग्थ्यो– अब जीवन यति नै रहेछ। सोझै भनौँ भने मान्छेदेखि मान्छे तर्सिने अवस्था थियो। सामाजिक दूरी कायम गर्ने कुरा यसैको प्रमाण थियो।

म स्कुलमा कृतिकाको कक्षा शिक्षक। त्यति जेहनदार विद्यार्थी तर हेर्दाहेर्दै सबै विषयमा अनुत्तीर्ण। मलाई अचम्म लाग्यो। अनि कृतिकाको अभिभावकसँग भेटेर उसको खस्केको पढाइबारे कुरा गर्नुपर्छ जस्तो लाग्यो। धेरै पटक कुरा गर्न खोजेँ तर पाइनँ। म कृतिकाका बारेमा धेरै नै चिन्तित थिएँ। त्यसैले उसको अभिभावक भेट्न खोज्थेँ। धेरै प्रयासपछि एकदिन बिहान कृतिकालाई लिने बहाना बनाएर उसको घर गएँ। अनि कृतिकाका बाबा किरणसँग भेटेँ। व्यक्तित्व साह्रै राम्रो लाग्यो। लाग्थ्यो– यस्तो मानिस त हलिउड सिनेमाको हिरो पो हुनुपर्ने। तर आँखामा शून्यता अनि दुःख धेरै देखेँ। त्यसपछि मैले केही कुरा गर्नै सकिनँ।

‘प्लिज बस्नूस् न, हाम्रो घरमा धेरैपछि कोही पाहुना आएको छ। सँगै ब्रेकफास्ट खाऊँ।

नरम आवाज सुनेपछि फर्किन तम्सेका मेरा पाइला टक्क अडिए। नाइँ भन्ने हिम्मतै भएन मसँग। किरणले धेरै परिकार ल्याए। जे/जे दिए, सबै खाएँ। त्यो पनि मिठो मानेर।

नास्ता खाइसकेपछि मैले स्कुल बस आउने बेला भएको बताएर जाने अनुमति मागेँ। कृतिकालाई पनि आऊ भनेर समातेँ।

‘यसो आउँदै गर्नुहोला है, हामीलाई पनि शून्य हुँदैन। आज कतिपछि मेरो घरमा रमाइलो भयो’– किरणले मुस्कानसहित बिदाइ गरे।

आउँछु नि, यसो भन्दै उसको मुहारमा नजर डुलाएँ। आँखामा चम्किलोपन थियो। एउटा आशाको किरण पनि देखेँ। एउटा बालकको इच्छा जस्तै अनगिन्ति इच्छा सँगालिएको देखेँ। त्यसपछि थपेँ– किरणजी, कृतिकाको पढाइमा अलिकति ध्यानदिनुपर्नेछ। राम्रो विद्यार्थी हो। तर अहिले पढाइ खस्केको छ। उसको ध्यान पढाइमा छैन, सायद।  

स्कुल जाँदैगर्दा मनमा कृतिकाको घरभित्रको सजावट यताउता गर्दै नाँचिरह्यो। सजावटका सामग्री सबै आकर्षक थिए। अनि महँगा पनि। तर धेरै समयदेखि स्याहार नगरिएका। पुछपाछको अभाव। भित्ताका त्यति राम्रा तस्बिरमाथि पनि धुलोले साम्राज्य जमाएका। बाङ्गोटिङ्गो उस्तै। यस्तो अवस्थाले ममा धेरै प्रश्नले बास गरे तर उत्तर कतैबाट मिलिरहेको थिएन। ख्वै किन हो कुन्नि, स्कुलमा पनि मलाई पढाउन खासै मन लागिरहेको थिएन। दिउँसो कृतिकालाई बोलाएर स्कुलमा सँगै खाना खाएँ। कृतिकाले ‘मिस भोलि पनि मेरो घरमा आउनूस् है, आजै जस्तो सँगै ब्रेकफास्ट खाने अनि सँगै स्कुल आउने। मलाई हजुर एकदमै मनपर्छ’ भनिन्।  

मैले सोधेँ– कति मनपर्छ?

कृतिकाले भनी– म हजुरलाई मेरो आमालाई जति नै माया गर्छु।  

सोधेँ– बिहान तिम्रो आमा हुनुहुन्नथ्यो नि, कहाँ जानुभएको थियो?

कृतिका एकछिन भावविह्वल भइन्। बोल्न खोज्दा उनको मुटु भक्कानियो। अनि निकैबेरपछि अड्किँदै अड्किँदै भनिन्– आमा पोहोर बित्नुभयो, जिप दुर्घटनामा। अहिले बाबा र म मात्रै छौँ। त्यसैले हाम्रो घर एकदमै शून्य छ।

उनकी आमा जनकपुरस्थित एउटा प्रोजेक्टमा जागिरे रहिछिन्। जाने क्रममा सिन्धुलीमा दुर्घटना भएर निधन भएको रहेछ। त्यसपछि किरणको घरको किरण उडेर अन्धकारमय भएको रहेछ। कृतिकाको पढाइ त्यही दिनदेखि ओरालो लाग्ने क्रम सुरु भएछ।  

अनि म सोच्न थालेँ– मान्छेलाई समय र परिस्थितिले कति बलियो बनाउँछ। गहिरो अनि त्यति पीडायुक्त घटना पनि कति सहज ढङ्गले बताउन सकी कृतिकाले। ओहो ! एउटी छोरीका लागि आमा नहुँदा कति गाह्रो हुन्छ। मलाई कृतिकाप्रति झन् माया बढ्यो।

अनि मैले एउटा सर्त राखेँ– कृतिका तिम्रो घर सधैँ आउँछु र तिमीलाई पढाउँछु तर तिमीले पहिलाजस्तै पढ्नुपर्छ है त?

भइहाल्छ नि– उसको प्रत्युत्तर थियो।

हामी दुवैजना एकअर्कालाई एकदमै माया गथ्र्यौं। अरूले हेर्दा लाग्थ्यो– हामी दुई साख्यबैना...। कहिले उनी मेरो घर आउँथिन्, कहिले म उनको घर जान्थेँ। पहिलो दिन देखेको भन्दा किरणमा पनि केही परिवर्तन आएको थियो। ऊ पनि हामीसँगै हाँस्थ्यो, बस्थ्यो, खेल्थ्यो। छुट्टीको दिन कृतिका हाम्रो घरमा आउँथी अनि दिनभर हामीसँगै बस्थी। मेरा आमा बाबाले पनि उसलाई माया गर्नुहुन्थ्यो। घरमा खाना पनि किरण र कृतिकाको स्वादअनुसार पाक्थ्यो। म पनि खुसी थिएँ, आमा/बाबाले उनीहरूलाई माया गरेको देखेर। यसो भनौँ, हामी दुई घर एउटै घर भैसकेका थियौँ।

हुन पनि यो माया भन्ने कुराले जीवनलाई कति सजिलो अनि सहज पारिदिँदो रहेछ। सँगै जीवन अगाडि बढाउन कुनै बाधा अड्चन नहुँदोरहेछ। कहिलेकाहीँ लाग्थ्यो– किरण हामीलाई चौबीसै घण्टा पर्खिरहेको छ। मैले कृतिकालाई पढाउँदा चोर आँखाले मलाई हेरिरहेको हुन्थ्यो ऊ। अनि कहिले कफी दिने त कहिले जुस दिने बहानाले हामी पढ्ने/पढाउने कोठामा आइरहन्थ्यो। मलाई पनि बिस्तारै बिस्तारै किरणलाई भेट्न, ऊसँग कुरा गर्न मन लाग्न थाल्यो। उसको व्यक्तित्वको त म फ्यान नै भइसकेकी थिएँ। यतिसम्म फ्यान कि उसले कुरा गर्न थालेपछि मन्त्रमुग्ध नै हुन्थेँ। अब त कृतिका, म र किरण प्रायः सँगै हुन थाल्यौँ। कुनै क्षण यस्तो थिएन ताकि हामी एक्लै बस्नुपरेको होस्।

मेरो बिबिएसको नतिजा प्रकाशित भयो। नब्बे प्रतिशत ल्याएर पास भएछु। अब शिक्षण पेसा छाडेर एमबिए गर्न काठमाडौँ युनिभर्सिटीमा भर्ना हुने तयारी थालैँ। यसै तयारीका लागि मैले स्कुल पढाउन छाडिसकेकी थिएँ। म यस्तै तयारीलगायत काममा व्यस्त थिएँ।एकदिन कृतिकालाई भेट्न घरभित्र पाइला राखेकी मात्र के थिएँ, दारी पालेको, नाइट सुटमै रहेको अनि बिरामीजस्तो मान्छे देखेँ। म अचम्म भएँ– आखिर यो को हो? एकैछिन नियालेपछि थाहा पाइहालेँ, उही किरण पो रहेछ। म छानाबाट खसेजस्तो भएँ। सोधेँ– किन यसरी बसेको तपाईं? के सन्चो भएन हो? किन मलाई खबर नगरेको? रामुदाइ, रामु दाइ, सरलाई के भयो? किन राम्ररी हेरविचार नगरेको? किन मलाई फोन नगरेको?

यति भनिनसक्दै मैले आत्तिँदै उसको निधार छामेँ। त्यत्तिकैमा किरणले भन्यो– म मात्र तिमीबिना बाँच्न नसक्ने भनेको त, तिमीले पनि मलाई धेरै माया गर्दिरहेछौ आशा, तिमी मलाई छाडेर कहिल्यै कतै नजाऊ, प्लिज नजाऊ...। निराशामा परिणत भइसकेको मेरो र कृतिकाको जीवनमा तिम्रो आगमनले आशाको दीप जलाएको थियो। तिमीले हामी बाबा/छोरीलाई आशा देखायौ। जस्तो तिम्रो नाम, त्यस्तै काम। हाम्रो अँध्यारो जीवनमा एउटा आशा उब्जाइदियौ। मेरो जीवन श्रीमतीसँगै गयो। छोरीका लागि एउटा जिउँदो लाश भएको थिएँ। केवल जिउँदो लाश। तिमीले यसलाई ब्युँताइदियौ। म तिमीमा माया खोज्न थालेँ। तिम्रो हाँसोमा रम्न थालेँ। तिमीलाई धेरै माया दिन छट्पटिन थालेँ। तिमीलाई एकदिन नदेख्दा पनि निराश हुन थालेँ। आशा तिमीबिना किरण अधुरो छ। अब तिमीले मलाई कहिल्यै नछोड यो जीवनमा। प्लिज कहिल्यै...। अब तिमीबिना म बाँच्नै सक्दिन आशा...।

भयो भयो, म अब कतै जान्न अब। तिमीसँगै छु। एक्कासि मेरो सम्बोधन तपाईंबाट तिमीमा झर्‍यो। यसो गर्दा अलि अप्ठ्यारो पनि लाग्यो अनि फेरि भनेँ– तिमी र म गंगुवाइ सिनेमा हेर्न जाऊँ। मैले तीनवटा टिकट बुक गरेकी छु।  

हामी सिनेमा हेर्न गयौँ। छोरी मान्छेको दुःख हेर्दा मेरो हात च्याप्प समात्थ्यो अनि लजाएर बिस्तारै हटाउँथ्यो। मलाई भने उसले त्यो हात जिन्दगीभर नछाडोस् जस्तो लाग्थ्यो। उसको सामीप्य पाउँदा मन आनन्दित पनि भएको थियो। सिनेमा राम्रो लाग्यो। सत्य कथामा आधारित सिनेमा रहेछ यो। गंगुवाइको रोल आलियाले राम्रोसँग निभाएकी। बाटोभरि कुरा गर्दागर्दै मेरो घर आइपुग्यो। अनि किरणले गाडी पार्क गर्‍यो। तीनैजना घरभित्र पस्यौँ। आमा/बाबा बैठकमै होइसिन्थ्यो। हामीलाई देखेपछि बाबाले अहो किरण बाबु तपाईँसँग सल्लाह गर्नुथियो, एकैछिन हामी सँगै बसौँ है, बरु पहिले सँगै खाना खाउँ अनि, आज कृतिकालाई मनपर्ने चुकाउनी छ भन्नुभयो।

हामी खाना खाँदैथियौँ। त्यत्तिकैमा बाबाले भन्नुभयो– कृतिकाका लागि राम्रो घरबाट विवाहको प्रस्ताव आएको छ। हामीले चिनेको परिवार हो। केटा अस्ट्रेलियामा चार्टर्ड एकाउन्टेन्ट छन्। फेरि छोरी दिने कुरा धेरै सोचविचार गर्नुपर्दछ। परिवारको आनीबानी थाहा भयो भने हामीलाई पनि सजिलो हुन्छ।

उता किरणलाई भने खाना अड्किएर पानीले निल्दा पनि गइरहेको थिएन। आँखाबाट बलिन्द्र आँसु झरिरहेको थियो। म पनि अकमक परिरहेको थिएँ, के गर्ने होला भनेर।

केही कम भएपछि किरणले भन्यो– बाबा म हजुरलाई एउटा कुरा निवेदन गर्न चाहन्छु, मेरो विचारमा त्यसमा नमिल्ने केही छैन यहाँहरूले भनेपछि। त्यसभन्दा पहिले म आशालाई हजुरहरूको अनुमतिसहित जीवनसाथी बनाउन चाहन्छु।

तिमीले एक्कासि हामीले नसोचेको प्रस्ताव गर्‍यौ। हामीलाई केही समय देऊ। आशासँग पनि हामी केही कुरा बुझ्छौँ। के गर्नु छोरीको आमा/बुबा हौँ हामी। त्यो पनि विवाह जस्तो कुरा– बाबाको उत्तर आयो।

हप्ता दिनमै आमा/बाबाले ‘हुन्छ’ भन्नुभयो। अनि किरणको इच्छाबमोजिम पूरा विधि/विधानका साथ बुढानीलकण्ठ मन्दिरमा हाम्रो विवाह भयो। मलाई भिœयाउन किरणले नयाँ घर किनेको थियो, जहाँ रङरोगनदेखि फर्निचरसम्म मेरो चाहनाअनुसारको थियो। सजावटको त कुरा गरिसाध्य नै थिएन।

कृतिका र किरण दुवैले मलाई एकदमै माया गर्थे। म पनि सबै गुणले सम्पन्न जीवनसाथी पाउँदा खुसी थिएँ। बारम्बार ईश्वरप्रति कृतज्ञ हुन्थे। किरणको व्यवसाय पनि बढ्दै गइरहेको थियो। कृतिका पनि कक्षा ९ मा पढ्दै थिई। म पनि आफ्नो एमबिए पढाइमा तल्लीन। हामी सुखी/खुसी थियौँ।

एक्कासि कोभिड–१९ ले संसारलाई तर्सायो। लाखौँको संख्यामा मानिसले ज्यान गुमाए। चारैतिर रुवाबासी चल्यो। उक्त महामारीले हाम्रो घरलाई पनि के बाँकी राख्थ्यो र? किरणलाई पनि रुघा लाग्यो। ज्वरो आयो। पछाडि गर्धन दुख्न थाल्यो। उसलाई उपचार गर्न थुप्रै हस्पिटल चाहारेँ। कतै सिट पाइएन। अन्त्यमा ग्रान्डीमा वेटिङ लबीमा बसेँ। उसलाई भने निकै नै गाह्रो भैरहेको थियो। आँखाबाट अविरल आँसु बगिरहेको थियो। उसको हात चिसो भयो भनेर हात तताउँदै थिएँ। एक्कासि उसको हात मेरो हातबाट छुट्यो। ऊ एक टकले मलाई हेरिरहेको थियो। म डक्टर... सिस्टर... भन्दै चिच्याउँदै यताउता दौडँदै कराउन थालेँ तर... ऊ हामीलाई छाडेर गैसकेछ। उठ्छ कि भनेर यता रउता हल्लाउन थालेँ। अहँ, केही लागेन।

त्यत्तिकैमा उसको खल्तीबाट एउटा कागज झर्‍यो। टिपेर पढ्न थालेँ। आँखाबाट निरन्तर झरिरहेका आँसुका थोपाले साथ दिएन।

निकै बेरपछि साथ दिएको आँखाले पढ्यो: 

मेरो जीवनसाथी

धेरै माया, सधैँ खुसी रहनु

तिम्रा हरेक चाहना किरणमय होस्

यही मेरो शुभकामना  

मेरी आशा...।

गाडीको हर्न बज्यो। म झसङ्ग भएँ। विगतको सम्झनाले झारिदिएको आँसु पुछेर छोरी कृतिकालाई स्वागत गर्न गएँ। दसैँ आगमनको पहिलो दिन कृतिका पनि होस्टेलबाट घर आएकी थिई। दसैँको खुसी साटासाट गर्न हामी आमा/छोरी अँगालोमा बाँधियौँ निकैबेर। एकअर्कालाई खुसी बाँड्यौँ।

दसैँ आयो, दसैँ आयो।

बिर्सा सबै दुःख अनि पीडा

दसैँ आयो, दसैँ आयो।

आऊ कृतिका, बल्ल दसैँ आयो तिमी घर आएपछि। तिम्रो छुट्टीभरि हामी एकदिन पनि नछुट्टिऊँ। यसपालिको दसैँ हामी आमा/छोरी रमाइलोसँग मनाऊँ। जसरी किरणले हाम्रो हरेक चाडपर्व रमाइलोसँग हामी तीनबीच एकअर्काको खुसीलाई सकेसम्म समेटेर मनाउँथ्यो, त्यसरी नै हामी पनि दसैँ मनाऊँ।

आज बिहान उठेदेखि नै मेरो मन शून्य छ। दसैँ आयो मात्र हैन, दसैँ सिद्धियो पनि। यो एक हप्ता यत्तिकै झिमिक्कै गर्न नपाई कृतिकासँग बित्यो। आज होस्टेल फर्किनु छ कृतिकालाई। फेरि म एक्लै। तर मैले यो पनि बुझेकी छु कि मैले कृतिकालाई एउटा योग्य नागरिक बनाउनु छ। किरणको सपना साकार गर्नु छ। अनि मात्र किरणले मलाई गरेको मायामाथि न्याय हुन्छ। कृतिका मेरी प्यारी छोरी उसलाई मेडिसिन पढाएर डक्टर बनाउनु छ। अनि औषधि गर्न नसक्ने धेरै दुःखीलाई सहयोग गर्न सक्ने बनाउनु छ। कृतिका जसरी मेरो छ उसैगरी किरणको पनि चाहना, इच्छा, मायामा मात्रै होइन, उसको हरेक दिनको शुभकामना तिम्रै लागि छ।

समय बित्दै गयो। हामी आआफ्नै काममा व्यस्त हुन थाल्यौँ। कृतिका पढाइमा अनि म आफ्नै काममा। कुनै इच्छा भित्री मनबाट भयो भने देवदेवता सबैको आशीष लाग्छ रे भन्छन्। नभन्दै त्यो दिन पनि आयो। त्यो इच्छा पनि भोलि पूर्ण हुँदै छ। तिमीले ‘बेस्ट स्टुडेन्ट अफ द इयर’ पाउँदै छौँ। धन्यवाद छोरी, आशा र किरणको चाहना पूरा गर्‍यौ। साथै हामी दुवैको अभिभावकत्व पनि सफल तुल्यायौ। धेरै आशीर्वाद डा. कृतिका तिमीलाई। शुभकामनासहित बधाई हामी दुवैको आशाको किरणलाई।

प्रकाशित: १५ आश्विन २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App