हरिप्रसाद गौतम
तारेर माझिले डुङ्गा, पुग्दछ तटमा जब,
रोकिन्न यत्तिले कर्म, भेटिन्छ बटुवा नव।
रीति यै नीतिमा चल्छ, डुङ्गामै माझीको जुनी,
जस्तो हो माझिको डुङ्गा, उस्तै हुन् ती गुरु पनि।
- - -
जल्दछ जसरी दीप, पार्दछ गृह झल्मल,
उस्तै हुन् धप्धपी बल्ने, ज्ञानी ती गुरु हरपल।
के हुन्थ्यो दिनुमा रित्तो, ज्ञान हो बढ्छ झन् झन्,
गुरुकै साथले हट्छ, अज्ञानरुपी बन्धन।
- - -
गुरु हुन् पथका मित्र, गुरु हुन् कर्मका मति,
गुरु हुन् गृहका लक्ष्मी, गुरु हुन् सर्वसम्पत्ति।
गुरु हुन् ज्ञानका खानी, गुरु हुन् मार्गका रथ,
गुरु हुन् जति जे कष्ट, पर्दाका मार्गदर्शक।
- - -
जुनी यो बैगुनी बन्छ, नहुँदा साथमा गुरु,
सामिप्यता मिले साँच्चै, हुन्छ त्यो सुध्रिन सुरु।
सानै होस्, या कुनै यस्तै, सामान्य कर्ममा पनि,
मिल्दछ गुरुको मार्ग, जान्छ त्यो सफलै बनी।
- - -
सन्तोषी गुरुले ज्ञान, बाँड्दा बाँड्दै अघाउँछन्,
अशिक्षा त्यो भगाएर, सत्य ज्ञान जगाउँछन्।
यो धर्तीमा अरू छैनन्, यति राम्रो उदाहरण,
भित्र हिरारुपी ज्ञान, बाहिर ती साधारण।
- - -
पेसामा स्वार्थ नै छैन, ज्ञानदान निरन्तर,
गर्नेमा गुरु नै हुन्छन्, सबैलाई बराबर।
न भेद रङ्गको गर्छन्, न भेद जातिको पर,
यत्तिको निर्मलः आत्मा, धर्तीमा कसको छ र!
- - -
फालेर मनको मैलो, बालेर ज्ञानको दीप,
बनेर तनले मित्र, सिकाई अनेकौं सीप।
यस्ता यी सर्वदा पूज्य, सर्वज्ञानी गुरु जति,
विश्वमै उच्च छन् हाम्रा, अमूल्य गुरु-सम्पत्ति।
प्रकाशित: १० आश्विन २०७९ ०६:२५ सोमबार