२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

लापत्ता तिम्रो शहर

अनुका पुलामी मगर

बेनाम/बेवास्ता/बेअर्थ/बेकामे

कोही तिमी

तिमी छौ त्यही पनि

रहनु र नरहनुमा अर्थ छैन

सम्झना आओस् या नआओस्

सम्झियोस् या बिर्सियोस् बेवास्तामा छौ!

आफ्नै दुनियाँमा बेपत्ता छौ!

तिमी होस् या नहोस्

तिमीसँग जोडिएका केही चिज

जसले झस्काइरहन्छ

नियमविधि पूरा गर्नै भए पनि

विधान मान्नै पर्ने कस्तो चल्ती यो!

न त रित्तो खल्तीमा सम्झन मिल्ने न भरी खल्तीमा

न दुःख-सुख, हाँसो-खुशीमा नै

सामेल गराउन मिल्ने कस्तो चल्ती यो

केही कुरामा तिमी सामेल छैनौ

त्यही पनि तिमीसँग जोडिएका

केही चिजले सम्झन बाध्य गराउँछ?

तिमी होस् या नहोस्

फरक नपर्ने दुनियाँमा पुगिसकेका छौ

तर पनि तिम्रो नामसँगै जोडिरहनुपर्ने

सास फेर्नुअघि घाँटी निमोठिदियौ

हिंड्न थाल्नअघि खुट्टा भाँचिदियौ

जति नै सफलताको शिखर चुमे पनि

तिमीसँगै जोडिनुपर्ने

सौभाग्य या दुर्भाग्य के उपनाम दिऊँ म?

जन्मिनुअघि नै तिमीले

निमोठिदिएर फालेको थियौ!

यतिसम्म

तिमीले आफ्नो परिचय समेत भुलेका थियौ!

कस्तो विडम्बना हो यो

जति नै उम्लेर आए पनि फाल्न नमिल्ने

अरू कोहीसँग सापटी लिएर टाल्न नमिल्ने,

जो कोहीलाई तिम्रो उपनाममा पाल्न नमिल्ने

तिमी फर्किने बाटो

तिमी आफैले बन्द गरेका थियौ

कोही कसैले बार बार्न नमिल्ने!

नेपालको संविधानभन्दा

गहन बनिदियो हाम्रो जीवनको संविधान

सास फेर्दै छौ तिमी

तर यस्तो लाग्छ,

तिम्रो लागि दफन कार्य गरिसके!

बेरोजगारीलाई रोजगार दियौ

बेफुर्सदीलाई पनि फुर्सद दिएर

गफ गर्ने रोजगार दियौ!

थाहा छ, हरगल्तीको माफी हुन्छ

तैपनि जीवनको शब्दकोशबाट

माफीको शब्द लापत्ता छ

अनि तिमी-हामी आफ्नै शहरमा बेपत्ता

तिमी होस् या नहोस् फरक नपर्ने जिन्दगी

चाहना हो या त बाहना

तिमीसँगै जोडिनुपर्ने

कस्तो यो बाध्यता

निराकार/निःशब्द/विवश।

प्रकाशित: २७ भाद्र २०७९ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App