अष्लेशा उप्रेती
विराटनगर घर भएकी तारा ५ वर्षकी छिन्। उनी १ कक्षामा पढ्छिन्। सधैंझैं यसपालि पनि आमालाई तिजमा लिन मामा आउनुभयो। आमासँगै उनी पनि मामाघर गइन्।
उनको मामाघर दमक हो। हिजो आएका मामासँग दुई दिनका लागि भनेर मामा घर गयौं।
दिउँसो आमाका साथीहरू आउनुभयो। एकछिन बसेर आमालाई पनि अब हाम्रामा जाउ भन्नुभयो।
आमाले तारालाई ‘छोरी तिमी असल भएर हजुरआमासँग बस। म एकछिन साथीहरूसँग जान्छु ल’ भनेर हिंडिन्।
आमा गएपछि तारालाई हजुरआमाले लिएर कोठामा जानुभयो। हजुरआमाको कोठामा ठूलो प्लास्टिकको बट्टामा अनेक खालका थुप्रै चकलेट देखिन्। ती चकलेट देखेर तारालाई खान मन लाग्यो अनि त्यो बट्टातिर हेरिन्। हजुरआमाले ताराले मिठाई खान खोजेको बुझ्नुभयो। अनि ३/४ वटा मिठाई झिकेर दिनुभयो। खुसी हुँदै ताराले हजुरआमाले दिएको मिठाई लिइन्। अनि चकलेट ढाकेको कागज निकालिन्। ताराले रमाउँदै मिठाई खान थालिन्। उनले रमाएर मिठाई खाएको देखेर हजुरआमा दङ्ग परेर बाहिर जानुभयो।
चकलेट खाई नसकी ताराको दात दुख्यो। तर पनि खान छाडिनन्। हजुरआमाले दिएको चकलेट खाइसकेपछि दातको दुखाइ सहन नसकेर रुन थालिन्।
तारा रोएको सुनेर मेरी नातिनीलाई के भयो भनेर कोठामा आउनुभयो। तारा त एकातिरको गाला समातेर बरबरी आसुँ झार्दै रुँदै थिइन्। छेउमा गएर नानी के भयो। अरू चकलेट चाहियो भनेर हजुरआमाले फकाउँदै तारालाई सोध्नुभयो।
हैन,हजुरआमा मलाई सारो दाँत दुखिरहेको छ। दात दुख्ला भनेर आमाले चकलेट खान दिनु हुन्न थियो। आमा नभएका बेला दाँत दुख्ने कुरा हजुरलाई नभनी खाएँ। अबदेखि चकलेट खान्न। सारो दुख्दैछ अब के गरेर सञ्च हुन्छ भन्दै रोइरहिन्।
हजुरआमाले भन्नुभयो,‘एकछिन है मेरो दाँतको दवाई लगाइदिन्छु।’
घर्राबाट एउटा सिसी निकाल्नुभयो। रूवाको सानो डल्लो बनाएर एक थोपा दवाई राखेर ताराको दुखेको दाँतमा च्याप्न लगाउनुभयो। तारालाई अलिक सञ्च भयो अनि ताराले अब मिठाई कहिले खान्न भनिन् र हजुरआमालाई समातेर सुतिरहिन्।
प्रकाशित: १७ भाद्र २०७९ ०६:०१ शुक्रबार