१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरामा ‘छाइल’ उपन्यासको विमर्श

पोखरामा लोकराज भट्टको उपन्यास ‘छाइल’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ। प्रकाशक ‘बुक्स हिमालय’ ले ‘पुछारसिटे अभियान’ को संयोजनमा हिमालयन रिडर्स कर्नर, पोखरामा लोकराज भट्टको उपन्यास ‘छाइल’ को विमर्श चलाएको हो।

लोकराज भट्टको उपन्यास ‘छाइल’ पोखरेली पाठकहरूले पनि रुचाएका छन्। डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको चित्रण गरेको उनीहरूले बताएका छन्। ‘उपन्यासमा मिठो भाषामा सुदूरपश्चिमको कथा भनिएको छ। उपन्यासले पाठकलाई तानिराख्छ’, समीक्षक सञ्जीव पौडलले भने, ‘सुदूरपश्चिमको सभ्यताको छाया हो छाइल।’

डोट्याली भाषा ‘छाइल’को अर्थ हुन्छ छाया। ‘छाइल’मा सुदूरपश्चिम प्रदेशको डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन्। पुर्खाको इतिहास, संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई यसले देखाउन खोजेको छ। समीक्षक गौरी तमूले सुदूरपश्चिमको सभ्यता र स्वाभिमानको कथा काव्यात्मक रूपमा प्रस्तुत गरिएको छाइल उपन्यास पठनीय रहेको बताए।

उपन्यासमा अनाम गाउँका एकजना युवाको सपना र संघर्षको हृदय पगाल्ने कथा छ। यसले जीतुराजको बाल्यकालदेखि युवाकालसम्म उपन्यासले फन्को लगाएको छ। शहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फक्र्यो त? उपन्यासमा पाठकले यसको सुखद् समाधान पाउने छन्।’

पिता र पुत्र बिचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुसँग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाका नभनिएका आत्मीय कथा भेटिने छ। जीतुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम र उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँसम्मै पु¥याउँछ।

मजाले माटोको रङ पोतिएको छ ‘छाइल’मा। प्रकृतिको संगीतले मनलाई शीतल पारिदिन्छ। डेउडाका झंकारले मन नृत्यमग्न पारिदिन्छन्। सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्।

कार्यक्रममा हसिना बस्नेतले पाठकीय प्रतिक्रिया दिइन्, ‘छाइलमा बालमनोविज्ञानको मिठो चित्रण छ।’ कार्यक्रममा पत्रकार घनश्याम पौडेलले भने ‘यति मिठो पारामा लेखिएको उपन्यास मैले यस अघि पढेको थिइनँ।’ त्यस अवसरमा समीक्षकहरूले उपन्यासको दुर्बल पक्ष पनि औंल्याएका थिए। ‘यसमा वर्तमान सुदूरपश्चिमको जीवन्त तस्वीर त आएको छ’, समीक्षक पौडेलले भने, ‘उपन्यासकारले सदूरपश्चिमको भविष्यको मार्गचित्र पनि देखाएको भए झन् राम्रो हुन्थ्यो।’

समीक्षक तमूले त उपन्यासमा महिला पात्रलाई कमजोर रूपमा उभ्याएकोमा असहमति जनाइन्। ‘सुदूरपश्चिममा जसले पनि बाका मात्र कुरा ल्याउँछन्। बाका मात्र पीडा देखाउँछन्। आमाका कथा किन आउँदैनन’, उनले सोधिन् ‘छोराछोरीका लागि के बाले मात्रै सपना देख्छन्। आमाले देख्दैनन्?’

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले समाजको वास्तविक कथा बोकेको साहित्य नै मौलिक साहित्य हुनेमा जोड दिए। छाइल’ उपन्यास जस्तै अन्य कृति अनुवाद भए विश्वसाहित्यले नेपालको अवस्था बुझ्नेछ’ उनले भने, ‘सुदूरपश्चिम, कर्नाली र हिमाली साहित्य अझै लेखिनुपर्छ।’

उपन्यासकार भट्टले सहभागीहरूलाई धन्यवाद दिंदै विमर्शबाट पाएको सुझाव पालना गर्दै जाने बताए। सुदूरपश्चिमका सांस्कृतिक अध्येता हेमन्त विवशले डेउडा गाउँदै प्रभावकारी ढंगले कार्यक्रम चलाएका थिए। प्रकाशन संस्थाका प्रमुख पवन शाक्यले पोखराबाट थालिएको पुस्तक यात्रा चितवन, विराटनगर, नेपालगञ्ज हुँदै धनगढीसम्म पुग्ने बताए।  

प्रकाशित: २३ श्रावण २०७९ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App