२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

विनास्वार्थ कसैले मन साट्दैन रहेछ

मुक्तक

नवराज पुडासैनी ‘ज्योत्स्ना’

१) मुक्तक

सम्झिइन अरे मैले यो के कस्तो कुरो आयो,

छैन रे यो मनमा माया भने जस्तो कुरो।

आयो बिर्सिनै पो भ्याको छैन सम्झनु म कसो गरी,

सित्तै देको भएर माया यस्तो सस्तो कुरा आयो।

  २) मुक्तक

विनास्वार्थ कसैले मन साट्दैन रहेछ,

माया भएसम्म दिल पनि फाट्दैन रहेछ।

हवा नचलेसम्म हल्लदैन पात पनि,

पाएसम्म अचानो कर्दले भुईं काट्दैन रहेछ।

 ३) मुक्तक

केही छैन संसारमा कच्चा जिन्दगानी जस्तो,

हावा चल्दै झरिजाने कर्कलाको पानी जस्तो।

मान्छेपिच्छे जिन्दगीको परिभाषा फरक छन्,

मनगढन्ते सिर्जना वा झुठा कुनै कहानी जस्तो।

४) मुक्तक

आफ्नै नियत बेचेर खानेलाई के नियमको कुरा गर्छौ,

आमाको घाँटी थिचेर खानेलाई के नियमको कुरा गर्छौ।

जे पनि गर्दछन् यिनले यहाँ पैसाका लागिमा,

आफ्नै बाटो मिचेर खानेलाई के नियमको कुरा गर्छौ।

   ५) मुक्तक

कसैको तन मात्र राम्रो मन राम्रो हुँदैन,

ज्योत्स्नामय मन हुनेको तन राम्रो हुँदैन।

कयौंचोटि बजारबाट चोखै फर्केको छु म,

राम्राराम्रा माल छन् तर धन राम्रो हुँदैन।

प्रकाशित: २९ भाद्र २०७९ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App