११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

सडक बालिका

कविता

अनुका पुलामी मगर

म काँचो माटोको डल्ला हुँ

आकार कसले कुन रूपले देला

सोचिरहेछु,

जन्म कस्ले दियो?

के हो नाम, थर र ठेगाना!

जब मलाई थाह भयो,म मानव हुँ

त्यस घडी म सडकमा उभिएकी थिएँ

मलाई सबैले खाते पुकारिन्थ्यो

फोहोरको थुप्रामा खानेकुरा खोज्दै गर्दा

कर्के नजर लाउँथे आतेजातेहरू

एकनासले मेरो दिनचर्या चलिरहन्थ्यो!

प्रकृतिले जन्मिदै दिएको

कहिले नफाटिने नाना थियो

आवरण जीर्ण र धुजाधुजा

चर्को घाम अनि दर्कने पानीमा ओत लाग्ने

त्यही खुला आकाश थियो छाना,

सडक नै मेरो महल

सडक नै मेरो जिन्दगी!

म आफ्नो एक पेट पाल्न

सयौंको गाली र खाते नामले

पुकारिनुपर्ने मेरो बाध्यता

पेटकै लागि गर्नु थियो यतिका दुःख!

यिनलाई खानपिउन नदिई

थिएन मलाई सुख!

जबसम्म मेरो आवश्यकता

खाना अनि नाना मात्र थियो

त्यतिबेला केही थिएन डरसंकोच

बिस्तारैबिस्तारै ममा देखिन थाले

किशोरीपनको परिवर्तन

अफसोस!

घिनलाग्दा ब्वाँसो र स्यालका

नजर पर्न थाले ममाथि

हेरिन थाले कुदृष्टिले

बिस्तारै मेरो यौवनमा

गाडिन थाले गिद्धे नजर!

म निराहार पेट लिएर सुतिरहेकी हुन्छु

विडम्बना,

गिद्धे नजर मतिर पर्छ

अनि म बलात्कृत हुन्छु!

असह्य पीडाले म छटपटाउन पुग्छु

दुर्भाग्यवश,

मेरो इज्जत लिलामी हुन्छ

इज्जत नै कहाँ थियो र

सबैको नियतमा अलच्छिनी खाते थिएँ!

आजसम्म बँचाएर राखेको

कुमारीपनको इज्जत पनि बाँकी रहेन

मानवता हराएको बिरानो शहरमा

किन भयो होला मेरो उदय?

अर्थहीन र लाचार जिन्दगीको के अर्थ?

खोई,कुन आकार पाएँ मैले?

मान्छे र कानुनको बिचको के सम्बन्ध छ?

पशु र विवेकी भनिएका मानिसमा

के फरक रह्यो?

यस्तैयस्तै यावत् थोक सम्झेर

निस्पट्ट अन्धकारमा म रोइरहेछु

सुँक्क,सुँक्क सुक्क!!

प्रकाशित: २९ भाद्र २०७९ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App