१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

महाराजको सहर

अनुभूति

एक वरिष्ठ व्यक्तिले बिहान मनिङवार्क गर्न सधैं घरबाट दुई विदेशी कुकुर लिएर निस्कन्छन्। उनको कुकुर बिहान घरबाट निस्कनेबित्तिकै छिमेकीको भित्ता, ढोका या बीच सडकमा हल्ला हुन्छ। उसको यो दैनिकी नै भइसक्यो। छिमेकीहरू कराउँछन्-महाराज पौडेलजीको कुकुरले मेरै ढोकामा फोहोर गरेछ आज। दिक्कै लागिसक्यो। कति कुकुरको फोहोर सोर्नु।

हिजो पल्लो घरकी दिदीको ढोकामा फोहोर गरेको थियो। आज त यता गरेछ। अलिपर लगेर गराउनुस् भन्दा के गर्नु कुकुरलाई भन्न मिलेन भन्दै आफै तर्किन्छन् कुकुर मालिक। कुकुरको बाहनामा केही भनिहाले। हामी यहाँ बसेको बाजेको पालादेखि सयौं कुकुर पाल्यौं। कसैले हामीसँग विवाद गरेन भन्दै उल्टै जवाफ दिन्छन्।

हरे! मेरो बारीमा लगाएको लसुन शर्माको कुकुरले सबै बरबाद गरिदियो। लगाएको बार पनि लथालिङ्ग पारेछ। कहिले पर्खाल लगाऊँजस्तो भइसक्यो। कहिले विदेशी कुकुरले दुःख दिने त कहिले भुस्याहा कुकुरहरूले। कार्की दिदीको पनि यही गुनासो छ।

यस्ता समस्याहरू धैरैले भोगेका छन्। गुनासो पनि धैरेको नभएको होइन। भुस्याहा कुकुरहरूको कुरै छोडौ, महँगा र राम्रा कुकुर पाल्नेहरूले बिहान बेलुकी घरबाट कुकुरलाई डुलाउने बाहनाले अरूले दुःख पाइरहेका छन्।

कुकुर पाल्ने सोख राख्नु रामो कुुरा हो तर आफ्नो सोखले गर्दा अरूलाई मर्का पार्नुचाहिँ गलत हुन्छ। आफ्नो सोखसँगै आफूले पनि कुकुरप्रतिको संरक्षण, स्याहारसुसार र अनुशासनको पाठ पनि सिक्नु जरुरी छ।

आफ्नो घर, आगनी, पेटीमा चाहिँ फोहोर हुन्छ भन्ने डर। घरभित्र कुकुरले फोहोर गरे आफूलाई घिन लाग्ने तर अरूको ठाउँमा गएर फोहोर गर्दा जो कोहीलाई पनि रिस उठ्नु स्वाभाविक हो।

हुन त आज कुकुरको सोख राख्नेहरूले महँगा कुकुर किनेर उनीहरूका लागि महँगा र राम्रा सामग्रीहरू किनेर उपयोग गर्ने गरेका पनि छन्। सबै कुराको बेवास्ता गर्ने, गाडीमा हालेर हिँड्ने तर फोहोर गर्ने बेला गल्ली, सडकमा छोडिदिने। योचाहिँ धेरै कुकुर मालिकले गर्ने गरेका छन्।

यसको पनि उचित व्यस्ता कुकुर मालिकले गर्न सके निकै राम्रो हुन्थ्यो सायद तर हाम्रो देशमा कुकुर पाल्नेलाई कानुन नभएको भएर यस्ता लापरवाही भएको हुन सक्छ।

विदेशमा सोखले कुकुर पाल्नेहरूले आफ्नो व्यवस्थित तरिकाले पालेको पाइन्छ। हामीले देखेका र सुनेका छौं कि कुकुरहरूको राम्रो हेरचाह गर्ने अनि उनीहरूलाई स्कुलको शिक्षा पनि दिने गरेका पाइन्छ। आफू व्यस्त हुँदा डर्ग केयर सेन्टरमा छोड्नेसम्म गरेको पाइन्छ। बाटोतिर आफ्नो कुकुरले फोहोर गर्‍यो भने पन्जा लगाएर त्यो फोहोरलाई टिपेर निश्चित तोकेको ठाउँमा फाल्ने गरेका हुन्छन् कुकुर मालिकहरूले।

कुकुरलाई सभ्य र अनुशासित ढंगले पाल्नु आफैमा एउटा चुनौती हो। क्यानडाको एक पशुपालन विज्ञ भन्छन्-कुकुरलाई राम्ररी पाल्ने हो भने ऊ मान्छेभन्दा पनि बफादार प्राणी हो। कुकुरले घरको केयर त गर्छ नै, यसले घर मालिकको बफादार भएर काम पनि गर्छ।

प्राणी मात्रमा सर्वोत्कृष्ट प्राणी मानिन्छ कुकुरलाई। तर यहाँ कुकुरलाई सोखका रूपमा त पालिन्छ तर कुकुरलाई अनुशासित बनाउन भने कुकुर मालिकले सकेन, न त बफादार मालिक बन्न नै सके। यहाँ थोरैले मात्र अनुशासित भएर कुकुरहरूलाई पालेको पाइन्छ।

नेपाली भनाइ पनि छ-कुकुरलाई लात्ताले हिकाउनुहुन्न, हेलाँ गनुहुन्न। कुकुरपछि मानिसको चोला पाइन्छ भनेर पनि कुकुरलाई महत्त्वपूर्ण रूपले हेरिन्छ र पूजा पनि गरिन्छ।

धेरै ठाउँमा देखेका पनि छौं कि कुकुरप्रेमीले दिनहुँ ठाउँठाउँमा बसेका बेवारिसे भोकाएका कुकुरलाई खान दिने, कुकुर पनि हरेक दिन खान दिने मालिक आउँछ भन्ने थाहा पाएपछि एकजुट र सभ्य भएर बस्ने गरेका छन्। सिंहदरबार, माइतीघर, अनामनगरमा यी दृश्यहरूको आकर्षण पनि देखिन्छ।

कोटेश्वरमा एक दिदीले बिहान बेलुकी नै कुकुरलाई खाना बनाएर खान दिने गरेकी छिन्। दैनिक बिहान र बेलुका करिब आठ कुकुरलाई नियमित खुवाउने गछिन्। उनी भन्छिन्, ‘माया लाग्छ। बिचराहरू खान पाउँदैनन्। अरूको भरमा बस्नुपर्छ। मान्छे भए चोरेर पनि खान्थे तर पशु पर्‍यो के गर्नु। पुग्न त कहाँ पुग्छ र, तर मैले सकुन्जेल खान दिन्छु। यस्ता कुकुरपे्रमीहरू धेरै छन्। कुकुरप्रति गरिएको यो पे्रम सराहनीय छ। आज मान्छेले मान्छेलाई सेवाभावले हेर्न छोडिसके तर एउटा बेवारिसे भोको पशुलाई खान दिनु सानो कुरा भने होइन।’

यहाँ यतिसम्म गर्छन् कि मान्छेहरूले रहरले कुकुरहरू पाल्छन् अनि कुकुर बिरामी हुन्छ या मर्छ। नदेख्ने गरी बाटोमा लगेर छोडिदिन्छन्। सडकमा बेवारिसे भएर फोहोर झिँगाहरू उडिरहेका हुन्छन्।  

कुकुर पाल्नेहरूलाई पनि नियम र कानुन बनाइनुपर्छ भने बाटाभरि छरिएका कुकुरलाई के कसरी नियन्त्रण गर्ने अनि यस्ता पशुहरूलाई कसरी नियन्त्रणमा लिने। बर्सैपिच्छे बेवारिसे कुकुरहरूले सन्तान उत्पादन गरेर लथालिङ्ग भइरहेका कुकुरलाई के गर्दा राम्रो हुन्छ भन्ने कुराहरूप्रति सम्बन्धित निकायले गम्भीर रूपले चासो लिनुपर्छ। कुकुर पाल्ने मालिकहरूले चाहिँ व्यवस्थित र अनुशासित भएर कुकुर पाल्नुपर्छ।

एक करोडको जुत्ता पनि खुट्टामा नै लगाउने हो। सय रूपैयाँको जुत्ता पनि खुट्टामा नै लगाउने हो। पाल्तु कुकुरलाई घरभित्र फोहोर गनुहुन्न भन्ने शिक्षा दिने, बाहिरचाहिँ जे गरे पनि हुने कस्तो अचम्म।  

सामाजिक व्यवहारको कतिपय पाटालाई खोतलेर हेर्न पनि सक्दैनौँ, गहिराइमा पुग्न पनि सक्दैनौँ। हामी अरूको आलोचना गर्न सजिलै सक्छौँ तर समर्थन गर्न सक्दैनौँ। हामी कानुनमा बाँधिनुभन्दा पनि आफू स्वयम् नै सभ्य बनेर परिस्थितिलाई परिमार्जन गर्न जरुरी छ।

समाजमा आफू कुुन हदसम्म रहेर काम गर्ने, आफूले गरेको कार्यले गर्दा कतै अरूले दुुःख त पाइरहेका छैनन्, या आफूले सोखले पाल्दा कतै सामाजिक दुराचार भएको छैन। यस्ता कुराहरू सोच्नु जरुरी छ। पशुपालनलाई ध्यानपूर्वक नीति र नियममा पाल्न सक्नुपर्छ। सभ्य नागरिकको परिचय दिऔं र महाराजाको पहिचान बनाऔं।

प्रकाशित: १८ भाद्र २०७९ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App