ललिता ‘दोषी’
एकादेशमा सूर्यभान नाम गरेका एउटा राजा थिए। उनका रानीलगायत एउटी राजकुमारी र एउटा राजकुमार थिए। हाँसीखुसीमै दिन बितिरहेको थियो। एक साँझ ठूलो भूकम्प गयो। सुन्दर राजदरबार भत्किएर तहसनहस भयो। त्यहाँ राजारानी मात्र परेनन् थुप्रै दरबारिया आफन्त पनि परे। राजकुमारी सुवर्णप्रभा र राजकुमार प्रभाकर आफ्ना साथीहरूसँग बगैंचामा खेलिरहेकाले बाँचे। जताततै हाहाकार मच्चियो। दरबार मात्र नभई थुप्रै घर भत्किएको कुरा सुन्नमा आयो। बाबुआमा, आफन्त गुमाउनुपरेकोमा राजकुमारी, राजकुमारलाई साह्रै पीडा भयो। उनीहरू होस गुमेझैं भए। भाइभारदारहरूले उनीहरूलाई सुरक्षित स्थानमा लगेर राखे। केही दिनको कम्पनपछि बिस्तारै भूकम्प साम्य भयो।
राजकुमार प्रभाकरलाई पाखा लगाएर उनकै काकाले राज्य चलाउन थाले। राजकुमारी सुवर्णप्रभालाई आफू कहिलेकाहीं जाने गरेको तबेला, हात्तीसार, गोठ आदिको याद आयो। उनले ती जनावरहरू त्यहाँ के गरेर बाँचेका होलान् भन्ने सोचिन्। एक बिहान भाइ लिएर त्यतै लागिन्। तीन/चार घण्टा वनको बाटो हिंडेपछि लखतरान हुँदै उनीहरू त्यहाँ पुगे। राजकुमारी र राजकुमारकै खुट्टा लामो बाटो हिंड्दा रक्ताम्य भएका थिए। भोकले रिंगटा लागेको थियो। राजकुमार र राजकुमारी देखेपछि घोडाहरू हिनहिनाउन थाले। हात्तीहरू कुञ्न थाले। भैंसीहरू आइँ गर्न थाले। गाईहरू बाँबाँबुँबुँ गर्न थाले। भेडाहरू भ्याँभ्याँ गर्न थाले। बाख्राहरू म्याँम्याँ गर्न थाले।
सबैले आफूहरूप्रति गरेको माया देखेर राजकुमारी र राजकुमार नै साह्रै खुसी भए। उनीहरूलाई स्याहार्ने गोठालाहरू भूकम्पले लाखापाखा लागेकाले ती जनावरहरू पनि धेरै दिनदेखि भोकै थिए। राजकुमार सकीनसकी उनीहरूको दाम्लो, ढोका खोलिदिए। उनीहरू खुसी हुँदै यताउता चर्न थाले। अघाएपछि पाठापाठीहरू खुसीले उफ्रिंदै कुद्न थाले। हात्तीले उनीहरू भोको भएको थाहा पाएपछि गाउँमा गए। गाउँका मान्छेहरूले गणेश महाराज हाम्रो बिगार नगर्नुहोस् भनी पाकेको भात ढिडो आदि खानेकुरा दिए। त्यो खानेकुराराजकुमारी र राजकुमारका लागि ल्याइदिए। सबैले आफूहरूप्रति गरेको स्नेह देखेर उनीहरूले आफ्ना केही पीडा भुले। उनीहरूसँग नै रमाउँदै दिन बिताउन थाले।
दिन बितिरहेको थियो। केही प्रजाले राजकुमार प्रभाकारलाई राजा बनाउनुपर्छ भनेर दङ्गा सुरु गरे। राजा बनेका काकाले भतिजा-भतिजीलाई नै मारेपछि कुरै खतम हुन्छ भन्ने सोचे। मार्ने हिसाबले नै एक रात उनीहरू बसेको ठाउँमा गए। राजकुमारी सुवर्णप्रभाले काकालाई बडो सम्मान गरेर घरमा राखिन्। राति गफ गर्दा काकाले मन बुझ्न भतिजालाई राजा बनेर दरबारमा बस्ने कुरा गरे। सुवर्णप्रभाले भनिन्, ‘हामीलाई यहीं नै दरबार जस्तो छ। हामीलाई केही पनि चाहिंदैन। हामीसँग रहेका यी जनावरहरूलाई राम्रो बास र खानाको व्यवस्था गरिदिनुहोस। यति भए पुग्छ। हामीहरू यिनीहरूसँगै रमाउँछौं।
आफ्ना भतिजा-भतिजीको कुरा सुनेर काका दङ्ग परे। ‘कुचाले बढार्नुपर्ने फोहोर हावाले उडायो’ भन्ने सोचेर खुसी हुँदै दरबार फर्के। मैले राजकुमारलाई राजा बन्न आग्रह गरेको हुँ। उनले राज्य गर्न मानेनन् भनेर हल्ला फैलाए। धेरै भाइभारदारले सम्झाउन जाँदा पनि राजकुमार र राजकुमारीले राज्यको मोह नभएको कुरा सुनाए। त्यसो भनेपछि काकाले पनि स्वतन्त्र भएर राज्य गर्न थाले। हाँसीखुसीमा नै दिन बितिरहेको थियो।
राजकुमार प्रभाकर असाध्य राम्रोसँग बाँसुरी बजाउँथे। सबैजना उनको बाँसुरीको धुनले लठ्ठ हुन्थे। एक दिन दिउँसो उनी बाँसुरी बजाउँदै जंगलतिर गएका थिए। अर्को देशबाट घुम्दै आएका राजकुमारले राजकुमार प्रभाकरले बजाएको बाँसुरीको धुन सुने।
अहो यति राम्रासँग बाँसुरी कसले बजायो होला भनेर त्यो धुन पछ्याउँदै अगाडि बढे। नजिक पुग्दा आठ/नौ वर्षको साधारण बालकलाई देखेपछि राजकुमार मृदुल छक्कै परे। उनलाई त्यो बालक मान्छेझैं नलागेर साक्षात् भगवानझैं लाग्यो। उनले आफ्नो घोडा रोकेर राजकुमारलाई नमस्कार गर्दै भने, ‘हजुर भगवान् हो कि मान्छे हो। मैले त चिन्न नै सकिनँ। हजुरको बाँसुरीको धुन, बाँसुरी, हजुर पनि धेरै राम्रो हुनुहुँदो रहेछ।’
राजकुमार प्रभाकरले हाँस्दै भने, ‘म मान्छे नै हुँ। बाँसुरीको धुन मीठो भए पनि म त के राम्रो छु र? हाम्रो हात्तीका बथान झन् कति धेरै राम्रा देखिन्छन्।’
प्रभाकरको कुरा सुनेपछि राजकुमार मृदुल छक्क परे। त्यसो भए भोलि हात्तीको बथान लिएर आऊ। म त्यो पनि हेर्छु भने। त्यो दिन उनीहरू मीठामीठा कुरा गरेर छुट्टिए। राजकुमार मृदुललाई हात्तीको बथान हेर्न मन लागेकाले उनले जंगल नजिकैको घरमा गएर बास मागे। घरधनीले उनलाई जतिसम्म बस्न मन लाग्छ बस्न सक्नुहुन्छ भने। राजकुमार मृदुलको खानबस्नको व्यवस्था पनि गरे। घर मालिकको कुराले राजकुमार मृदुल खुसी भएर त्यहीं बसे।
भोलिपल्ट मध्याह्नमा राजकुमार मृदुल त्यही जंगलमा गएर बसे। राजकुमार प्रभारकरले बाँसुरी बजाउँदै हात्तीको बथान ल्याएर ठूलो चौरमा छोडिदिए। हात्तीको बथान र हात्तीसँगै हिंडेका छावा देखेर राजकुमार मृदुलले राजकुमार प्रभाकरनजिक गएर खुसी हुँदै भने, ‘अहो, कति राम्रा हात्तीका र उसका छावाहरू! मलाई त यो सब सपनाजस्तै लागेको छ।’राजकुमार प्रभाकरले हाँस्दै भने, ‘यी हात्तीहरू त के राम्रा छन् र झन् घोडाहरू कति राम्रा देखिन्छन्।’
राजकुमार प्रभाकरको कुरा सुनेर राजकुमार मृदुल उत्सुक हुँदै भने,‘त्यसो भए म तिम्रो घोडाहरू पनि हेर्छु।’
राजकुमार प्रभाकर हुन्छ भनेर हात्ती लिई घर आए। भोलिपल्ट पनि राजकुमार र मृदुल हिजोझैं घोडाका बथान हेर्न कुरिरहेका थिए। जब राजकुमार प्रभाकरले घोडा ल्याएर चउरमा जम्मा गरे। राजकुमार मृदुललाई घोडाको बथान पनि त्यस्तै राम्रो लाग्यो। राजकुमार मृदुलले खुसी हुँदै भने, ‘अहो! कति राम्रा खैरा, काला हृष्टपुष्ट घोडाहरू उनका बछेडाहरू पनि मलाई त साह्रै राम्रो लाग्यो।’
यसैगरी क्रमश: राजकुमार प्रभाकरले गाईको बथान, भैंसीको बथान भेडा, बाख्राको बथान राम्रो छ भन्दै देखाइदिए राजकुमार मृदुललाई सबै एकभन्दा अर्को राम्रो लाग्यो। उनले खुसी हुँदै राजकुमार प्रभाकरसँग भने, ‘मलाई त सबैको बथान सबै राम्रो लाग्यो। यिनीहरू देखेर म त छक्कै परें।’राजकुमार प्रभाकरको मुखबाट एकाएक बोली फुस्क्यो, ‘अझ यिनीहरूभन्दा धेरै गुना राम्री त मेरी दिदी पो हुनुहुन्छ त!’
राजकुमार मृदुलले खुसी हुँदै भने, ‘त्यसो भए म तिम्री दिदीलाई पनि एकपल्ट हेर्छु। बिन्ती मलाई तिम्रो घरमा लग।’
आफैंले भनेको शब्द सम्झेर राजकुमार प्रभाकर झसङ्ग भए। उनले कुरा बनाउँदै भने, ‘हामीलाई कसैको माया लाग्यो भने त्यो मान्छे नराम्रो भए पनि साह्रै राम्रो लाग्छ अरे। हुन त अरूहरू दिदीलाई काली, गाँड भएकी नराम्री छिन् भन्छन् तर मलाई भने...।’
राजकुमार मृदुल राजकुमार प्रभाकरको कुरा सुनेर हाँसे मात्र। दुवै एक अर्कासँग बिदा भएर घर आए। घरमा आएर राजकुमार मृदुलसँग भएको सबै कुरा दिदीलाई बताए।
राजकुमारीले सम्झाउँदै भनिन्, ‘तिमीले पटक्कै पीर नगर। ती युवक आउँदैनन् होला। आए पनि म मोसो दलेर गाँड बनाएर बस्छु। मलाई देखेपछि कुलेलाम ठोकिहाल्छ नि!’
दिदीको कुराले प्रभाकर खुसी भए। भोलिपल्ट बिहान हुनेबित्तिकै दिदीको मुखमा आफैले कालो मोसो दलिदिए चिन्डो(डल्ले लौका) को गाँड हालिदिए। आफू पनि कतै नगई घरमा नै बसे। यसरी तीन/चार दिन बित्यो। ती युवक आएनन्। दुवै दिदीभाइ खुसी भए। अब युवक आउदैनन् नै होला भनेर राजकुमार प्रभाकर हात्ती, घोडा लिएर जंगलतिर गए। त्यही दिन दिउँसो राजकुमार मृदुल राजकुमारी सुवर्णप्रभाको घरमा आए। बाहिर कोही नदेखेपछि अलि ठूलो स्वरमा भने, ‘भित्र को हुनुहुन्छ? कृपया पानी पिउन दिनुहुन्छ कि?’
सुवर्णप्रभाले करुवामा पानी लिएर आइन्। राजकुमार मृदुलले घोडाबाट ओर्लिएर करुवाको पानी लिई उनैको मुखमा छ्यापिदिए। उनको मुखको कालो मोसो गयो। हतारहतार सानो ढुङ्गाले गाँडमा हान्दा गाँड पनि फुट्यो। राजकुमारी डरले थरथर काम्दै आत्तिँदै भित्र पसिन्। राजकुमार मृदुल उनको मोहनी रूप देखेर लठ्ठ परे। हात्ती, घोडा अरू जनावरहरूले उनको सुरक्षा गरेको कुरा बुझेर नै उनी मौका पर्खिरहेका थिए। हात्ती, घोडा अरू जनावरहरू आए भने यिनलाई लैजान दिँदैनन् भन्ने सोचे।
उनले भित्र पसेर राजकुमारीलाई आफूसँग जान आग्रह गरे। राजकुमारीले आफू कतै जान्न भनेर अडान लिइन्। राजकुमारले हिंड भनेर घिसाइमुन्टाइ गरेपछि उनले हतारहतार मूल खाममा धागो बधिन्। राजकुमारले उनलाई दिउँसो मध्याह्नमा नै घोडामा राखेर जंगलको बाटो लगे। राजकुमारीले धागोको लरियो छोड्दै-छोड्दै गइन्। राजकुमारले राजकुमारीलाई बाटोमा खानेकुरा खान निकै कर गरे। उनले खान मानिनन्। उनलाई आफ्नो प्यारो भाइ, हात्ती, घोडालगायत सबै जनावरको याद आइरह्यो। बीच-बीचमा रात बस्दै बल्ल तीन दिनमा उनीहरू दरबारमा पुगे। राजारानी राजकुमार र सुन्दरी कन्यालाई साथमा देखेर साह्रै खुसी भए।
यता साँझमा राजकुमार प्रभाकर सबै जनावरलाई आआफ्नो बस्ने ठाउँमा राखे। सधैंझैं खुसी हुँदै भने,‘दिदीभाइ मिलेर अब भात खाऊँ। सबै काम सकेर छिटै सुत्न जाऊँ।’
दिदी नबोलेपछि उनले चोटाकोठा सबैतिर दिदीलाई खोजे। पक्कै पनि त्यो युवकले लग्यो भन्ने ठाने। रुँदैरुँदै घोडा बाँध्ने तबेलामा गएर बसे। उनलाई दिदीको मायाले भोक निद्रा सबै हरायो। रुँदारुँदै बिहान भयो। उनी दिदी आइन् कि भन्दै धुन्मुनिंदै घरमा आए। खाँबोमा धागो बाँधेको देखेर केही खुसी भए। अवश्य दिदीले यही धागो पछ्याउँदै आउँछ भन्ने सोचेर बाँधेको होला भन्ने सोचे। उनले आफ्नो सबै जनावरको रेखदेख गर्न दरबारमा खबर पुर्याइदिनू भनेर त्यहींकै मान्छेलाई भने।
आफू रुँदै त्यही धागोलाई हेर्दै अगाडि बढे। उनी कहिले भोकले हैरान हुन्थे। जङ्गलमा जे पायो त्यही टिपेर खान्थे। धागोलाई पछ्याउँदै जाँदा कहीं रात पर्थ्यो। कहीं बाघ, भालु आदि जनावरहरू देख्थे। उनी रूख चढेर आफूलाई जोगाउँथे। जब चार–छ दिन जति हिंडिसकेपछि अगाडि जान धागो खोज्छन् अहँ धागो देख्दैनन्। उनलाई साह्रो पीर पर्छ। के गरौं कसो गरौं हुँदै धागो देखिन्छ कि भनी अगाडि बढे तर धागो देखिएन। जे त होला भनेर उनले खुट्टाअगाडि बढाए। जाँदाजाँदै उनी आरु फुल्ने गाउँमा पुगे। त्यहाँ जताततै आरु फुलिरहेका थिए। उनले आरुको बोटलाई सोधे, ‘आरु तिमीले मेरी सुन्दरी दिदीलाई देख्यौ कि?’
आरुको बोटले भन्यो,‘देखें यही बाटो घोडामा युवकले लग्दै थिए। यतैबाट जाऊ।’
उनले आरुलाई धन्यवाद दिंदै तिमीलाई सबैले मनपराऊन् भन्दै उसले भनेकै बाटो लागे।
हिंड्दा-हिंड्दा उनी तोरी फुल्ने गाउँमा पुगे। जताततै तोरी फुलिरहेका थिए। उनले फुलेका तोरीतिर हेर्दै भने, ‘तोरी तिमीले मेरी दिदी देख्यौ कि?’
तोरीका बोटहरूले भने, ‘देख्यौंदेख्यौं। युवकले घोडामा हालेर यतैबाट लगेका थिए। उनी पनि रुँदै थिइन्।’
तोरीका बोटहरूलाई पनि धन्यवाद, तिमीहरूलाई माहुरी, भमरा र पुतलीले साथ नछोडून् भन्दै अगाडि बढे। हिंड्दाहिंड्दा उनी सल्लाको जंगलमा पुगे। उनले सल्लाको रूखतिर हेर्दै भने,‘सल्ला तिमीले मेरो दिदीलाई युवकले कता लगे देख्यौं कि?’
सल्लाहरूले रिसाउँदै भने, ‘हामीलाई तिम्रो दिदीको के मतलब हँ? हामी आफैं सुसाउँदो र फुसाउँदो छौं।’
प्रभाकरले मन दुखाउँदै भने, ‘त्यसो भए तिमीहरू सधैं यसरी नै सुसाइराखे।’
राजकुमार प्रभाकरको श्रापले सल्लाहरू सधैं सुसाइराख्ने भए।
त्यसैगरी गुराँस फुल्ने गाउँ, ऐंसेलु फुल्ने गाउँ आदिमा गएर दिदीलाई देख्यौ कि भनेर सोधे तर केही पत्ता लागेन। त्यसपछि निराश भएर गाउँकै गरिब केटाकेटीहरूसँग बस्न थाले। कहिले पाए केही खान्थे त कहिले भोकभोकै सुत्थे। सुत्ने/खाने ठेगान हुँदैनथ्यो। फर्किएर आफ्नै घरमा आउन पनि सकेनन्। यसरी धेरै दिन बित्यो।
यता सुवर्णप्रभा पनि भोकभोकै रोएर बस्न थालिन्। उनको चाल देखेपछि राजकुमार मृदुल र राजारानीलाई पनि उनी मर्छिन् कि भन्ने चिन्ता भयो। राजकुमार मृदुलले राजकुमारी सुवर्णप्रभालाई ‘तिमी कसरी खुसी हुन्छ्यौ? म त्यही गर्न तयार छु’भने।
राजकुमारीले म मेरो भाइसँग छुट्टिएर बस्नै सक्दिनँ। भाइलाई नभेटे आफू नबाँच्ने कुरा सुनाइन्। त्यसपछि सबैको सल्लाहले राजकुमार मृदुल नै प्रभाकरलाई लिन आए। राजकुमार प्रभाकर सबै जनावरलाई जिम्मा लगाएर दिदी खोज्न हिंडेको कुरा सबैले बताए।
राजकुमार मृदुलले प्रभाकरलाई धेरै ठाउँमा खोजे कतै पाएनन्। उनी सोही खबर लिएर दरबार आए। राजकुमारी सुवर्णप्रभा भाइको मायाले छटपटाउन थालिन्। राजकुमार मृदुल र राजारानीले सैनिकहरूलाई पनि खोज्न पठाए तर केही सीप लागेन।
राजकुमारी सुवर्णप्रभाले बाँसुरी प्रतियोगिता गर्ने हो भने उनी आउँछन्। भनेपछि उनको कुरा सबैलाई ठीक लाग्यो। यही कुरा राज्यभरि फैलियो। राजकुमार प्रभाकरले दिदीको पीरले बाँसुरी बजाउन छोडिसकेका थिए। बाँसुरी प्रतियोगिताको कुरा सुनेर उनी खुसी भए। उनलाई लाग्यो दिदी बाँसुरी प्रतियोगितामा भाइ आउँछ कि भनेर अवश्य आउँछिन्। उनलाई मेरो बाँसुरीको धुन साह्रै मन पर्छ।
राजकुमार प्रभाकार प्रतियोगिताको दिन अरूको पछि लागेर आफ्नो पुरानो बाँसुरी लिएर प्रतियोगिता हुने ठाउँनजिक त पुगे। उनलाई सानो र मैलोे लुगा देखेर प्रतियोगिता हुने ठाउँमा छिर्न नै दिएनन्। उनी निराश भएर बाहिर नै रोएर बसिरहेका थिए। एउटा दयालु मानिसले उनलाई सबै सोधखोज गरे।
उनले आफू प्रतियोगितामा भाग लिन आएको कुरा सुनाए। पहिला त त्यो दयालु मानिस पनि छक्क परे। यत्रो मान्छेले कसरी भाग लिन्छजस्तो लाग्यो। पछि ‘नपत्याउने खोलाले पनि बगाउँछ’ भन्ने उखान सम्झेर आफूसँगै लगे जसले पनि प्रतियोगितामा भाग लिन सक्छ भनेकोले प्रगियोगितामा भाग लिनचाहिं गाह्रो भएन। धेरैपछि उनको पालो आयो उनले बाँसुरीको धुनमै भने,
‘सुनजस्तो रंग भएकी मेरी सुवर्ण दिदी,
तिम्रो यादले रुन्छु सधैं छाती पिटीपिटी।
बाँच्न पनि मलाई यहाँ भयो साह्रै गाह्रो,
तिमी यहाँ भए दिदी भेट्न आऊ चाँडो... ।’
उनले यसरी बाँसुरी बजाउँदा सबै छक्क परे। सबैका आँखाबाट आँसु झर्यो। भाइ आएका रहेनछन् भनेर पिरोल्लिरहेकी सुवर्णप्रभा खुसीले दौड्दै आएर भाइलाई अँगालो मार्दै रुन थालिन्। राजकुमार प्रभाकर पनि दिदीलाई अँगालो मारेर क्वाँक्वाँ रुन थाले। राजारानी र राजकुमार मृदुल पनि साह्रै खुसी भए। राजारानीले सबै बाँसुरीवादकलाई नै प्रथम पुरस्कार दिने घोषणा गरे। त्यो कुराले सबैले राजारानीको जयजयकार मनाए। दर्शक हुन आएकाहरूले पनि भोको र खाली हात जानुपरेन। सबैले पैसा पाए। सबै जना खुसी हुँदै आआफ्नो घरतिर लागे।
राजकुमार मृदुलले पनि आफू राजकुमार भएको कुरा प्रभाकरलाई बताएका थिएनन्। राजकुमार प्रभाकरले पनि आफ्नो बाबुआमा राजारानी भएको कुरा बताएका थिएनन्। प्रभाकरलाई आफ्नी दिदीलाई राजकुमारले ल्याएको देखेर साह्रै खुसी लाग्यो। राजकुमार प्रभाकरले दयालु तर गरिब मानिसले आफूलाई सहयोग गरेको सबै कुरा बताए।
राजकुमार मृदुलले यस्तो राम्रो मान्छे दरबारमा चाहिन्छ भने। राजारानीले उनलाई मन्त्री बनाउने कुरा गरे। भोलिदेखि नै दरबारमा बस्न आउनू भने। दयालु मानिसलाई पनि सबै सपना जस्तो लाग्यो। राम्रो कामको फल राम्रै हुँदोरहेछ भनेर सोचे। सबैलाई भगवानकै उपमा दिंदै त्यहाँबाट घरतिर हिंडे। सुवर्णप्रभाले भाइलाई लगेर नुहाइधुवाइ गरी राम्रो कपडा फेराई मीठोमीठो खान दिइन्। धेरै दिनदेखि भोकोनांगो प्रभाकरले साह्रै मीठो मानेर दरबारको खाना खाएँ। सुखदुःखको कुरा गर्दै दिदीभाइले त्यो रात बिताए।
यता राजारानी र राजकुमारले विवाहको तयारी गरे। उनीहरूले सुवर्णप्रभालाई साधारण नागरिककी छोरी ठानेका थिए। राजकुमारी सुवर्णप्रभाले सबै कुरा बताएपछि उनीहरू सुनमा सुगन्ध भयो भनेर झन् खुसी भए। धुमधामसँग विवाह सम्पन्न भयो। राजारानी लगायत सबैजना साह्रै खुसी भए।
राजकुमार प्रभाकरको सानो दिमागमा धेरै दिनसम्म यही कुरा खेलिरह्यो। सबैको दुःख-पीडा हटाउन देशमा राम्रो राजा हुनुपर्ने रहेछ। सायद भगवान्ले मलाई यति धेरै दुःख दिनुभएको देश बनाऊ भन्नकै लागिरहेछ। म अब मेरा जनावरहरूको मात्र होइन। सबै जनताका दुःख-पीडा हटाउँछु। यही कुरा उनले आफ्नी दिदीलाई पनि भने।
दिदीले उत्तर दिइन्, ‘मैले पनि राजकुमारले यहाँ ल्याउँदा धेरै भोकानांगाहरू देखें। म यो राज्यको गरिबी हटाएर स्वर्गजस्तै बनाउँछु। तिम्रो राज्यलाई तिमी स्वर्गजस्तै बनाऊ। त्यसका लागि हामी शिक्षादीक्षा सम्पूर्ण गुनले भरिपूर्ण हुनुपर्छ।’
राजकुमार र राजकुमारी बगैंचामा बसेर यस्तै कुरा गरिरहेका थिए। राजकुमार मृदुलले दिदीभाइबीचको सबै कुरा सुनिरहेका थिए। राजकुमार मृदुलले राजकुमारी नजिकै बस्दै भने, ‘म पनि साधारण मानिसको भेषमा देशको अवस्था बुझ्न नै गएको थिएँ। हो, हामीले दुवै राज्यलाई स्वर्गजस्तै बनाउनुपर्छ। राजकुमारको बाँसुरीको धुनले गर्दा तिमीहरूसँग भेट भयो। म साह्रै खुसी छु। राजकुमार प्रभाकरलाई राजा हुन योग्य बनाउने जिम्मा मेरो भयो। भोलिदेखि नै तिमीहरूले केके गर्नुपर्ने हो म सबै व्यवस्था मिलाउँछु।’
राजकुमार मृदुलको कुरा सुनेर सुवर्णप्रभा र प्रभाकर खुसी भए। भोलिपल्टदेखि नै सुवर्णप्रभा र प्रभाकरलाई गुरु राखेर शिक्षादीक्षा दिन थाले। प्रभाकरले दिदीको दरबारमा बसेर राजा हुन चाहिने सम्पूर्ण ज्ञान सिके। उता प्रभाकरको काकाले यी सबै कुरा थाहा पाए।
उनले युद्धमा हार्नुभन्दा बरु जसको राज्य उसैलाई दिन्छु भन्ने सोचे। राजकुमार प्रभाकरलाई राजा बनाए। राजकुमारले काकालाई नै प्रधानमन्त्री बनाए।
प्रभाकरको राज्यकालमा कुनै प्रजाले पनि दुःख पाएनन्। आफूले दुःख बुझेकाले नै अरूको पनि दुःख बुझ्छन् भनेझैं उनले सबैको दुःख बुझेर राम्रा कर्म गर्दै गए। यता राजकुमार मृदुल र राजकुमारी सुवर्णप्रभाले पनि जनताको भावना बुझी काम गर्न थाले। दुवैले आफ्ना राज्यका जनतालाई सके जति खुसी दिए। यसरी उनीहरू बितेपछि पनि उनीहरूको राज्यकालमा भएका राम्रा कुराहरू सबैको मुखमा कथाझैं बनेर सधैं रहिरह्यो।
सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यो कथा बैकुण्ठ जाला
भन्ने बेलामा तुरुन्तै आउला।
(कथा प्रस्तोता-शान्ति खत्री दाहाल, दैलेख, हाल काठमाडौं।)
प्रकाशित: १२ भाद्र २०७९ ०७:११ आइतबार