आज हामी एक्काइसौं शताब्दीमा पदार्पण गरिसकेका छौँ। हिजोको ढुङ्गे युगसितै मानव सभ्यता दिन प्रतिदिन नयाँ चेतनाका साथ आधुनिक विज्ञान र प्रविधिको युगमा दौडिरहेको छ। यसमा साहित्य पनि अछुतो रहेन कुरा भएन। विश्व साहित्यले झन्डै साढे तीन वर्ष पार गर्दैगर्दा नेपाली साहित्यले पनि रफ्तार लगाइरहेको छ। कवि अजित उत्सवको ‘आकाशगङ्गाको किनार’ पनि साहित्यको यही सफ्तारमा जन्मेको कवितासङ्ग्रह हो। सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका उत्सव अहिले वैदेशिक रोजगारका सिलसिलामा युएईमा छन्।
आजको समय प्राप्तिको हो, खोज अनुसन्धानको हो, खुसीको हो। जब भिड जम्मा हुन्छ वा जम्मा गर्न लगाइन्छ तर त्यसको निचोड शून्य अर्थात् जिरो हुन्छ। सर्वसाधारणको समय र श्रमको बर्बादी मात्र हुन्छ। यसरी भिड जम्मा गर्ने र रमाउनेहरूलाई घुमाउरो शब्दमा यो फजुल काम राम्रो होइन, देश विकाश कर्ममा लाग भन्ने कविको शालिन अनुरोध कवितामा प्रस्तुत छ।
नझुक्किनुस्
हरेक जुलुसमा प्रायः देखिइरहने
यी अनुहारहरू
मान्छेजस्ता मात्र देखिने हुन्
मान्छे भने होइनन्
मान्छेजस्तैगरि हेर्छन्
झण्डा बोक भन्यो बोक्छन्
बेसरी खोक भन्यो खोक्छन्
कैले रातो झण्डा बोक्छन्
कैले पहेँलो झन्डा बोक्छन्
कवितासङ्ग्रहको शीर्ष कविता ‘आकाश गङ्गाको किनार’ हो। अरबको सन्निकट घाममा पसिना बगाएर दिनचर्या गर्ने युवा कविले यो कवितामार्फत भित्री व्यथालाई खोतलेका छन्। यहाँ घर छोडेर माटो छोडेर आएकालाई राम्रो हाँसिरहेको देख्न त देखिन्छ तर त्यस्तो हुँदैन। महोदय सम्बोधनमार्फत हाम्रा भोगाइका हजारौँ खाल्डा याने पीडाहरू तिमीहरूले देख्न सक्तैनौ, जुन तिमीहरूले देख्छौ, त्यो खालि उज्यालो हो तर त्योभन्दा पर पनि आकाश गङ्गाको किनारमा हाम्रो अँध्यारो क्षितिज छ भन्ने भाव यस कवितामा प्रस्तुत गरेका छन्।
महोदय,
जे देखिन्छ त्यो मात्र सत्य हुँदैन
नदेखिएका हजारौँ खाल्डाहरू
अँध्यारोमा यसरी छोपिरहेका हुन्छन्
हजुरले देखेको उज्यालोभन्दा धेरै पर
आकाश गङ्गाको किनारमा
मैले प्रेम गर्ने
मेरो आफ्नै अँध्यारो क्षितिज बाँचिरहेको छ।
आफू जन्मेको माटो र आफ्नी आमाप्रतिको अगाध माया सुबासचन्द्र बोसले व्यक्त गरेजस्तै यी कवि पनि माटो र आमाप्रति अत्यन्तै नत मस्तक छन्। यो भावलाई यसरी प्रतीकात्मक रूपमा कवितामा व्यक्त गर्दछन्:
बिस्तारै गुमाउँदै जान्छे कान्ति
हराउँदै जान्छ जवानी
र झर्दछे गर्भिणी फूल एकदिन हाँगाबाट
झर्दछे
मर्दछे
कुहिन्छे एउटी फूल
तब जन्मिन्छन्, हजारौँ नयाँ बिरुवा।
‘फूल हुन् आमा’बाट
कुन कवि हृदय विह्वल नहोला, जुन देशका युवाहरू देशका लागि पसिना बगाउने वातावरण नभएर अर्को देशमा गई पसिनाले सिञ्चिन्छन्। आफ्नो भर्भराउँदो उमेर कटाउँछन्। युवा नै नरहेपछि गाउँ सहर समग्रमा युवा विहीन स्वतः हुने भयो। यही सन्दर्भ कवितामा आएको छ:
लाखौँ युवा अहिले पनि विदेशमा छन्
युवा नभएको देशमा कर्मचारी वृद्ध छन्
पेन्सनको लाइनमा वृद्ध छन्
रेमिटेन्स निकाल्न उभिनेहरू सबै वृद्धहरू छन्
बुढो गाडामा बुढो गोरु नारेर बुढो सडकमा
बिस्तारै देश चलाइरहेको छ
बुढो शासक
‘देशको अनुहार’
यस्ता प्रतीकात्मक कविताहरू समेटिएको कवि अजित उत्सवको यस सङ्ग्रहमा लामाछोटा गरी जम्मा ५७ थुँगा कविता उनिएका छन्। यी सबै खाले कविताको मूल भाव मानव मात्रलाई सुसूचित गर्नु नै रहेको छ।
नेपाली साहित्यको समकालीन परिदृश्यमा यिनका कविताहरू सबल उपस्थिति तथा घनिभूत काव्यिक सम्बोधनले कहीँ न कहीँ स्थान लिनेमा शङ्का छैन। कवितासङ्ग्रह प्रथम कदम नै ईर्ष्यालाग्दो भएकाले कवि उत्सवबाट अझै गतिला कृतिहरूको अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: ११ भाद्र २०७९ ०४:२३ शनिबार