११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

छेपारो

लघुकथा

 १) ठुला कुरो

  विवि याक्खा

कर्म मसँग भेट हुँदा होस् या फोन म्यासेन्जर,वाट्स एपमा घन्टौं बात मार्दा सुखदुःखको खुब कुरा गर्थे। मानौं उसले मलाई उसको साथी मात्रै नभएर एक अभिभावक नै मान्दथे।

उनी बारम्बार आफूलाई परेको समस्या बताउँथे र एकदमै नजिक भएको महसुस पनि दिलाउँथे। उनी सानोतिनो खुद्रा व्यापारी थिए। उसको व्यापारले जसोतसो जिन्दगी चलिरहेको नै थियो।

अचानक उसलाई नै रोगले च्याप्यो। कोरोनाको कारण उसको व्यापार पनि घाटामा पुग्यो। यसैले उसले मलाई फोन गर्‍यो, ‘लौन हजुर सहयोग गर्नु। मलाई त यहाँ गाह्रो भयो। मेरो जीवन रक्षा गर्नुपर्‍यो। अरू त मेरो सबै आफ्नाहरू भए पनि सबै बिराना छन्। सुनेभनेको हजुर नै मेरो नजिकको मित्र भने पनि अभिभावक जस्तै तपाईं हो।’

मैले मन थाम्न सकिनँ र राम्रोसँग सकेको सहयोग गरें त्यो बेला।

बिस्तारै कोरोना कहर घटदै गयो। बिस्तारै आफ्नै लयमा फर्किनु थाल्यो। यस्तैमा कर्मको पनि स्वास्थ्यमा सुधार भएर व्यापार सञ्चालन गर्नु थाले। यसको साथसाथै चुनावी लहरहरू पनि बढ्दै गएकाले एकदिन मैले पनि कर्मलाई फेसबुकको वाल पेजमा देखे, ठूलाठूला नेताको हातबाट अबिर र खादाले रंगिएर पाटी प्रवेश गरेको।

मैले पनि खुसीले बधाई तथा शुभकामना दिएँ। बिस्तारै उसमा बदलभाव आउनु थाल्यो। अब उसले मेरो फोन उठाउनु छाड्यो। मेरो विरुद्धमा नै मानिसहरू उचाल्नु थाल्यो।

भित्रभित्रै अनेक तानाबाना बुन्नु थाल्यो मेरो समाज र हरक्षेत्रमा रहेको लोकप्रियता र सरल व्यवहार देखेर।

उसले माया मारे पनि मैले भने उसले जस्तो छोटो सोच राखिनँ।

यसैले फोन गर्दा यो पटक भने भिडियो कलमा नै उठाउदै भन्यो, ‘ए दाइ, के ठुला कुरा गर्नुहुन्छ विदेश बसेर? तपाईंको जस्तो महिनाको कमाइ त म मौकामा एकै दिनमा पनि कमाउँछु हौं।’

मैले उनको कुरा सुनेर यति मात्रै भने, ‘त्यतो हैन! मैले त तिम्रो मात्रै पेटको बिराम हिजोआज कस्तो छ भनेर पो सम्झेको त!’

उसको कुनै जवाफ आएन। त्यत्तिकैमा फोन काटियो।

  २) मौनता

निलो सागरको छालहरू उठेका हेर्नु अनि छेउसम्म नै आइपुग्ने सामुद्रिक लहरहरूसितै बेलाबेला नाच्ने डल्फिन माछाहरूका रोमाञ्चक नृत्य! साँच्चिकै रमाइलो लाग्ने मानौं स्वर्ग यहीं छ।

जेटली एक पत्रिकामा काम गर्छिन्। रूप-रङ्गले कुनै  हलिउडको चर्चित नायिकाभन्दा कम छैनन्। म भने एउटा प्रोफेसर साथै लेखक! परिचय भनौं या पहिचान।

छेवैमा आएर जेटलीले सोधिन्, ‘हाई जोनसन, सञ्चै हुनुहुन्छ!’

-हेल्लो! एस सञ्चै छु अहिलेसम्म। अँ तिमीलाई चै कस्तो छ नि?

जेटलीले उनका आँखा र लामो खैरो कपाल लर्काउँदै भनिन्, ‘ओ म व्यस्त नै हुन्छु अनि कफी नपिलाउने हो आज हजुर?’

उसले भनिसकेपछि कफी अडर गरेर कुराकानी गर्यौ हामीले।

जेटलीले सोधिन्, ‘किन तपाईंका हिजोआज रचना देख्दिनँ?’

मैले उसका उत्सुकतालाई मेटन खोज्दै भने, ‘  हो हिजोआज अलिक कम नै लेख्दैछु जेटली! ठिक नै भन्यौं तिमीले।’

उसले पुन सोधिन् , ‘मिस्टर जोनसोन, यो मौनता केलाई नि?’

मैले केही गम्भीर हुँदै यो पटक जवाफ दिएँ, ‘सस्तो लेख लेखेर पाठकहरुको समय बर्बाद पार्नु लेखकीय धर्म हैन यसैले पनि।’

जेटलीले मेरो कुरामा अचम्म मान्दै सोधिन्, ‘आखिर मौनतामा हुन्छ चै के? मिस्टर जोनसोन बताउनुस् न।’

मैले भने, ‘मौनतामा धैर्य, शालिनता साथै खोजअनुसन्धान हुन्छ साधना हुन्छ हो। त्यसपछि निस्किएको फल नै एक मोती सम्मान मूल्यवान् हुन्छ। यो नै राज छ मौनतामा मलाई लाग्छ।

जेटलीले खुशीसाथ ताली बजाउँदै भनिन्, ‘वाहा क्या गजव।’

 ३)  छेपारो

धनवीर चौतारीमा बसेर शीतल ताप्दै गाईवस्तु चराइरहेका थिए। बलियाबांगा छोराछोरीहरू बाध्यताले पढेलेखेका भए पनि विदेशिनु परेको थियो। यसैले पनि उनको यो बाध्यता थियो। कति चाडपर्व आउँथे जान्थे साथमा छोराछोरीहरू नहुनाले  कटक्क गरेर मन खान्थ्यो।

उही कहिलेकाहीं फोनमा हुने कुराले मन बुझाउँथे जोईपोई।

उमेरसँगै इन्द्रियहरू कमजोर हुँदै गएकाले धनवीरले चस्मा लगाउनुपयो। त्यो पनि पोहोर छोरीले छुट्टीमा आउँदा किनेको। यसैले त उनलाई हेर्नु जसोतसो समस्या छैन अहिले भने।

मंसिर नजिकिंदै गर्दा बिस्तारै देशमा संसदीय चुनावी लहर चल्यो। यसैले दलका नेताहरू देश दौडाहामा निस्के।

यो पटक पनि चुनाव जित्ने माहोल बनाउन लागे दामोदर गाउँ। दामोदर आफ्नो दलबल कार्यकर्ता र आसेपासेको साथमा पुगे।

गाउँमा कोणसभा,भेटघाटमा व्यस्त हुँदै मक्ख पार्दै भाषण ठोके। यसै सिलसिलामा चौतारीमा भेट हुँदा एकजनाले धनवीरलाई सोध्यो, ‘धनवीर बा चिन्नुभो? हाम्रो नेता फेरि जिताउनपर्‍यो है।’

यसो धनवीरले चस्माको सिसा पुछेर लगाउँदै भन्यो, ‘हो किन नचिन्नु यी छेपारोहरूलाई! विकास र समृद्धिको नाममा गफ गरेर युवा शक्ति बेचेर देश बन्दक राखी खानेहरू। अब गल्ती गरिंदैन। गए हुन्छ।’

दामोदर चिटचिट पसीना काट्दै बाटो लागे गोठालो र खेतालोमा पनि चेतना र देश प्रेम पलाएछ भन्दै निर्वाचन हार्ने ग्रसित मानसिकता लिएर।

४) समर्थक

यो वर्षको लोकप्रिय कृति पुरस्कर घोषणा कार्यक्रम समारोह भव्य चलिरहेको थियो। देशको मन्त्री नेता त प्रज्ञाहरूको पनि मञ्चमा बाक्लै उपस्थिति देख्न सकिन्थ्यो।

पुरस्कार घोषणामा परेका कृतिहरूको सम्बन्धित क्षेत्रको बौद्धिक भनिने मानिसहरूले आफ्नो बोल्ने क्रममा खुब चर्चा-परिचर्चा गरेको सुनियो जुन आवश्यकताभन्दा ज्यादै जसलाई राम्रोसँग पाठकहरूले नाम नै सुनेका थिए न त राम्रो अध्ययन नै गरेको।

कुमारका लेख र पुस्तकहरू देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कतिपय भाषामा अनुवाद गरेर बाहिर आउने गर्दथे।

कुमारको देशभित्र पनि लाखौं लाख सबै तहतप्काका र वर्गका पाठकहरू उनको अब्बल खारिएका लेखको पारखीहरू थिए।

तैपनि उनको नाम पुरस्कृत हुनेमा कतै पनि आउन सकेन। कुमार आफैंमा पुरस्कार र सम्मानको लागि सम्झौता गर्दैन्थे। यसैले पनि उसलाई धेरैजसो कार्यक्रममा देखिंदैन पनि थिए। उनको पाठक र भिडले यो बारेमा ठूलो नै विरोध जनाए।

भिडलाई आयोजक संस्थाले गल्ती महसुस गर्दै माफी माग्यो, ‘तपाईंहरू शान्त रहनुहोला। हामीले यो विषयमा गम्भीर छौं। आउने दिनमा सुधार हुनेछ।’

भिड शान्त भयो। यसपछि अतिथिहरू बिच खासखुस नै चल्यो। एकजनाले साउती मार्दै सोध्यो, ‘साँच्चै कुमार कताका समर्थक हुन्। तपाईहरू कसैलाई थाहा होला नि?’

अर्काले पनि उत्तर दिंदै भन्यो, ‘आ कता न कताको समर्थक होलान् नि। नत्र पुरस्कार र सम्मान थाप्नेमा नाम आउँथे त।’

होहो भन्दै सबै यो विषयमा चुपचाप बसे।

  ५) डर

टेन .जि.आर गोर्खा पल्टनमा भर्ती भएर गोर्खा मेजरसम्म पुगेर पेन्सन निस्किन पुगे। आफ्नो मातृभूमिमा केही वर्ष बिताए पनि परिवारको इच्छा र चाहना बेलायततिर नै जाने भएपछि म बुढो पनि जानै पर्‍यो र यतै बेलायततिर आउन पुगे।

घरमै मात्र बस्न दिक्क लागेर यसो बाहिर घुम्न लन्डन व्रिजतिर निस्किएको थिएँ। त्यो बेला कसैले मलाई चिनेझैं बोलायो, ‘हल्लो, मेजर धनबाडुर हैना टिमी। तिमी ट अझै उस्टै रहेछौं।’

यसो हेरेको त मेरो पुरानो ऊ बेलाको अफिसर जोसेफ रहेछ।

केही भलाकुसारीपछि उसले आफ्नो घरमा बोलाए। केही दिनपछि म उनको घरमा पुगें। दुईतले सानो चिटिक्कको घर रहेछ। हल्का हिउँ परेको हुनाले मौसम केही चिसो चिसो नै थियो।

दुईतले घर। बगैंचाको गमलामा थरीथरीका सुन्दर फूलहरू।

पार्क गरेर गेटमा रहेको घन्टीको स्विच थिचें। म्याडम सोफियाबाहिर निस्केर गेट खोल्दै स्वागत गरिन्।

जोसेफ आफ्नै कोठामा पढाइमा नै व्यस्त रहेछन्। म पुगेको हुनाले किताब थन्काएर कुराकानीमा जुटे। हामीले भेटमा पुराना दिन सम्झिदै हल्का वाइन पनि चढायौ।

मैले खुलदुली मेटाउन नै जोसेफलाई नेपालीमा सोधें, ‘साब, यो उमेरमा पनि यति धेरै किन पढ्नुहुन्छ?’

उसले हाँस्दै भन्यो, ‘मेजर धनबाडुर, पढाइले सधैं चनाखो र ऊर्जावान् राख्छ। यसैले जिउँदै कोमामा जान्ने कुनै डर हुँदैन।’

जवाफले छक्क पर्दै सोचें, ‘अहो,साँच्चै खैरेहरूको बुद्धि हैट हामीलाई त केहीको नै डर छैन।अहिलेसम्म कोमामै रहेछौं!’

यसपछि अरू कुरा सोध्ने हिम्मत भएन। कुराकानी सकाएर घर फर्किए।

प्रकाशित: १० आश्विन २०७९ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App