११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

वास्तविक समाजको ऐना: ऋतु फेरिंदै जान्छ

समीक्षा

सुशीला प्रधानाङ्ग

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ एकजना सशक्त कथाकार हुन भन्नु पर्दा म आफैंलाई पनि गर्व  लाग्छ। म उसलाई हृदयदेखि नै भाइ मान्छु। हामी बिचको दिदीभाइको स्नेही नाताले पनि म खुसी हुनुपर्छ र खुसी छु पनि। यसरी भन्न सक्ने अवसर पनि मलाई यही सुनौलो समयले जुराइदिएको हुनसक्छ।

यो कथासंग्रह प्रकाशित हुनुभन्दा पहिले ‘कौशिकी’ साहित्यिक पत्रिकाबाट उनका प्रतिनिधि कथाहरू प्रकाशित गरिएको थियो। उक्त कथासंग्रहभित्र रहेका सबै कथा मैले पढ्ने अवसर पाएँ। सम्पूर्ण कथा पढिसकेपछि मलाई  जीवन्त ती कथाहरूबारे केही लेख्ने चाहना जाग्यो र मनले बुझेका कथाहरूको भावनालाई समेटेर केही उद्गारलाई अक्षरको रूप दिने कोसिस गरिसकेकी थिएँ। पुनः सरित् भाइको नौलो अथवा नयाँ कथासंग्रह ‘ऋतु फेरिंदै जान्छ’ मेरो हातमा परेको छ। मलाई कथाहरू पढ्न असाध्य मन लाग्छ। सो कथासंग्रहलाई पनि मैले आद्योपान्त पढें। पढिसकेपछि ती कथाहरूले मेरा मनमा विभिन्न थरिका भाव लहराइदियो। ती भावनाका लहरहरूलाई मैले त्यत्तिकै मनको कुनामै थन्काएर राख्न मन लागेन।

तसर्थ ती भावहरूलाई एकत्रित गरेर केही आफ्ना अभिव्यक्तिहरू व्यक्त गर्न मन लाग्यो। त्यसैले जमर्को गर्दैछु है-‘सरित् भाइ एकजना अत्यन्त शालीन र सयंम अनि भावुक कथाकार हुन्। उनका कथाहरूले यही प्रमाणित गर्दछ। उनी समसामयिक कथाकार पनि हुन्। रत्न पुस्तक भण्डारले २०७४ सालमा प्रकाशित गरेको यो कथासंग्रहमा पचिसवटा कथा छन्। कुनै पनि कृतिको आफ्नै शैली,भाव,विचार र बिम्बहरू हुन्छन्। समीक्षक अथवा समालोचकले ती सबैलाई विशेष ढंगले प्रस्तुत गर्न सक्नु नै कृतिको सम्मान गरेको ठहर हुन्छ।’

त्यसो त कृतिप्रति पाठकको प्रतिक्रिया समालोचक र समीक्षकहरूको बुझाइ र दृष्टिकोण फरकफरक हुनसक्छ तर अन्तमा सारांश एउटै हुन जान्छ। हामीले कृतिको अध्ययन गरिरहँदा त्यो सँगसँगै कृतिकारको छवि पनि आउने गर्छ। यो स्वाभाविक पनि होला। मलाई यतिबेला यस्तै भइरहेको छ। तैपनि कृतिकारको छवि एकातिर पन्छाएर मैले मात्र कृतितिर केन्द्रित हुने कोसिस गर्दैछु।

२०३५ सालमा कवितामार्फत साहित्यमा पाइला टेकेका सरितले अहिलेसम्म थुपै कविता, कथा, उपन्यास,संस्मरण, गीत, गजल  र अनुभूति लगायतका विधाहरूमा कलम चलाइरहेको देखिन्छ। हालसम्म प्रकाशित भएका उनका सातवटा कृतिमध्ये चारवटा कृति कथा विधाका भएका हुनाले पनि उनलाई ‘कथा पुरुष’ को उपाधि दिनु मलाई उपयुक्त लाग्यो।

एउटा अन्तरक्रिया कार्यक्रममा उनले कथा लेख्नु मेरो रुचि हो पनि भनेका छन्। उनका कथाहरूमा कतै मानव सभ्यताको कारुणिक गाथाहरू छन्। कतै सुखान्त परिवेशहरूलाई समेटेको छ।

‘ऋतु फेरिंदै जान्छ’ कथासंग्रहमा धेरैजसो कथा जनयुद्ध र जनआन्दोलनको समयमा हरेक घटना परिघटना र परिवेशहरूलाई जस्ताको तस्तै टपक्क टिपेर विषयवस्तु बनाइएको छ। यसलाई कथाकारको विशेषता हो भन्नुपर्दछ। यस कथासंग्रहमा २५ कथा छन्।

‘ऋतु फेरिंदै जान्छ’ कथासंग्रह

यस कथासंग्रहको पहिलो कथा हो ‘हाँगाबाट खसेका पहेंला पातहरू’। यस कथाको शीर्षकले नै कथा बोलेको छ। मेरो भनाइको तात्पर्य हो हाँगा सिङ्गो समाज हो र पहेंला पातहरू भनेका यस समाजमा रहेका निमुखा र गरिब मानिसहरू जसको जीवन अत्यन्त पीडादायी र मार्मिक रहेको हुन्छ।

ती सबै दृश्य देखेर एकजना पत्रकारको मन छियाछिया हुन्छ। उसले यस समाजमा देखेका घातक प्रवृत्तिहरूलाई निर्मूल पार्ने सोच राख्छ र त्यस प्रवृत्तिविरुद्ध कर्तव्यनिष्ठ र इमानदार पत्रकारहरूले गर्नुपर्ने कर्मको पालना गरेको हुन्छ। त्यसैको फलस्वरूप ती कुप्रवृत्तिका अपराधीहरूले उसलाई घाइते बनाइदिएका हुन्छन्।

यसो हुँदा पनि उसले हार मान्दैन र ती गलत प्रवृत्तिहरूको विरुद्ध निरन्तर आवाज उठाइरहने दायित्व आफ्नी पत्नी पुष्पालाई पूरा गर्ने  वाचा गराउँछ। पुष्पाले पनि त्यस्तो मरणासन्न अवस्थामा पुग्दा पनि आफ्नो जीवन साथीको मानवताप्रतिको निष्ठा देखेर पुष्करप्रति तिनको इज्जत झन् बढेको हुन्छ।

अर्को कथा छ ‘ऋतु फेरिंदै जान्छ’। यो कथाको शीर्षकलाई नै कथासंग्रहको नामकरण गरिएको छ। शीर्षकमा नयाँपन छ। कथासंग्रहलाई यस शीर्षकले ओजिलो बनाएको छ। समाजमा भइरहेको दलितप्रतिको भेदभावलाई अत्यन्त जीवन्त कथा सिर्जना गरेको छ।

हाम्रो समाजमा सदियौंदेखि विद्यमान छुवाछुतको कुुसंस्कारले ग्रस्त पारेका घटनाहरू आज पनि पटकपटक दोहोरिरहन्छन्। जसरी ऋतु आफ्नो समय अनुसार फेरिंदै जान्छ। त्यसरी नै मानिसहरूको सुषुप्त अवस्थामा रहेका चेतनाहरू जागृत हुँदै आउँछन्। यो प्रकृतिको नियम हो। जसलाई कसैले पनि नकार्न सक्दैनन्।

‘अँध्यारोमा उज्यालो खोज्दै’ कथा जनयुद्धकालीन हो। देश र जनताका लागि होमिएका कमरेडहरूलाई त्यतिबेलाको सरकारले खोजीखोजी हत्या गर्ने अभियान नै चलाएको  थिए।

आफ्नो घरपरिवारलाई त्यागी देशमा गणतन्त्रको स्थापना गर्न आफ्नो जीवनको बलिदान गर्ने उद्देश्य बोकेर हिंडेका कमरेडहरूलाई पाइलापाइलामा खतरा थियो। सञ्चार सम्प्रेषण गर्न उनीहरू रातको अँध्यारोमा हिंड्ने गर्थे। बस् यो कथा त्यही परिवेश हो। रातमा हिंडने मानिसहरूले विक्षिप्त भएर हिंड्नुपर्दछ भन्ने कुरा कथाकारले सजीव रूपमा वर्णन गरेको छ।

उक्त कथालाई पढ्दासम्म पाठकको मन पनि अवश्य झस्किन्छ होला। त्यसरी नै अर्को कथा छ,कर्फ्यु लागेको साँझमा’

यस कथामा देशमा कर्फ्यु लाग्दा जनताको हुने बिजोग र दुर्दशालाई राम्रोसँग दृश्य र संवादको रूपमा तयार पारिएको छ। एकताका हाम्रो  नेपालमा पनि नेपाली जनताले दिनहुँ भनेजस्तै नेपाल बन्द र कर्फ्यु जस्तो भयावह समस्याको सामना गर्नुपरेको थियो।

नेपाल बन्दमा विरोधीहरूले जुलुुस प्रदर्शन ढुङ्गामुढा गर्ने गर्छन्। राज्यबाट आन्दोलन दबाउन आन्दोलनकारीहरूमाथि अश्रुग्याँस छोड्ने, गोली चलाउने जस्ता जघन्य अपराध गर्ने गर्छन्। त्यतिले पनि आन्दोलनकारीहरूलाई तह लाउन सकेनन् भने कर्फ्यु लगाउँछन्। यस्तो समयमा खाद्य पदार्थको मूल्यले आकाश छोएको हुन्छ। यस्तो प्रत्यक्ष असर दिनदिनै मजदुरी गरेर आफ्नो हातमुख जोड्नुपर्ने गरिब,मजदुर र सर्वहारा वर्गलाई पर्ने गर्छ।

त्यति मात्रै कहाँ हो र? गरिबहरू बिरामी भएको बेला बाध्यताले अस्पताल जाँदा गोलीको गाँस बन्नुपर्ने विडम्बना देखाएको छ। प्रारब्धको बिगुलको कथामा जातीयताको विभेदलाई औल्याएको छ। युगौंदेखि दलित जातिहरूमाथि गरिएका अन्याय र अत्याचार समेटेर सिर्जना गरिएको यो कथा लाग्छ वास्तविक नै हो।

समय परिवर्तनशील छ। यसका साथसाथै कथाको मुख्य पात्रप्रति आएको चेतनालाई कथाकारले अझै विद्रोही ढंगबाट उजागर गरेको भए कथाले नयाँ रूपान्तरणको बाटो पहिल्याउन सक्थ्यो। जे होस्, कथाले विद्रोहको ढोका खोलिदिएकोे छ।

‘जीवनको मूल्य’ कथा अत्यन्त मार्मिक छ। यस कथामा एउटी आमाले सन्तानको जीवन बचाउन आफ्नो जीवनलाई बेच्न तयार हुन्छिन्। आमाले आफ्ना सन्तानप्रतिको ममताको मूल्यको अगाडि आफ्नो जीवनको मूल्यलाई केही पनि नसम्झीकन खुसी खुसी त्याग गर्न सक्दिन्। त्यसैले आमाको ममता अपरम्पार छ भन्ने कुरा यस कथाले पुष्टि गरेको छ।

‘जुलुुस छ दायाँबायाँ’ मा एउटा साधारण मजदुरको कथा छ। जसलाई राज्यमा बेलाबेलामा भइरहने हडताल,जुलुस, जिन्दावाद मुर्दावाद विरोध समर्थकबारे केही जानेको हुँदैन। ऊ मात्र हाकिम साहेबको घरमा काम गथ्र्यो। ऊ गरिब थियो। उसले श्रीमती र छोरालाई पेटभरि भात पनि खुवाउन सक्दैन थियो।

त्यति मात्रै होइन घर फर्कने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीको भिडन्त भइरहेको अवस्थालाई पनि बेवास्ता गर्दै आफ्नो घर पुग्न हतारिएको थियो। उसको भावना र विवशतासँगै अन्य कसैलाई पनि सरोकार थिएन। त्यहीबेला उसलाई सिआइडीको आरोप लगाएर सुरक्षाकर्मीले गोली ठोक्छ।

यसरी एकजना निर्दोषको हत्या हुन्छ। त्यहाँ उसको मात्रै हत्या भएको हुँदैन। त्यो सँगसँगै उसको बाटो हेरेर बसेका परिवारको पनि हत्या भएको सरह नै हुन्छ। कथा दुःखान्तमा समापन गरिएको छ।

‘अनपेक्षित कथामा एउटा मानिसको दुइटा अनुहार र दुइटा चरित्रको व्यवहारको चित्रण गरिएको छ।

उज्यालो घाममा साथीप्रति गरिने व्यवहार अत्यन्त सवेदनशील र जिम्मेवार रहेको देखाएको छ। पुनः त्यही मान्छेलाई अँध्यारो रातमा क्रूर र हिंसक रूपको चित्रण गरिएको छ।

साँच्चै धेरैजसो मानिसको चरित्र उक्त कथाको पात्रको जस्तै हो कि भन्ने पाठकहरूलाई शंका लाग्न सक्छ। यस कथाले त्यस्तो प्रकारका मानिसहरूबाट सचेत बनाउन र सचेत गर्न सहयोग गर्नसक्छ भन्ने मेरो धारणा छ।

‘घामभन्दा उज्यालो’ कथा जनयुद्धको समयको षृष्ठभूमिलाई समेटेर सिर्जना गरिएको छ। कथाकारले अत्यन्त मार्मिक ढंगबाट प्रस्तुत गरेको छ। त्यो परिवेशमा जनताले माओवादीप्रति असाध्य विश्वास गरेको अवस्था थियो। यहाँका जनतालाई न्याय दिने र अत्याचारबाट मुक्त गर्न सक्ने मात्र माओवादीहरू नै हुन् भन्ने धारणा थियो। त्यो समयमा जंगल पसेका माओवादीहरूले जनताको पक्षमा नै आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाइरहेका थिए। कुनै मानिसले घरमा आफ्नी श्रीमती हुँदाहुँदै अर्को श्रीमती ल्यायो भने त्यस्तो मानिसलाई कारबाही गर्थे। कुनै गरिब जनताको खेत बाँझो रह्यो भने उनीहरूलार्ई खेत जोतेर मद्दत गरिदिन्थे। कुनै भ्रष्टाचारीहरूले भ्रष्टाचार गरेको जानकारीको आधारमा त्यतिबेलाको जनसरकारले सिधै सजाय दिन्थ्यो।

यस्तैयस्तै राम्राराम्रा क्रियाकलापहरूबाट प्रभावित भएर जनताका छोराहरू पनि माओवादी बनेर राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्थे। त्यसपछि उनीहरू आफूलाई जनयुद्धको लागि तयार पार्थे। कथा साह्रै राम्रो छ।

‘एउटा कथा लेख्नु छ’ कथामा एउटा इमानदार र लगनशील लेखकको पीडालाई भावनात्मक रूपमा कथाकारले हृदयङ्गम गरी यो कथा सिर्जना गरिएको छ। अहिलेको अवस्थामा यहाँका धेरैजसो पत्रपत्रिका व्यावसायिक भएको र जसरी हुन्छ त्यसरी नै पत्रपत्रिकाहरू अत्यधिक मात्रामा बिकाउने प्रयासमा रहेका हुन्छन्। यहाँ सही र सत्य कुरा लेख्ने लेखकहरूको कहीं कतै पनि मूल्यांकन भएको देखिंदैन।

‘बादल फाट्दै गएपछि’ यस शीर्षकको कथामा एउटी महिलाको संघर्षको कथा छ। तिनी महिलाले आफ्नो आमाबाबाको घरदेखि नै शिक्षा आर्जनको लागि दुःख गर्नुपरेको थियो। विवाहपछि आफ्नो श्रीमानको घरमा श्रीमान् र सासूले तिनलाई गरेका गलत व्यवहारले पीडा भोग्नुपरेको थियो।

अन्ततः त्यस्तो अत्याचार र अन्याय सहेर बस्नुभन्दा सम्बन्धविच्छेद गरेर अघि बढ्नु नै बेस होला। यस्तै मनसाय लिएर तिनले आफ्ना छोराछोरीलाई लिएर सँगै अलग बस्छिन्। यो कथाले हाम्रो समाजमा विद्यमान पुरूष सत्तात्मक संस्कारको चित्रण गरेको छ। यस्तो अवस्थामा हिम्मत गरेर अगाडि बढ्न सकिन्छ भन्ने पीडाभोगी महिलाहरूलाई प्रोत्साहन पनि दिएको छ।

‘यसरी बदलिन्छ रङ’ कथा अलि अलग परिवेश र घटनाको छ। यसमा आजका केही आधुनिक सभ्यतामा चुर्लुम्म डुबेका साथै अहंकारी महिलाहरूको चरित्र र व्यवहारबाट गम्भीर भएर कथाकारले कथा नै बनाएको जस्तै छ।

साँच्चै कथाकारहरूको लागि भावुक मनलाई बिझाउने दृश्य, वचन, माहोल अथवा कुनै संवेदनशील भए पुग्छ। उक्त कथा पनि आजका गलत प्रवृत्तिहरूलाई स्वतन्त्रताको नाममा आफ्नो घरपरिवारलाई तहसनहस पार्न खोज्ने महिलाहरूलाई संकेत गरिएको छ।

‘सपना मनले साँचेको आँखाले देखेको’ यो कथा पनि हाम्रो देशमा जनयुद्धको प्रभाव परेका बेलाको हो। सुरक्षाकर्मीहरूले सुरक्षाको नाममा जनतालाई दिनुसम्म दुःख दिइरहेको समयको हो। त्यो अवस्थामा पसलेहरूलाई प्रेसरकुकर बेच्न समेत बन्देज थियो। पसलेहरू बेच्न पनि डराउँथे। मान्छे घरबाट निस्केपछि साँझ घरमा सहीसलामत पुगिन्छ वा पुगिंदैन भन्ने बेला थियोे। जनयुद्धका योद्धाहरूलाई समात्न त्यो बेलाको राज्यले गल्लीगल्ली चोकचोक मात्रै हैन घरैपिच्छे जासुस सिआइडीहरू चलायमान गरेको बेलाको हो। त्यस्तो अत्यन्त जटिल र भयावह समयमा पनि योद्धाहरू देशमा मनले साँचेको आँखाले देखेको सपना साकार बनाउन बलिदानपूर्ण भावले हिंडेको कथा छ।

‘धरातल’ कथा राजनैतिक पार्टीसँग सम्बन्धित छ। यो कथा पनि जनयुद्धसँगै गाँसिएको छ। एकजना कार्यकर्ता आफ्नो पार्टीप्रति निष्ठावान् र इमानदार छ। त्यो समयमा कार्यकर्ताहरू क्रान्ति सफल पार्न बन्दुक बोकेर हिंडेका थिए। भिडन्तमा धेरै कार्यकर्ता र योद्धाले गोली खाए, घाइते भए र कतिले सहादत पनि प्राप्त गरे। यसरी थुप्रैले आफ्ना छोराछोरीहरू गुमाएका थिए।

त्यसपछि पार्टी खुला राजनीतिमा आउनेबित्तिकै नेताहरूले नीति छोडे सबै व्यक्तिमा केन्द्रित हुन थाले। कार्यकर्ताहरूले खुला आँखाले देखेको सपना साकार पार्नतिर लागेनन् बरु जसरी हुन्छ त्यसरी धन कमाउन, जम्मा पार्न थालेको गलत प्रवृत्तिको आलोचना गर्दै कथा नदी बगे जस्तै सलल बगेको छ।

इमानदार कार्यकर्ताहरूले यस्तो प्रवृत्ति पचाउन सक्दैनन्। त्यस्ता इमानदार कार्यकर्ताहरूसँग न त आफ्नो घर हुन्छ न त घरपरिवारलाई सुव्यवस्थित ढंगबाट चलाउने अर्थको व्यवस्था नै हुन्छ।

अन्तमा कथाले आजको समयमा पार्टीपार्टी भनेर दिलोज्यान दिएर हैन, पार्टी र घरपरिवारलाई सँगसँगै लिएर जान सक्नुमा नै राम्रो हो भनेको छ। त्यसो भए आजसम्म पार्टीप्रति इमानदार, निष्ठावान् र अनुशासित भएर काम गर्दै आएका नेता कार्यकर्ताहरूको मूल्यांकन कैले र कसले गर्ने हो? उनीहरूको खर्च भएको समय र जीवनको भर्पाई कसले भर्ने हो? मलाई लाग्छ, पाठकहरूको मनमा उक्त प्रश्न कुत्कुतिरहेको हुनुपर्छ।

‘उज्यालो नजिकै’ यो कथा देशमा लोकतन्त्रको स्थापना गर्न अन्याय, शोषण र अत्याचारविरुद्ध विद्रोह गर्ने समूहको हो। त्यो अवस्थामा कतिखेर कर्फ्यु लाग्ने हो, कतिखेर गुडिरहेको गाडी जलाएर ध्वस्त पार्ने हो। कतिखेर को अपहरणमा परिने हो? कसैलाई पनि केही थाह हुँदैन थियो।

अधिनायकत्वले जनतालाई दिएको मानसिक र शारीरिक यातनाले एवं अन्य आतंकहरूले सीमा नाघिसकेको थियो। बस, उक्त कथा त्यहीबेला जनताले गरेको आन्दोलनको एउटा अध्यायजस्तो लाग्छ। सुरक्षाकर्मीहरूले आन्दोलनकारीहरूलाई जतिसुकै दमन गरे पनि जनताको त्यो आन्दोलन सफलताको उज्यालोतिर पुग्दै थियो। कथाको सारांश यही हो भन्दा म आफैंलाई पनि खुसी लागेको छ।

‘यो परिणति’ यो कथा काठमाडौं उपत्यकाको वरिपरि बस्ती बसालेर आफ्नो जीवनयापन गरिरहेका सुकुम्बासीहरूको पीडा र विवशतालाई सन्दर्भ बनाएर तयार पारिएको छ। आफू र आफ्नो परिवारलाई काठमाडौंभित्र घरकोठाहरूमा महँगो भाडा तिरेर राख्न सक्ने क्षमता भएका व्यक्तिहरूको बाहिरी आडम्बरीलाई  चित्रण गरेको छ।

ती सुकुमबासीहरूलाई मात्र निर्वाचनको बेला उम्मेदवारहरूले थुप्रै आश्वासन बोकेर भेट गर्न आउने भोट बैंकको रूपमा रहेको कुरा कथाकारले जीवन्त रूपमा उतारेको छ।

त्यति मात्रै होइन,कुनै दलहरूलाई विरोध, प्रदर्शन, हडताल र जुलुस आदिहरूमा झन्डा बोकाएर हिंडाउन मात्रै प्रयोग गरिने गर्छ। ती सुकुमबासीहरूलाई त्यसपछि खोलो तर्‍यो लौरो बिस्र्यो भनेजस्तै उनीहरू पनि उपेक्षित भएर बस्नुपर्छ। यसलाई नै परिणति भनिएको हो जस्तो लाग्छ।

‘इन्द्रेनीको एउटा रङ’ कथालाई सरसर्ती पढ्ने हो भने मलाई साँच्चै सात रङ्ग मिलेर नै इन्द्रेनी नामकरण गरिएको हो जस्तो लाग्छ। यही इन्द्रेनीलाई कथाको मुख्य विषयवस्तु बनाएकोमा कथाकारको कथाकारिताप्रति प्रशंसा गर्नैपर्छ।

यो कथा आजको अवस्थामा दिन चौगुना रात आठ गुनाका दरले बढिरहेको छ। साथै चाप्लुसीवाद, हनुमान प्रवृत्ति र गणेश प्रवृत्तिहरूको सेरोफेरो रहेर सिर्जना गरिएको छ।

आजको परिवेशमा चाटुकारहरूको चलखेल स्यालको हुइयाँ जस्तै टाढाटाढासम्म पुगेको छ। कृपावाद, नातावादको आधारमा बिनालगानी ओहदामा पुग्न सफल भएका छन्। उनीहरू नै जहींतहीं सम्मानित र पुरस्कृत हुन्छन्,भइरहेका छन्।

फलस्वरूप इमानदार र निष्ठावान् व्यक्तिहरू जहिले पनि पछाडि पर्छन्। यो विडम्बना हो। रङ थरिथरिका कथा पनि त्यस्तै पार्टीसँग सम्बन्धित रहेको कथा हो।

समग्रमा धेरैजसो कथा जनयुद्धको बेलालाई सन्दर्भ बनाएर सिर्जना गरिएका छन्। धेरैजसो कथामा नेपाली जीवनमा व्याप्त कठिनाइ,गरिबी, वितृष्णा, अराजकता, विचलन र  गलत प्रवृत्तिहरूलाई प्रतिबिम्बन गरिएको छ।

विशेषत २०६०/६१ सालतिरको राजनैतिक र सामाजिक जीवनको यथार्थता कथाकारले आफ्नै शैली र भाषामा उतारेका छन्। संग्रह कथाहरूमा  राजनीतिक सामाजिक अन्तरवस्तु केन्द्रित भए पनि सबैमा थुप्रै विविधता पाउन सकिन्छ। यसको साथसाथै कथाहरूमा वर्गीय द्वन्द्व छ। कथाकारले नेपाली समाजमा परम्परागत रूपमा विद्यमान कुसंस्कार र असमान प्रवृत्तिहरूलाई पनि कथाको विषयवस्तु बनाएको छ।

अन्ततः यस संग्रहका कथाहरूको महत्त्वपूर्ण पाटो भनेको हाम्रो समाजमा घटिरहेका गलत घटनाहरूबाट पाठकहरूलाई सचेत गराउनु हो।

वास्तवमा साहित्यलाई समाजको ऐना भन्ने गरिन्छ। त्यो ऐनामा साहित्यकारहरूको गहन दृष्टिले मात्र समाजभित्र भइरहेको कुप्रवृत्तिहरूलाई देख्न सक्ने क्षमता रहेको हुन्छ। साँच्चै साहित्यकारहरू भावुक हुन्छन्। कुनै त्यस्तो मन छुने दृश्यहरूलाई देखनेबित्तिकै साहित्यकारहरूको भावना कुर्लिन थाल्छन्।

यस्तै विषयवस्तुहरूलाई यस संग्रहका कथाकारले अनदेखा गर्न सकेन। कथाकारको  प्रगतिवादी विचार कथाहरूमा स्पष्ट रूपमा प्रतिविम्वन भएको देखिन्छ। पार्टीभित्र रहेको विचलन र अनुशासनहीनतालाई कथाकारले आफ्नो मनभित्र लुकाएर राख्न नसक्नु उनको साहसलाई पाठकहरूले प्रशंसा गर्नैपर्छ जस्तो लाग्छ।

यसरी मेरो पाठकीय हेराइमा इन्द्रकुमार सरित् एकजना सफल प्रगतिवादी  कथाकार हुुन्। यसमा म आफैंलाई गर्व लागेको छ। यस कथासंग्रहभित्र रहेका केही कथाको एउटाएउटा कुराहरूलाई केलाउन सकें वा सकिनँ म आफैंलाई थाह छैन तर मैले सके जति लेखें। पुनः कथाकार  इन्द्रकुमार श्रेष्ठ ‘सरित’का कथाहरू अझै नेपाली समाजको पूर्ण ऐना बन्न सफल बनून्। म यही शुभकामना र  साधुवाद व्यक्त गर्दछु।

प्रकाशित: १७ भाद्र २०७९ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App