४ वैशाख २०८१ मंगलबार
कला

डा.चमा थुलुङका नाचीनाची बेसारा र युम्पी एकैसाथ लोकार्पण

साहित्यकार डा.चमा थुलुङ (सुकराज राई) का ‘नाचीनाची बेसारा’ बालकवितासंग्रह र ‘युम्पी’ गीतिकाव्यको कोटेश्वरस्थित सुम्निमा हलमा लोकार्पण भएको छ। डा. थुलुङका ‘युम्पी’ र ‘नाची नाची बेसारा’ को कार्यक्रमका प्रमुख अतिथि प्राडा गोपिन्द्र पौडेल, विशेष अतिथि प्राडा विष्णु राई, प्राडा नारायणप्रसाद गड्तौला, डा यादेवी ढकालले एकैसाथ लोकार्पण गरेका थिए।

बालकवितासंग्रह नाचीनाची बेसाराबारे बालसमीक्षक सोइना दाहाल र साहित्यकार डा. यादेवी ढकालले बोलेका थिए।

बालसमीक्षक सोइना दाहालले बालकविताहरूले बालबालिकाहरूलाई इमानदार, जागरूक र सच्चरित्र बन्न अभिप्रेरित गर्ने बताइन्।

साहित्यकार डा. यादेवी ढकालले बालकविताले ग्रामीण बालजीवनको झल्को दिएको बताइन्।

साहित्यकार प्राडा विष्णु राईले भने, ‘हामी भौतिकवादी चिन्तनमा लागेका छौं। किताब पढ्दैनौ, फेसबुक पब्जीमा रमाउँछौं। पठन संस्कार ह्वात्तै घटेको छ। यस्तो अवस्थामा लोकार्पित यस्ता कृति पढाएर नानीहरूलाई कर्मयोगी बनाउनुपर्छ।’

प्राडा नारायणप्रसाद गड्तौलाले युम्पी गीतिकाव्यमा स्वस्फूर्त रूपमा दर्शन समावेश भएको बताए।

प्रमुख अतिथि प्राडा गोपिन्द्र पौडेलले गीतिकाव्यमा लोकजीवन, सामाजिक, आर्थिक, सांस्कृतिक पक्षका साथै विशेषत थुलुङ राईहरूको सांस्कृतिक जीवन घनीभूत रूपमा देखाइएको बताए।

प्रमुख अतिथि गोपिन्द्र पौडेलले पानस बालेर उदघाटन गरेको कार्यक्रममा तीनधारे सरोकार समाज, काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा रामकुमार थुलुङको अध्यक्षता, डि.अनुरागी (ध्वनध्वज राई)को स्वागत मन्तव्य र डा.पुरण राईको सञ्चालन रहेको थियो।

युम्पी गीतिकाव्यको प्रकाशन डि.अनुरागी र नाचीनाची बेसारा बालकवितासंग्रह प्रकाशन लेखककै दुई छोरी सोनुस्वर्णिम राई र सौदामिनी सुर्मा राई गरेका थिए।

प्रकाशित: ९ आश्विन २०७९ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App