युवराज रोइला
विवाह एक पवित्र बन्धन हो। जसलाई सांस्कृतिक र प्रायः कानुनी मान्यता प्राप्त व्यक्तिहरूको मिलन पनि भनिन्छ। विवाहले श्रीमान् र श्रीमतीलाई सधैंसधैंका निम्ति एक ठाउँमा जोड्छ। जसले श्रीमान् र श्रीमती एक-अर्काका परिवार बिचमा माया-स्नेहका साथसाथै अधिकार र दायित्व पनि स्थापना गरेको हुन्छ।
अझ भनौं हाम्रो नेपाली समाजमा विवाहलाई एक रथका दुई पांग्राका रूपमा पनि चित्रण गर्ने चलन छ। हाम्रो नेपाली संस्कृतिमा विवाहअघिका सबै क्रियाकलाप वर्जित मानिन्छ। विवाह प्रायः आमाबाबुको छनौट र व्यक्तिगत इच्छाबाट प्रभावित भएको हुन्छ।
सामान्यतया मानिस वैवाहिक जीवनमा बाँधिनुअघि विवाहलाई लिएर ऊभित्र अनेक विचारको बिजारोपण हुने गर्छन्।
मूलतः महिला तथा पुरुषहरूमा आफ्नो जीवनसाथी आफूले भने जस्तै होस्, जीवन जिउन सहजता प्रदान गरोस् र जीवनका हरेक दुःखसुखका अनेक मार्गमा सारथी बनोस् आदि इच्छा हुन्छन्। यी संसारका प्रत्येक प्राणीको विशेषता नै हो। अन्ततः मानिस विवाह बन्धनमा बाँधिन पुग्छन्।
यस्तै-यस्तै मानवीय स्वभावको बिजारोपणले हामीलाई पनि चोखो राख्न सकेन। हामी एक-अर्का बिचको असल जीवनसाथीको खोजीको तिरले हामी दुवैलाई घायल बनाएर छाड्यो।
हामी दुवै दिनहुँजसो समाजमा हुने सम्बन्ध-विच्छेद, बालविवाह, आत्महत्या, घरेलु हिंसा लगायत विषयमा जानकार थियौं। जसले हामीलाई नराम्रो प्रभाव पारेको थियो। समाजमा हामीले एक-अर्कालाई बुझ्न सात वर्ष खर्चियौं। उमेरको परिपक्वतासँगै हामीले सबल र सक्षम जीवनयापनमा ध्यान दियौं। जसको प्राप्तिका निम्ति मेहनत गयौं।
अन्तत: हामी औपचारिक विवाह बन्धनमा पुग्यौं। हामी दुवैले सात वर्षसम्म एक-अर्कालाई बुझेर, असल र खराब बानीव्यवहार केलाएर विवाह गर्दा अहिले हामीलाई जिउन सहज भएको छ। हामीसँगै दुवैको परिवार बिच पारस्परिक सम्बन्ध स्थापित छ। हामीले त एक-अर्कालाई छान्यौं र बुझ्यौं जसको फलस्वरूप बालविवाह, सम्बन्ध-विच्छेद र घरेलु हिंसा रोक्नमा एक ईटा थप्न सफल भयौं। अब पालो तपाई व्याचलर युवाहरूको हो।
अन्ततः श्रीमतीजीलाई हाम्रो पहिलो विवाह वार्षिक उत्सवको अनगिन्ती शुभकामना (ह्याप्पी फस्ट म्यारिज यनिभर्सरी प्रिया)!
प्रकाशित: २ आश्विन २०७९ ०६:३८ आइतबार