२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भगवानले रक्षा गरून्

लघुकथा

डा. कुसुमाकर शर्मा गौतम

‘काका, हजुर पनि विजयोत्सवमा जाने होला नि!’ त्रिलोचन काकालाई आएको निम्ताको जनाउ दियो मनोजले।

काकाले अनुरोध र आदेश दुईवटै राखे,‘आफ्ना पार्टीका उम्मेदवारले चुनाव जितेका छन्। यस्तो खुशीयालीमा त जानै पर्ला। तिमी जाँदा मलाई पनि लिएर जाऊ है मनोज।’

उत्सव मनाउने दिन मनोजले त्रिलोचन काकालाई राजधानीको एउटा ठूलो घरमा लगे। त्यो घर चलचित्रघर जत्रो थियो। त्यो घरभित्र धेरै मान्छे थिए। सबैको मुहारमा खुशी थियो। उत्साह र उमंग थियो। सबै खानपानमा व्यस्त थिए।

त्रिलोचन काकाले त्यहाँ आफ्नो पार्टीका नेता र अरू पार्टीका नेता पनि देखे। उनले सोचे, ‘चुनावमा जे नतिजा भए पनि मिलेर देश विकास गरे त भइहाल्यो नि!’

‘बधाइ र्छ काका।’ चिनेको जस्तो आवाजले ध्यान खिच्यो। फर्केर हेरे। आफ्नै चुनाव क्षेत्रको विरोधी दलबाट हारेका उम्मेदवार सुदन गड्तौला थिए। चुनावको प्रचारप्रसारका बेलामा त्रिलोचन काकालाई कुट्ने भनेर सुदन आफ्ना लठैत लिएर बाटो ढुकेर बसेको छन् भन्ने सुनेर घरमै बस्न बाध्य भएका थिए त्रिलोचन काका।

‘तपाईलाई पनि बधाई। हारे पनि जिते पनि गाउँ त सबैले मिलेर बनाउने हो।’ मुखबाट यी शब्द निस्के पनि मन बेचैन भयो अनि काकाले मनोजलाई सोधे, ‘यत्रो उत्सवको खर्च कसले बेहोर्छ होला?’

‘पार्टीले नि काका। त्यति पनि थाहा नपाएजस्तो नगर्नुस न!’ मनोजको जवाफले मजा आएन काकालाई।

‘ए, चुनावमा पनि मिलेर लड्ने अनि खाने बेलामा पनि ठ्याक्कै मिल्दा रहेछन् अनि यो चुनाव अगाडि किन नाटक देखाउने त?’ भोजमा केही नखाई बाहिर निस्कँदै गर्दा देखे ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतको तालमा सबै झुमझुम भएर नाच्दै थिए।

प्रकाशित: १६ भाद्र २०७९ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App