नवराज शर्मा
‘यो हरियो वन हाम्रो धन हो। कुनै बेला यसलाई झाडी वन पनि भन्थे।’ बाउले छोरालाई भन्यो।
‘अहिले रुख थोरै झारपात धेरै भएको किन होला?’
‘भोग आफ्नो र विकास प्रकृतिको जिम्मा लाएर।’
एक्कासि बाउले छोरालाई सडकको छेउतिर तान्यो। परबाट बाँदर आउÞँदै थियो। बाउले ‘लम्पसार’ नमस्कार गर्यो। बाँदरले हेर्दा पनि हेरेन।
‘किन यस्तरी तान्नु भा’को?’ छोरा झर्क्यो।
‘ठूलाबडासँग ठोक्कियो भने कानुन लाग्छ भनेर।’
‘कानुन सबैलाई बराबर होइन र?’
‘हो नि तर जंगलमा सानालाई ऐन ठूलालाई चैन हुन्छ। त्यसैले डर मान्नुपर्छ।’
एकछिनपछि ब्वाँसो देखापर्यो। बाउले फेरि छेउ लागेर ‘धनुषटङ्कार’ नमस्कार गर्यो।
छोराले बाउको मुख हेर्यो। बाउले भन्यो,‘यी महाशय महान् क्रान्तिकारी हुन्। सोह्रमा सत्र पारेका छन्। साम्यवादमा लोकतन्त्रको रसायन मिसाउने यी महान् शोधकर्ता पनि हुन्। कुनै बेला यिनको आफ्नै ‘पथ’ थियो।’
‘अहिले!’
‘अरूको ‘राजमार्ग’मा दगुर्दै छन्।’
एकछिनपछि स्याल देखापर्यो। उसले मुठ्ठी उचालेर अभिवादन गर्यो।
छोराले सोध्यो, ‘यी महाशय किन चाउरिएका?’
‘आफ्नै रागले।’
‘अब के चाहन्छन् यी?’
‘नयाँ गठबन्धन र अट्ठा/जोकर।’
अलिपर पुगेपछि झोक्राएर बसेका काला प्राणीतिर इसारा गरेर छोराले सोध्यो, ‘यी श्रीमान् किन झोक्राएका होलान्?’
बाउ मुसुक्क हाँस्यो, ‘सत्ताको नुन खाएर।’
सुस्त गतिमा विपरीत दिशाबाट कछुवा नजिक आएपछि उसले हात मिलायो। भलाकुसारी गर्यो। दुवै आआफ्नो बाटो लागे।
‘कुनै बेला यी महाशयका कुनै पुस्ताले हाम्रो पुस्तालाई हराएका थिए अरे! हो बुबा?’
‘त्यो लिगलिगे बेलाको कुरा हो।’
‘हाम्रा प्रतिद्वन्द्वी पो रहेछन् त।’
‘केका प्रतिद्वन्द्वी! हामी जस्तै च्याँखे थाप्ने हुन् यी पनि। बरु हामी पनि गठबन्धन गरेर च्याँखे दल दर्ता गर्ने हो कि भनेर वार्ता गरेको देखिनस्!’
यति भन्दै बाउले गुलियो वर्तमान सम्झेर मुख मिठ्यायो। छोराले अँध्यारो भविष्य सोच्यो र अँध्यारो मुख लायो।
प्रकाशित: ३ भाद्र २०७९ ०७:४७ शुक्रबार