२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पेन्सन

लघुकथा

गुप्तबहादुर श्रेष्ठ

वृषबहादुर सरकारी सेवाबाट निवृत्त भएको पनि २५ वर्ष पुगिसकेछ। जागिरमा छँदा आएको मासिक तलब केही आफैंले खर्च गर्थ्यो र केही घरमा पठाउँथ्यो त्यो रकम घरका लागि पर्याप्त थिएन। जागिर छँदा नै केही रकम बचत गर्नुपर्छ भन्ने उसको चेत आएन। मोजमस्तीमै समय बितायो। निवृत्त हुँदाको समयमा आएको केही रकमले उसले झुपडी बनायो र त्यसैमा गुजारा चलाउँदै आएको थियो।

सेवामा हुँदा पनि उसले राम्रो धन आर्जन गर्न नसकेकाले एउटी छोरीको पनि राम्रो शिक्षा दिने सामर्थ्यभएन। छोरी हुर्की, बढी र आफ्नो बाटो लागी। श्रीमती पहिलेदेखि नै रोगी भएकी थिई। रोगको निदान पनि भएन र उपचार पनि पाउन नसकेर ऊ पनि मरी।

समय बित्दै जाँदा पेन्सन रकम पनि बढ्दै गएको थियो। तैपनि उसको अरू आम्दानी नभएकाले पेन्सनले महिना गुजार्न धौधौ हुन्थ्यो। यति हुँदाहुँदै पनि केही थोरै रकम बचत गरेर उसले बैंकमा मुद्दती खाता खोलेर राख्यो। वार्षिक रूपमा केही ब्याज आउला र आफ्नो खर्च टारौंला भन्ने उसको योजना थियो।

उमेरले पनि सत्तरीको नेटो काटेपछि ऊ पटकपटक बिरामी पर्न थाल्यो। उसँग आउने पेन्सन रकमले महिना गुजार्न र उपचार गर्न गाह्रो हुँदै गइरहेको थियो।

एकदिन ऊ बढी नै बिरामी परेर अस्पताल जानुपर्ने भयो। अस्पतालमा उसले भर्ना भएर उपचार गर्नुपर्ने भयो। भर्ना हुन केही रकम डिपोजिट गर्न भनियो। उसँग त्यति रकम थिएन। ऊ सामान्य उपचार गराएर घर फर्कियो।

उपचारका लागि पैसा आवश्यक भएकाले आफ्नो रकम फिर्ता दिन बैंकलाई अनुरोध गर्‍यो। बैंकले निश्चित समयका लागि भनेर राखिएकाले सो रकम दिन नमिल्ने तर अब केही दिनमै ब्याज रकम आउने भएकाले ब्याज लगेर काम चलाउन वा आफूले जम्मा गरेको रकमबाट ऋण लिन चाहे लिन सकिने भएकाले ऋणका लागि आवेदन गर्न सुझाव दियो। उसले बैंकमा ऋणका लागि निवेदन दियो। ऋण पाउन प्रक्रिया पूरा गर्न २ दिन लाग्ने हुँदा २ दिनपछि बैंकले खबर गरेपछि आउनु भनेर पठायो।

बैंकबाट फर्केपछि उसलाई तत्काल उपचारको आवश्यकता भयो तर पैसै भएन। उसले केही रकम सापटी दिन छिमेकीहरूसँग गुहार माग्यो तर डुब्ने डरले छिमेकीहरूले पैसा दिन मानेनन्। तर, सबैले थोरैथोरै रकम सहयोगस्वरूप दिए। उसलाई फेरि अस्पताल लगियो। भर्ना गरियो। उसलाई तत्काल अप्रेशन गर्नुपर्छ भन्ने डाक्टरको राय थियो। पैसाको अभावमा अप्रेशन भएन। बैंकबाट खबर आउने आशामा रहे। उनको भाग्य र स्वास्थ्यले साथ दिएन। उनी अब अचेत हुन पुगे। उनले अन्तिम सास फेर्दै गर्दा बैंकबाट फोन आयो। उनी देहत्याग गरेर अनन्तयात्रातर्फ लागे।

प्रकाशित: १८ श्रावण २०७९ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App