महाभारतमा विभिन्न किसिमका झैझगडा हुनु त स्वाभाविकै हो। तीमध्ये आफूलाई धेरै नै दुःख दिइरहेका दुर्योधनलाई पाण्डवले ठूलो आपद्बाट मुक्त गरी बचाइ दिएको एउटा घटनाको प्रसंग यहाँ उल्लेख गरेको छु।
दुर्योधन कतिसम्म दुष्ट र धूर्त छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो। साँच्चै भन्ने हो भने दुर्योधनको स्वभाव जन्मजातै दुष्ट हो। उसको दुष्टता र धूर्तताबारे जोकोहीलाई पनि थाहा नभएको भन्ने नै छैन, सबैलाई यथार्थ थाहा छ। आफ्नो स्वार्थपूर्तिका लागि उसले जस्तोसुकै कर्म गर्न पनि पछि पर्दैन। एकपटक ऊ कर्ण, शकुनी र दुशासनसँगै गाई निरीक्षण गर्ने बहानामा द्वैत वनमा गयो। पाण्डवलाई दुःख दिने र जतिसक्यो उति सास्ती दिने उद्देश्यले द्वैत वनमा गएको रहेछ।
पाण्डव द्वैत वनमा वनबासको समय कटाउन बसिरहेका थिए। उही समयमा युधिष्ठिर यज्ञ गरिरहेका थिए। देवताका राजा इन्द्रलाई के लाग्यो भने दुर्योधन त्यत्तिकै द्वैत वनमा गएको होइन। दुर्योधन राम्रो नियतका मान्छे हुँदै होइन। उसको चालढाल ठीक छैन। ऊ खराब नियतले गइरहेको छ भन्ने कुरा इन्द्रलाई लाग्यो। अनि इन्द्रले दुर्योधनलाई ठीक गर्नुपर्यो भनी चित्रसेन नामक सेवक गन्धर्वलाई आदेश दिई भने-‘जाऊ त्यो दुष्ट दुर्योधनलाई पाता कसेर यहाँ ल्याऊ।’
इन्द्रको आदेश पाउनेबित्तिकै चित्रसेन द्वैत वनमा दुर्योधनलाई खोज्न गयो। दुर्योधनसँगै कर्ण, दुशासन र शकुनीजस्ता नामी महायोद्धा र वीर सैनिकहरू पनि आएका रहेछन्। साथै सैनिकहरूको संख्या पनि धेरै रहेछ। त्यसैले दुर्योधनले चित्रसेनलाई देखेर डराउनुपर्ने कारण थिएन। चित्रसेनको हाँकको प्रतिकार गर्न र युद्ध गर्न पनि दुर्योधन तयार भयो। दुवै पक्षको बीचमा घमासान युद्ध भयो। अन्त्यमा पराक्रमी चित्रसेनले दुर्योधनलाई हराई दियो। अनि चित्रसेनले दुर्योधन र उसका साथीहरू सबैलाई पाता कसेर लग्यो।
दुर्योधनका एक जना बुढा मन्त्री भने कुनै तवरले आफ्नो ज्यान बचाएर भागेका रहेछन्। त्यहीं नजिकै पाण्डवहरू छन् भन्ने कुरा पत्ता लगाएर खोज्दै खोज्दै त्यो बुढा मन्त्री त्यहीं पुगेछन्। उनले युधिष्ठिरलाई सम्पूर्ण हालखबर बताएर विन्तीभाउ गर्दै भन्न थाले-‘प्रभु, दुर्योधन दुष्ट भए तापनि ऊ हजुरकै भाइ हो। हजुरहरू इन्द्रसँग पनि लड्न सक्ने र हजुरहरूसँग त्यति धेरै शक्ति छ, सामर्थ्य छ। हजुरहरूले चित्रसेनको हातबाट दुर्योधनलाई मुक्त गरेर बचाइदिनुपर्यो। हजुरहरूले नछोडाएमा एउटा कलङ्क हजुरहरूलाई लाग्ने हुन्छ। त्यो के हो भने शक्तिशाली भएर पनि पाण्डवले आफ्नो कुलका दुर्योधनलाई आपद् भएको समयमा वास्ता गरेनन्, तमासा मात्र हेरेर बसे भनी लोकले भन्ने छ। लोकलाजका लागि भए पनि हजुरले दुर्योधनलाई मुक्त गर्नुपर्यो। यसले हजुरकै यश कीर्ति बढ्ने हो।’
युधिष्ठिर पनि जानिफकार नै हुन्। धर्म, कर्म, ज्ञानगुणका कुरा सबै जानेका छन्। युधिष्ठिरलाई धर्मराजको रूप पनि हो भनिन्छ। त्यो बुढो मन्त्रीको यस्तो कुरा सुनेपछि युधिष्ठिर पनि चुप लागेर बस्न सकेनन्। उनले आफ्ना भाइहरूलाई तत्कालै बोलाएर दुर्योधनका मन्त्रीले ल्याएको खबर सबै सुनाए। अनि युधिष्ठिरले दुर्योधनलाई रक्षा गर्न शस्त्रअस्त्र सबै हतियार लिई तुरुन्त जान आदेश दिँदै चित्रसेनको हातबाट दुर्योधनलाई मुक्त गर्नुपर्यो भन्छन्।
उनका मन्त्री हाम्रो शरणमा आएकाले शरणको मरण गर्नुहुँदैन। शरणमा आएकालाई रक्षा गर्नु र उसको अनुरोधलाई पूरा गर्नु हाम्रो कर्तव्य हो। शत्रुको रक्षा गर्नु पनि ठूलो महिमा हो। शत्रुको रक्षा गर्दा राज्य प्राप्ति, पुत्र प्राप्ति र धन धान्य, ऐश्वर्य पनि प्राप्त हुन्छ। म यज्ञ गरेर नबसेको भए म आफै जाने थिएँ। तुरुन्तै गएर दुर्योधनलाई चित्रसेनबाट मुक्त गर भनी युधिष्ठिरले आदेश दिन्छन्। भीमसेनले दुर्योधनको दुष्टताबारेमा केही भन्न खोज्दा युधिष्ठिरले रोकिदिन्छन्। साथै भीमसेनलाई चित्रसेन गन्धर्वलाई सम्झाइबुझाई गर्नुपर्ने र सम्झाएर पनि नमाने आफ्नो बल र पराक्रमले दुर्योधनलाई मुक्त गर्नुपर्ने कुरा पनि सम्झाउँछन्।
यसरी युधिष्ठिरको आज्ञाले भीम, अर्जुन, नकुल र सहदेव आफ्ना दाजुको आज्ञापालन गर्न जान्छन्। सम्झाइबुझाइ गर्दा पनि नमाने चित्रसेन गन्धर्वको रगत बगाउने प्रतिज्ञा अर्जुनले गर्छन्। अर्जुनको प्रतिज्ञा सुनेर दुर्योधनका बुढा मन्त्रीले सन्तोषको सास लिन्छन्। आफ्ना राजा मुक्त हुने आशा उनको मनमा पलाउँछ। अर्जुनको प्रतिज्ञा कति बलियो र सशक्त छ अनि उनको शक्ति सामथ्र्य कतिसम्म छ भन्ने कुरा उनले बुझेका रहेछन्।
चारै जना भाइहरू दुर्योधनको मुक्तिका लागि जान्छन्। चित्रसेनलाई भेट्नेबित्तिकै अर्जुनले उनलाई सम्झाइबुझाइ गरेर दुर्योधनलाई छोडाउन प्रयास गर्छन् तर चित्रसेनले एउटै कुरा सुनेनन्। अनि बाध्य भएर अर्जुनले चित्रसेनसँग युद्ध गर्छन्। अर्जुनको पराक्रमको सामु चित्रसेनको केही सिप लाग्दैन। चित्रसेन पराजित हुन्छन्।
अन्तिममा अर्जुनबाट पराजित भएका चित्रसेनले आफ्नो परिचय दिँदै दुर्योधनलाई बन्दी गर्नुपर्ने कारण इन्द्रको इच्छा हो भन्ने कुराको पनि अवगत गराउँछन्। यो कुरा सुनेर चारै जना भाइ अचम्मित हुन्छन्। उनीहरूले दुर्योधन र चित्रसेन लगायत सबैलाई युधिष्ठिर कहाँ लान्छन्। युधिष्ठिरले दुर्योधनका सबै कर्तुत सुन्छन्। आफूलाई दुःख कष्ट दिन नै दुर्योधन आएको रहेछ भन्ने कुरा पनि युधिष्ठिरलाई स्पष्ट भयो। तैपनि स्नेहपूर्वक दुर्योधन र उसका साथीहरूलाई पनि मुक्त गरिदिन्छन्। अनि घर जाउ भन्दै पीठमा थपथपाउँदै पठाउँछन्। यसरी युधिष्ठिरले दुर्योधनलाई लज्जित हुनबाट बचाएर पठाउँछन् ।
प्रकाशित: १ आश्विन २०७९ ०४:०७ शनिबार