११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

अदालत र अखबार

लघुकथा

१)सेवाग्राही  

‘प्रशस्त पानी पिउनुस् र पिसाब रोकी राख्नुस् है। भिडियो एक्स रे हुँदैछ।’ अस्पतालमा कर्मचारीले आफ्नो ड्युटीको धर्म निर्वाह गरिन्।

पालो पर्खेका बिरामीहरूले पानीका बोतलहरू धमाधम किन्न थाले। जबर्जस्त पानी पिउन थाले। टोकन लिएको पनि एक घण्टा बितिसक्यो। ११ः३० बजे डाक्टर साहेब आउने भनेको १ः० बज्न थालिसक्यो। अझै सवारी भएन। पर्खाइमा व्यग्र बिरामीहरू थप निटेक देखिन थाले। उता मूत्र थैलीमा प्रेसर बढ्न थाल्यो। शान्त मुद्रामा पालो पर्खाइमा रहेका बिरामीहरू अशान्त र अधैर्य देखिन थाले। आआफ्नो शैली र बुझाइमा डाक्टर साहेबको टिप्पणी गर्न थाले।

बिरामी त्यसमाथि पिसाब रोकेर डाक्टरको प्रतीक्षा गर्नु त्यति सहज हैन। टिकट बुकिङ गर्दादेखि नै केही नखाई आउनु भनी उर्दी जारी गरेका थिए। यहाँ भोकको सन्दर्भ ननिकालौं। परीक्षणमा रहेका बिरामीलाई भोकाउन छुट छैन। १ः३० बज्यो अझै डाक्टरको सवारी भएन। दूरदराज गाउँको अस्पतालको कुरा गरेको हैन। राजधानीको सुविधा सम्पन्न अस्पताल। डाक्टर र बिरामीको रोजाइमा पर्ने ए वन अस्पताल।

यत्तिकैमा एकजना युवा जो बिरामीको सहयोगी थिए। जोसिंदै जुरुक्क उठे। अर्काले शान्त पारे,‘जोसिएर नारा लाएर यहाँ केही हुनेवाला छैन। शान्त रहनु।’

ऊ तातिरह्यो,‘किन केही नहुने? बोल्नुपर्छ!’

सबै दृश्य नियालिरहेको अलि भलादमी जस्तो देखिने बिरामीले हाँस्दै शान्त भावमा भने,‘धैर्य भएर पर्खनुको विकल्प छैन। नआतीकन बस्नुस्। हामीकहाँ पदले मानिसलाई विवेकशून्य बनाउँछ। हामी त आखिर सेवाग्राही हुँ!’

   २) टोपी

मेरी नातिनी असाध्य जिद्धीवाल छे। भेट भयो कि प्रश्नका चाङ लगाउँछे। जवाफ दिन बाध्य बनाउँछे। घरिघरि त दिक्क कटाउँछे। तर पनि हजुरबुबा र नातिनीको यो सम्बन्ध विरलै  पाइन्छ। आजकलका बच्चाहरू धेरै कुरा सिकेर जन्मन्छन् क्यारे! ऊ मलाई त्यस्तै लाग्छ।

मैले प्रायः टोपी लगाउँछु। बाजे जिजु बाजेदेखिको परम्परा। सानैदेखि टोपीमा बानी परें। नातिनी भने सायद मेरो शीरमा टोपी देखी सहन्न। हमेसा ऊ मेरै काखमा बसी टोपीमा हमला गरिरहन्छे। कैयौं पटक टोपी लुकाएर दुः ख पनि दिएकी छ। नरेश उसको बुबा भने टोपीमा रुचि राख्दैन।

एकदिन कुरै कुरामा नातिनी र हजुरबुबा बीच सगरमाथाबारे बहस चल्यो। ऊ सगरमाथा नेपाल र नेपालीलाई विश्वमा चिनाउने गर्विलो पहिचान भनी आफ्ना दरिला तर्क पेस गरी। यसो भन्दै गर्दा उसले मेरो शीरबाट टोपी झिकेकै हुन्थी।

ए, बुज्झकी पनि छ। सम्झाउन र बुझाउन सके बुझ्छे भन्ने सोचले उसलाई सम्झाएँ,‘नानू,तिमीले भनेजस्तै सगरमाथा नेपाल र नेपालीलाई विश्वमा चिनाउने गर्विलो पहिचान भएझैं दौरा, सुरुवाल,कोट र टोपी पनि उत्तिकै महत्त्वका छन्। यो नेपालीको राष्ट्रिय पोशाक हो। तब त म टोपी कहिल्यै छोड्दिनँ। यो मेरो शीरको सगरमाथा हो अनि आवश्यकतामा दौरा,सुरुवाल र कोट पनि लगाउँछु।’ ऊ बोधको सङ्केतमा टाउको हल्लाई।

त्यस दिनदेखि उसले मेरो शीरको टोपी जतनले लगाइदिन थाली। नयाँ पुस्तासँगको मेरो सम्बन्ध प्रगाढ बन्न थाल्यो।

  ३) अभिमत

ऊ साइवरको ज्ञाता हो। स्वतन्त्रतामाथिको अतिक्रमण  स्वच्छन्दता उसको प्रवृति हो। एकै ठाउँ कुवाको पानीझैं स्थिर नभएर पहाडबाट हामफाल्ने झरना जस्तो चञ्चल ऊ परम्परामा ढर्रा देख्छ। उसका लागि आँखा अगाडिका परिवर्तन गौण लाग्छन्।

समूह सत्ताभन्दा व्यक्ति सत्ता उसको रोजाइ हो। निजी निर्णयको एकाधिकारवाद उसको अभीष्ट सिद्धान्त हो। सिद्धान्त, अनुभव र ज्ञानभन्दा ऊ तर्कमा विश्वास गर्छ। अरूभन्दा पृथक् हुनु नै उसको मौलिकता हो। समूह वा दल विशेषका मूल्यमान्यताहरू उसका लागि हात्तीका देखाउने दाँत लाग्छन्। वर्तमान समाजसँग छ भने उसको खालि असन्तुष्टि मात्र छ। उसलाई असन्तुष्टिको पुञ्ज भने पनि फरक पर्दैन। ऊ पूँजीवादी लोकतन्त्रको खिलापमा देखिन्छ।

‘मतदान प्रक्रियामा भाग लिनु वा नलिनुमा तात्त्विक अन्तर छैन।’ ऊ यसै भन्ने गर्थ्यो। यी त भए उसका भन्ने कुरा।

निर्वाचनको सर्मागर्मी बढ्यो। शहरका युवाहरू गाउँ फर्किए। दलहरू कार्यकर्ता तताउन थाले। कार्यकर्ताहरू यो वा त्यो कोणबाट पक्षविपक्षमा पैरवी गर्न थाले। भित्री र बाहिरीका खेल राम्रोसँग प्रकट भए। आखिर निर्वाचन हुरी भएर आयो युवाहरू पात भएर पछ्याए।

आफूलाई फरक ठान्ने ऊ बाहिर खासै देखिएन तर निर्वाचनको दिन भने अमूक दलको एजेण्ट बनेर चुरीफुरी गरेको देखियो। मैले आश्चर्य ठान्दै नजिकैको साथीलाई सोधें, ‘के हो उसको पारा?’

साथीले सजिलै जवाफ दियो,‘द्रव्यमा लिलाम भएको बुझ्नुभएन? लोकतन्त्रमा स्वाभिमान सजिलै द्रव्यमा बिक्छ।’

  ४) सानीको सोख

मेरी सानी छोरी मनकी धेरै बाठी छ। आफ्ना कुरामा जिद्दी पनि राख्छे तर मैले यसो हो भनेपछि खुरुक्क मानिहाल्छे पनि।

केही पहिलादेखि ऊ मसँग कुकुरको माग राखेकी छ। यतिसम्म कि आफ्नो जन्म दिनको दिन कुकुरको छाउरा उपहार दिनुपर्छसम्म भन्न भेट्टाई तर मैले खासै मतलब राखिन्।

‘यो कराउँछे छोड्छे।’ उसका मागप्रति मेरो अन्तर्य यही हो। मलाई फेरि कुकुरका डाँगा भनेपछि पटक्कै मन नपर्ने।

छिमेकीहरुले कुकुर पालेको, छाउरा खेलाउँदै हिंडेको देखेकी सानी छोरीको मनोविज्ञानमा के छाप पर्‍यो कुन्नि ऊ सपनामा पनि डेजी र बेला भन्दै कुकुरकै सपना देख्न थाली। ‘यसले अति गर्न थाली एउटा छाउरो त ल्याउनुपयो।’ सानीकी आमा पनि छोरीको मागको सम्बोधनमा ऐक्यबद्धता जनाउन थालिन तर म भने आमाछोरीका कुराप्रति बिलकुलै चासो राखिन् कुकुरको सवालमा।

एकदिन औसत दिनभन्दा अबेर गरी अफिसबाट घर फर्कें। घरमा आइपुग्दा छोरीले होमवर्क सकेर मेरो प्रतीक्षामा बसेकी रहिछ। मलाई देख्नासाथ  एउटा कागजको टुक्रा देखाउँदै बाबा यहाँ सही गर्नुस् भनी  काखमा टाँसिई। पट्याइएको कागजमा के लेखिएको छ थाहा भएन। उसको जबर्जस्तीमा म सही गरिदिएँ।

छोरी खुसीको उन्मादमा खित्का छोडेर हाँसी। सही गरिएको कागजमा लेखिएको रहेछ,‘छोरीको खुसीका लागि मैले छिट्टै कुकुरको छाउरा किनेर ल्याउनेछु।’

आखिर मेरो केही चलेन। सानीको चतुर्‍याइँले  जित्यो। हारेर पनि म प्रसन्न भएँ।

  ५) अदालत र अखबार

‘जुरीले के निर्णय गर्‍यो?’

अनभिज्ञ आफू जानिफकारलाई कौतुहल दृष्टिले प्रश्न गर्‍यो।

बीचमा तेस्रो मान्छे प्याच्च बोल्यो, ‘अदालतका निर्णयहरू आजभोलि लिलाम बढाबढमा हुने गर्छन्। टेन्डरमा हुन्छन्। मोलतोल र भागबण्डामा हुन्छन्। त्यति पनि थाहा छैन?’

अनभिज्ञले फेरि लालबुझक्कडपन देखायो,‘किन अदालत भनेको इन्शान हैन र? सत्यतथ्य, कानुन अनि नजिर हेरेर निर्णय दिने हैन र!’

दोस्रोले थप्यो,‘हजुर कुन जमानामा हुनुहुन्छ यार! अदालतमा न्याय उहिल्यै मरिसक्यो। हजुर जस्ताले न्याय पाउँछु भनेर नसोचेको राम्रो।’ यस कुराले अनभिज्ञलाई पहराबाट खसे जत्तिकै भयो।

उसले वर्षौदेखि थाती रहेको मुद्दा आफ्नो पक्षमा हुने सम्भावना कम देख्यो। ‘न्याय उहिल्यै मरिसक्यो’ भन्ने वाक्यले उसका आशाहरू पनि मरे। पेसीमा भाका सारेको सारै गर्नु पनि राम्रो लक्षण हैनछ। आज उसलाई एकाएक ब्रह्मज्ञान मिल्यो। टेन्डरको होडमा पुग्ने उसको योग्यता पनि छैन।

उसले मनमनै सोच्यो, ‘एउटा म अनि मजस्तै अरू थुप्रैको यस्तै अदालती फैसलाले मन्साउँदै हत्या गरिरहेको छ। न्याय-अन्यायको निरूपण गर्ने तराजु झुण्ड्याएका यी कानुनशालाहरू खतरनाक बधशाला पो रहेछन्।’

वर्षौपछि आज उसको विपक्षमा फैसला भयो। फैसलाले ऊभित्रको निष्ठा र सच्चाइमा एकाएक करेन्ट लागेझैं भयो।

ऊ भुईमा ढल्यो। होस फर्किएन।

उसको मृत्युको खबर छिनभरमै अखबारमा छापियो तर कहिल्यै छापिएन उसका पीडाका अक्षरहरू ...!

प्रकाशित: १८ भाद्र २०७९ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App