१७ आश्विन २०७९ सोमबार
कला

जीवन संघर्षका छालहरू

म देशलाई मुक्त गर्न चाहन्छु, सबै किसिमका शोषण उत्पीडनलाई समाप्त गरेर। राज्य एउटा वर्गले अर्को वर्गमाथि शासन गर्ने यन्त्र हो। राज्य वर्गहरूको संगठन हो। हामी राज्यको विलोपीकरण, शोषणविहीन न्यायपूर्ण राज्य बनाउन खोजी रहेका छाैं। सीमा यो साँचो हो, राज्यसत्तामा रहेको शासकवर्गले दलित, उत्पीडित गरिब वर्गलाई दबाएर राखेको छ। अब हामी त्यसका विरुद्ध लड्न आवश्यक छ। अहिले हामी समाजको स्थिर पीडाहरूलाई बदल्न शोषित, पीडित, दलित सर्बहारा वर्गको महान् संघर्षद्वारा जनताको मुक्ति हासिल गर्न कोसिस गरिरहेका छौँ। यिनै महान् लक्ष्य पूरा गर्न सीमा मलाई तिम्रो साथ चाहिन्छ। तिमीसँग मिलेर लाखौँ क्रान्ति योद्धा जन्माउनु पर्ने हुन्छ। मलाई क्रान्तिप्रति रुझान बोकेको माया चाहिन्छ। जीवनका कठिनतासँग लड्न सक्ने विद्रोह र साहस बोकेको तिमीजस्तो योद्धाको साथमा रहेर जीवनले अमरत्व निर्माण गर्न खोजेको छ। सीमा ! असहज पराजयका कठिनतामा पनि टिक्न सक्ने जनताको मुक्तिको संघर्षमा अडान लिएर लडिरहन सक्ने अपराजित योद्धासँग जीवन जिउने प्रण गर्छु म। मुक्ति र मृत्युमा साथै रहन सक्ने लक्ष्य र आँट बोकेको योद्धासँग संघर्षको मैदानमा हुन्छु म। मेरो जीवन नै संघर्ष हो र संघर्ष नै खुसी हो। यसमा नै रम्नुपर्छ भन्ने विचारको आधारमा जीवनलाई संघर्षका गतिहरूबाट अगाडि बढाइरहेको हुन्छु म। हिजो आफूलाई क्रान्तिकारी भन्नेहरूले अहिले नाम, पद, पैसा र प्रतिष्ठामा आफूलाई बेचेर प्रतिगामी र प्रतिक्रान्तिको दिशातर्फ लागेको देख्छु म। तथाकथित क्रान्तिकारी भन्नेहरू हिजो जनताको मुक्तियुद्धमा आफूलाई क्रान्तिकारीको लेबल लगाएकाहरू आज प्रतिक्रियावादी, खलनायक र जनविरोधीको कित्तामा पुगेको देख्छु म।

सीमा, तिमीले क्रान्तिका वैचारिक लाइन बुझेकी छौ, तिमी आफै संघर्षको मैदानमा छौ। त्यसकारण तिमीलाई थाहा छ, युद्धको अन्त्य युद्धबाट हुन्छ। शासकसँग बन्दुक छ। त्यसकारण उसले बन्दुकको बलमा जनतामाथि शासन गरिरहेको छ। शासकले आफ्नो वर्ग स्वार्थभन्दा फरक विचार र सत्ता शक्तिमा हक दाबी गर्नेलाई तत्काल दमन गर्ने गर्छ। संसारमा निःशस्त्र जनताले प्रतिक्रियावादी सत्तालाई जितेर लोकतान्त्रिक शासन स्थापित गरेको इतिहास कहीँ पनि छैन। त्यसकारण सीमा, क्रान्तिले जनताको मुक्तिका लागि बन्दुकको बलको शोषण दमन पीडा निरकुसताबाट मुक्ति पाउन बन्दुकको नालबाट स्वतन्त्रताको संघर्ष गरेको देख्छौ हामी। सीमा, हिजो तिमी हामीले, सामन्ती निरंकुश, केन्दीकृत, एकात्मक राज्य व्यवस्थाले सृजना गरेका शोषण, उत्पीडनको जग भत्काउने महान् जनयुद्ध लडेकै हो। जनताको त्याग बलिदानबाट एउटा निरंकुश सामन्ती कालो युगको अन्त्य भई नयाँ स्वतन्त्रताको प्रत्याभूति दिलाउने युगको सुरुवात भएको हो। यो साँचो हो, जनताको महान् बलिदानले क्रान्तिको एउटा कोर्स पूरा गरेको छ। तर पूरा युद्ध जित्न सकेको अवस्था भने देखिन्न। न जित न हारको अभियानबाट क्रान्तिको गति स्थिर रहेको अवस्था हो यो।

सीमा, त्यो महान् क्रान्तिको युद्धमा तिमीले गरेको समर्पणको भाव संघर्षप्रतिको माया अद्वितीय छ। सीमा, तिम्रो क्रान्तिप्रतिको त्यो त्याग, उत्सर्ग, माया र स्नेहले दुश्मनको बमगोला र बारुदको शक्ति स्वयम् उनीहरूका विरुद्धमा विस्फोट भएको थियो। सीमा, तिम्रो त्यो जेल विद्रोह जसले शत्रुसँग लड्न क्रान्तियोद्धाहरूलाई अपराजित बल र असीम शक्ति दिएको थियो। तिमीभित्र जनसंघर्षको महान् ताकत थियो, जसले ती संघर्षहरूमा क्रान्तिप्रति मजाक, धोका र रोमाञ्चित भावहरू देखाएको कहीँकतै पनि पाएका थिएनाँै। जनताको मुक्ति युद्धमा तिमीले मलाई गर्ने प्रेमका पछ्यौरीहरूमा दुश्मनलाई खतम गर्ने विचार, संघर्षको चट्टानी अडान थियो, जो प्रतिक्रियावादी सत्ताका विरुद्धको लडाइँमा एउटा ग्रेनेट बनेर विस्फोटित हुन्थ्यो। ती हाम्रा प्रेमका सम्बन्धहरू कुनै व्यक्तिगत भौतिक सुख सुविधाका आदर्शले लुटपुटिएर क्रान्ति, आन्दोलन र मुक्तियुद्धबाट स्खलित भएको अवस्था थिएन। सीमा, तिमी र मेरोबीचका सुन्दर मायाका डोरीहरू क्रान्ति आन्दोलनलाई अटुट, अपराजित युद्ध संघर्षमा टिकाएर बाँधी राख्ने महान् सोचहरूले प्रशिक्षित गरेको क्रान्तिकारी विचारको शक्ति थियो। सीमा तिम्रो विचार व्यवहारले हामीलाई देश र जनताको मुक्तिका लागि उच्च त्याग, तपस्या र बलिदानको कोटा बुझाउन आतुर हुन उत्र्सगका महान् विचारले ललकार गर्ने गर्दथ्यो।  

सीमा, तिमीले भुलेकी छैनौ क्रान्तिका महान् आँधीमय दिनहरू, जहाँ जनताको मुक्तिका लागि आफूलाई समर्पित गरेका दिनहरू, जो हामी ती दिनहरूलाई अमर संघर्षका रूपमा सम्झन्छौं। तिम्रो साहसले लाखौँ जनताको मुक्तिका सपनाहरूलाई पूरा गर्ने प्रयत्नलाई चलायमान गराइरहन मद्दत गरेको थियो। म मान्छु सीमा, ती दिनहरूमा तिम्रो क्रान्तिप्रतिको इमान्दारिता, विद्रोहीभाव र निरन्तर क्रान्तिका छालहरूमा पौडिन सक्ने, तैरिन सक्ने साहस र दृढताका सोचहरू कति दृढ छन्। तिम्रा तिनै अटल साहस, त्याग र क्रान्तिप्रतिको अजय विचार व्यवहारले मलाई क्रान्तिको महानायक बन्ने अभिलाषाले प्रेरित गरिरह्यो। ती क्रान्तिका सुन्दर क्षणहरू जहाँ समाजमा स्थिर रहेको अन्याय उत्पीडनका सबै जडहरू भत्काएको परिकल्पना गर्दथ्यौ हामी। हाम्रा ती हजाराँै जनताको त्याग, तपस्या बलिदानले देशको उच्च राजनैतिक शक्तिको एउटा सामन्ती निरंकुश सत्ता ढल्यो। त्यसले अहिले राजनैतिक संरचना बदलियो, नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्यो। क्रान्तिको राप र तापको ज्वाला अहिले सेलाएको छ। अब त क्रान्ति बलिदानबाट प्राप्त सीमित उपलब्धीलाई सुरक्षा, संरक्षण गर्दै भावी क्रान्तिका आधारहरू निर्माण गर्ने अवस्था देखिएको छ। सीमा हामीले खोजेको क्रान्तिलाई अघि बढाउने, मर्न नदिने एउटा अग्रगामी चेतनाको विकास गर्नुपर्ने अवस्था ल्याउने हो। तर देशमा राजनैतिक व्यवस्था परिवर्तन भए पनि सरकार फेरिए पनि समाजको जातीय तथा वर्गीय उत्पीडनको वस्तुगत र मनोगत अवस्थाको स्थिति फेरिएको छैन। सीमा, तिमी हामीले देशको परिवेशलाई बुझेर जनताको बलिदान र त्यागलाई खेर जान दिनुहुँदैन।

सीमा, तिमीले बुझेकी छौ ! जनताले गरेको क्रान्ति, त्याग र बलिदानको आधारमा नयाँ युगको सुरुवात र सृजनाको अवस्थालाई बचाउनुपर्छ, त्यो हाम्रो कर्तव्य पनि हो। जनताको उत्सर्ग, वीरता र बलिदानले त्यो निरंकुश सामन्तवादको राजनैतिक सत्तालाई ध्वस्त गर्न सफल भयो तर सर्वहारावर्गको वर्चश्व रहेको जनवादी राजनैतिक तथा सामाजिक सत्ता आउन नसकेको कुरा यथार्थ हो सीमा। हामी क्रान्तिकारीहरूले पुँजीजीवी वर्गको हातबाट राज्यसत्ता छिनेर दलित गरिब सर्बहारा वर्गको हातमा शासनसत्ता ल्याउन सकेको अवस्था होइन। सीमा, हामी जनताको महान् संघर्षबाट सामन्तवादबाट सत्ता खोस्न सफल भएको हो तर हामी दलित गरिबको हितमा शासनसत्ता स्थापित गर्न सकेको अवस्था होइन। अहिले यिनै पँुजीपति वर्गसँग मिलेर क्रान्तिकारी वर्गले चुनावबाट जनसत्ता ल्याउने रहर बोकेर चुनावलाई प्रयोग गर्छु भनिरहेको अवस्था हो। त्यो महान् क्रान्ति सम्झौतामा टुङ्गिएपछि संघीय लोकतान्त्रिक गणतन्त्रबाट केही सुधारका कुराबाहेक क्रान्तिकारी उथलपुथल र आम रूपान्तरणका कुरा प्राप्त गर्ने आधार छैन। स्थिर समाजको उत्पीडन र वर्गीय शोषणको चरित्रलाई बदल्न एउटा फेरि अर्को क्रान्तिको आवश्यकता पर्छ सीमा। तिमीले भनेजस्तै क्रान्ति एउटा बिसौनीमा थकाइ मारेर बसिरहेको अवस्था छ। अब पुनः क्रान्ति सुरु गर्ने आँट क्रान्ति योद्धाहरूबाट सुरु गर्नु आवश्यक छ।

सीमा, हामीले जनताको मुक्तिका लागि क्रान्तिकारी मालेमावादको सिद्धान्तको आलोकमा सृजनात्मक प्रयोग गर्ने आट गर्न अनिवार्य छ। अहिले क्रान्तिका लागि देशमा वस्तुगत अवस्था तयारी छ कि छैन, यसको संश्लेषण गरौं। क्रान्तिका लागि वस्तुगत र मनोगत अवस्था तयार हुने बित्तिकै आम रूपान्तरणमा सचेत संघर्ष सुरु गर्नु आवश्यक हुन्छ। हामी जो अन्याय, उत्पीडन वा बाँचेको क्रान्तिकारी वर्ग छ, त्यही दलित गरिब सर्बहारा सीमान्तकृत वर्ग पुनः नेपाली क्रान्तिको प्रेरक वर्गको रूपमा क्रान्तिको महान् संघर्षमा आउने छ। सीमा, हामी सरलताबाट जटिलता, छिपछिपेबाट गहिराइ, सामान्य संघर्षबाट उथलपुथलको संघर्षमा जाने हो। यो समाज विकासको अनिवार्य नियम पनि हो। अब हामीले हाम्रो मुक्तिका लागि आवेगमा होइन, बढी धैर्यताका साथ क्रान्तिकारी विचार र व्यवहारका माध्यमबाट थप संघर्ष, आन्दोलनको सुरुवात गर्नै पर्छ।  

सीमा, नेपाली समाजको वर्ग विश्लेषण गर्दा तिमीले भन्ने गर्छौ मध्यम वर्ग र निम्न पुँजीपतिवर्ग क्रान्तिलाई सम्पन्न गर्न आउने सहायक वर्ग हो। तर हामीभन्छौं, क्रान्ति आन्दोलनको सुरुवात र विजय प्राप्त गर्ने क्रान्तिधर्मी वर्ग भनेको दलित, गरिब, महिला जनजाति, मधेशी सीमान्तकृत तथा सर्बहारावर्ग नै हो। यो नेपाली समाजको क्रान्तिधर्मी वर्ग हो, यसलाई नै क्रान्तिको नेतृत्व सुम्पनु पर्छ। जसबाट क्रान्तिलाई धोका हुन सक्दैन। यसमा क्रान्ति पूरा गर्ने वर्ग सचेतता र समर्पणको भाव उच्च रहन्छ। किनकि यो सीमान्तकृत, दलित ,गरिब सर्वहारावर्ग अवसरवादी वर्ग होइन। यसले त्यागमा आफ्नो अस्तित्व निर्धारण गर्छ। यसमा क्रान्तिलाई सम्पन्न गर्ने साहस रहेको हुन्छ। यसमा बीचमा क्रान्तिलाई धोका दिने वर्गस्वार्थ रहको हुँदैन। नेपाली समाजलाई हेर्दा क्रान्तिप्रतिको रुझान बोकेको दलित ऐतिहासिक सर्बहारावर्ग, महिला, मधेशी, गरिब, सीमान्तकृत, जनजाति र उत्पीडित वर्ग नै हो। त्यसलाई सत्तामा स्थापित गर्ने कार्यनीतिका साथ क्रान्तिलाई सुरुवात गर्नु जरुरी भएको छ। यही वर्गलाई मालेमावादको सार्वभौम क्रान्तिकारी सिद्धान्तद्वारा प्रशिक्षित गर्दै क्रान्तिको नेतृत्व गर्ने संरचना तयार गर्नु जरुरी छ। अहिले आएर अरू वर्गबाट क्रान्तिलाई धोका दिने काम भयो र निरन्तर क्रान्तिमा अटल भएर बसेको अवस्था देखिएन। यही अग्रगामी शक्तिलाई संगठित गर्दै क्रान्तिमा देखिने कठिनता र अवसरवादी, संशोधनवादी, प्रतिक्रान्तिकारी चरित्रलाई पहिले देखि नै नष्ट गर्र्दै जाने संरचना निर्माण गर्नुपर्छ। यिनै महान् विचारलाई जोडेर भावी क्रान्तिका कार्यदिशा बनाउन आवश्यक छ सीमा।

सीमा, मैले तिमीसँग काम गर्दा भनिसकेको थिएँ। हामीले पूर्ण क्रान्ति जित्न नसकेको कुराको सही विश्लेषण गर्नु जरुरी छ। हिजो क्रान्तिको समयमा असी प्रतिशत भूगोलमा जनसरकार थियो। करिब ३५ हजार जनमुक्ति सेनाले क्रान्तिको रक्षा र सुरक्षा दिएको अवस्था थियो। लाखौँ जनमिलिसिया र हजारौँ अर्ध सुरक्षादस्ता तथा वाइसेलले क्रान्तिलाई टेवा दिइरहेको परिवेश थियो। क्रान्तिका तीन जादुगरी हतियार एक मालेमावादको महान् क्रान्तिकारी विचारधाराले लैस राजनैतिक पार्टी दुई क्रान्तिकारी पार्टीलाई विशाल जनमुक्ति सेनाद्वारा संरक्षित फौजी शक्ति तीन क्रान्तिकारी संयुक्त मोर्चा जसले क्रान्तिका अग्रगामी शक्तिलाई एकताबद्ध गर्दै क्रान्ति सम्पन्न गर्न भीषण वर्गसंघर्षद्वारा लामो समयदेखि त्याग, तपस्या र बलिदानबाट क्रान्तिकारी युद्ध लडेकै हो। तर यो क्रान्तिले सर्वहारावर्गको नेतृत्वमा केन्द्रीय सत्ता कब्जा गर्न सकेन। सीमा, हामीले देख्यौँ, ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिअनुसार धदीकोट, थानकोटमा जनसेनाले प्रतिक्रियावादी सत्ताको फौजी ताकतको सानो टुकडीसँग लडेको हो, जितेर आएको हो। तर अन्त्यमा क्रान्तिकारी केन्द्रीय शक्तिका, क्रान्ति योद्धाहरूले चे गोबारा, फिडल क्याष्ट्र, किमिल सुड, हो चि मिन्ह र माओ बन्न सक्ने महान् ताकत नेतृत्वले देखाउन सकेन। ऊ आफै पूर्ण जनयुद्ध जित्ने अजय, अपराजित शक्ति बन्न सक्ने साहस गर्न सकेन। नेपाली क्रान्तिकारी योद्धाहरूमा आत्मसुरक्षावादी धारले गर्दा म हार्छु कि, पराजित हुन्छु कि भन्ने सोचले प्रभुवर्गको अगाडि झुकेको अवस्था हो। नेपाली क्रान्तिलाई पराजय व्यहोर्र्नु परेको पेरुको साइनिड पाथ क. गोञ्जालोको निरासामुखी अवस्थासँग तुलना गरेको अवस्था थियो। जसले विजय उन्मुख नेपाली क्रान्ति एउटा सम्झौतामा टुङ्गियो। सीमा, यिनै कुरालाई संश्लेषण गर्नु जरुरी छ।

सीमा, तिमी त विद्रोही क्रान्तिका लागि जीवन समर्पित गरेको मान्छे हो। जनताद्वारा महान् त्याग तपस्याबाट प्राप्त राजनैतिक उपलब्धीलाई बचाउन ठोस विश्लेषण गर्नुपर्छ अब। अहिले हामीले प्राप्त गरेको संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता हो। बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणाली हो। संविधानको प्रस्तावनामा उल्लेख भएबमोजिम लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादमा प्रतिबद्ध रही समृद्ध राष्ट्र बनाउने भन्ने मात्र हो। देशको मुक्तिका लागि भनेर १७ हजारको महान् बलिदान, हजाराँैको बेपत्ता योद्धा, सयौंको गोलाबारुद छर्राद्वारा शरीर अडगभडग भएका घाइते अपाङ्ग योद्धाहरूको उत्सर्गले प्राप्त गरेको यो संसदीय व्यवस्था मात्र हो। यो बुर्जुवा समाजवादमा रूपान्तरित हुन्छ। त्यसभन्दा अघि वैज्ञानिक समाजवादी क्रान्तिको विकास गर्न थप संघर्षका कार्यदिशा बनाउनु पर्छ सीमा, हामी क्रान्तिकारी योद्धाहरूले। यो विषयमा हामीले समाज विकासका चरणहरूबारे गम्भीर छलफल गर्नु अनिवार्य छ। निश्चित रूपमा हिजो हामीमा क्रान्ति पूरा गर्ने वस्तुगत अवस्था र मनोगत अवस्था त थियो तर त्यसलाई विजयोन्मुख अवस्थामा बदल्ने आँट र साहस केन्द्रीय नेतृत्वमा थिएन। 

सीमा, तिमीलाई थाह छ, हिजो हामीले खोजेको जनताको बलिदानको कीर्तिमानको आधारमा क्रान्तिलाई फाइट एन्ड फिनिसको अवस्थाबाट विजय गर्ने आधारमा उठाउन खोजेको हो तर त्यो पूरा भएन। २०६४ को चुनावमा प्रथम पार्टी बनेर आउँदा पनि कुशलतापूर्ण संविधानसभाबाट क्रान्तिकारी जनवादी संविधान बन्ने वस्तुगत आधार बनाउन सकिएन। क्रान्तिकारी नेतृत्व वर्गले हतारमा क्यानटोनमेन्टमा रहेका सबै जनमुक्ति सेनालाई प्रभूवर्गको अगाडि सुम्पिदियो। ती जनसेनालाई ठूलो संख्यामा नेपाली सेनामा न्यायोचित तरिकाले व्यवस्थापन गर्न पनि सकेन। त्यति बेला क्रान्तिकारी वर्गको आफ्नो सरकार थियो। कटुवालकाण्ड आउन दिने अवस्था थिएन। त्यसलाई धैर्यतापूर्वक सामना गर्नुपर्दथ्यो आफै सत्ता छोडनुपर्ने आवश्यकता थिएन। सरकारले संसद्मा विश्वासको मतको सामना गर्न सकिन्थ्यो तर भएन। राजनीतिमा आदर्शले त्यति काम गर्न सक्दैन, त्यहाँ वर्ग स्वार्थले काम गरेको हुन्छ। सीमा हामीले नेपाली क्रान्तिका यी चरित्रलाई बुझ्न जरुरी छ।

सीमा, हामीले भोग्याैं अहिले, हिजो आफूलाई क्रान्तिकारी भन्नेहरू आत्मसमपर्णवाद, विर्सजनवाद र क्रान्तिकारी कल्पनावादमा (रिभोलुसनरी रोमान्टसिजम) पतन भएको अवस्था हो। अहिले आफूलाई सिंगो क्रान्तिकारी भन्नेहरू दलाल संसदीय पूँजीवादी व्यवस्थामा रुमलिएर चुनावबाट सत्तामा पुग्ने र त्यहीँ रमाउने विचार चिन्तनबाट अघि बढिरहेको अवस्था छ। जो चुनावलाई बहिस्कार गरेको घोषणा गर्छन्, सारमा उनीहरू पनि संसदीय व्यवस्थाको चुनावी संरचना र त्यसको प्रभावको विषयमा बोल्न नसकेको अवस्था पनि हो।

प्रकाशित: २८ श्रावण २०७९ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App