२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘परिणति’को परिणति

समीक्षा

क्याप्शन

परशुराम पराशर

नेपाली नाटक तथा एकांकी विधामा कलम चलाउने फरासिलो व्यक्तित्व समीर पाख्रिनको परिणति नाटक पढ्ने अवसर पाइयो। नाटक विधामा कथानकभन्दा प्रस्तुति प्रखर र प्रस्तुतिभन्दा पात्र प्रखर हुनुपर्ने देखिन्छ। उनको यस परिणति नाटकमा यस्तै प्रखरता पाइन्छ।

यसमा भएको कथानक उत्तम छ। कर्मचारी शिवप्रसादले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाए पनि अन्त्यमा जेल जीवन, जीवनसंगिनीको मृत्यु, जोगीको भेषमा हिंड्नुपर्ने बाध्यता आदिले मानिसलाई कुकर्म गरे के परिणति हुन्छ भन्ने देखाउन कथानक सफल भएको छ।

कथानक सन्देमूलक छ। बाबुले गरेको कर्मको फल छोराछोरीले समेत भोग्नुपर्ने हुनाले आफ्ना अभिभावकलाई भ्रष्टाचारतिर नलाग्न सचेत गराउनुपर्छ भन्ने सन्देश दिन सफल छ। दुई दिनको तडकभडकले मानिसलाई कतिसम्म तल झार्छ भन्ने देखाएको छ। सम्पत्ति मात्र सबै थोक हो भनेर गैरकानुनी रूपमा अवैध सम्पत्ति कमाउँदा भ्रष्टाचारीहरूले व्यहोर्नुपर्ने सजायले मनोबल घटाउने काम गरेको छ। नाटककारले नाटकको उद्देश्य प्रष्ट देखाएका छन्। उनको अभिष्ट पूरा भएको पनि छ। यो नाटक नाटककारको परिपक्व लेखनको द्योतक हो।

नाटकमा कथा अनुसार तरिकाले पात्रचयन सफल गरिएको छ । यसर्थमा पात्र विधानमा पूर्णता छ। स्त्री पात्र, पुरुष पात्र, मुख्य पात्र, सहायक पात्र, गौण पात्र, दृश्य पात्र, नेपथ्थीय पात्र सबैसबै एक अर्काका परिपूरक छन्।

नाटक पूर्णांकी भए पनि यसमा अंकको उल्लेख गरिएको छैन। दृश्यहरू भने सत्तरी ओटा छन्। नाटक मञ्चनयोग्य हुनुपर्छ। नाटकलाई मञ्चन गर्नुपर्छ तर यस नाटकलाई सबै दृश्य एउटै रंगमञ्चमा देखाउन सम्भव हुँदैन। त्यसैले यो पाठ्य नाटक वा टेलीनाटकका लागि तयार पारिएको  सफल नाटक हो भन्न सकिन्छ।

नव सभ्रान्त भनिएका व्यक्तिले बोल्ने लवज आइस्योस्, खाइस्योस् होइसिन्न जस्ता शब्द कमै प्रयोग भएको छ। पात्रले बोल्ने स्थानीय लवजभन्दा पनि लेखकले आफ्नो लवज पात्रमा लादेको भान पर्छ। नाटकमा व्याकरणगत गल्ती कमजोरी निकै छन्। पदसङ्गति नमिलेको स्थान पनि मनग्गे नै छ। पढ्दै जाँदा हलुवामा बालुवाझैं हुन्छ। पात्र रखाइ उपयुक्त भए पनि टंकण गल्तीका कारण होला पृष्ट ४१ को शिवप्रसाद, दृश्य ३१, पृष्ठ ६५ मा शिला हुनुपर्नेमा शिया भएका-यी कमीकमजोरी फ्रुफ हेर्नेको होला तर दोष लेखकलाई नै पर्न जान्छ।

समग्रमा समीर पाख्रिनको परिणति नाटक सशक्त नाटक भएर आएको छ। यहाँबाट धेरै शिक्षा लिन सकिने छ। विशेषतः नेपालमा हुने भ्रष्टाचारको समसामयिक परिवेश नाटकमा आएको हुँदा भ्रष्ट कर्मचारी, नेता उपनेता, मन्त्री सबैलाई सजग रहन गहन सन्देश दिएको छ। पुस्तक पठनीय र संग्रहणीय छ। लेखक आफैंले छापेको यो पुस्तकले लेखकलाई नाटकको उचाइसम्म पुर्‍याओस्, शुभकामना!

प्रकाशित: २७ भाद्र २०७९ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App