१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बजेट

लघुकथा

लक्ष्मण थापा

स्वर्णभूमि पालिकाको प्रमुख रातमाटे निर्दोषीको विशाल कार्यकक्षमा ओछयाइएको बाक्लो बेल्जियम कार्पेटमाथि पाइला चाल्दै पालिकाको मुख्य लेखा अधिकृत लेखराज प्रेमी प्रमुखको दायाँतिर उभिएर हात जोड्यो।

‘नमस्कार प्रमुख सर!’

प्रमुख रातमाटेले ठूलै गुन लगाएझैं गरी टाउको हल्लाएर अभिवादन स्वीकार गर्‍यो। गालाबाट तप्पतप्प रगत चुहेलाजस्ता राता गाला भएको रातमाटेको पछाडि टाउकोमाथि तस्वीरमा देशका राष्ट्रपति र प्रधानमन्त्रीका पुष्ठिएका अनुहारहरू मुसुमुसु गरिरहेका थिए।

‘पालिकाको आगामी वर्षको बजेट तयारीको खवर के छ?’ रातमाटे अगाडिको विशाल टेबुलमा फैलिएको पत्रिकातिर सर्सर्ती आँखा डुलाउँदै भुनभनायो,‘स्साले सत्रकारहरू, जाँड पनि खान्छन्, पैसा पनि लान्छन् र विरोधमा पनि लेख्छन्।’

लेखा अधिकृतमा आँखा पनि पत्रिकाका हेडलाइनतिर दौडिए। त्यहाँ लेखिएको थियो, ‘स्वर्णभूमिको प्रमुखको मिलेमतोमा राते खोलाको पुल बन्दाबन्दै भत्कियो।’

लेखा अधिकृतको मुहार पनि रात्तियो।

‘सकिन लागेको छ। यो हेरौं त, सर’ भन्दै कागजको मुठा प्रमुखको अगाडि पस्कियो।

प्रमुखले पराल खान मन नगरेको साँढेले झैं कागज पल्टाउन थाल्यो।

‘आगामी वर्ष लगाउने करमा के परिवर्तन गर्दै हुनुहुन्छ?’

‘एैले पानीपुरीको लोकप्रियता बढेकाले एउटा पानीपुरीमा दुई रुपैयाँ, चटपटे व्यापारीलाई दिनको तीन सय, भिखारीलाई दिनको सय रुपैयाँ, कुखुराको अण्डामा पाँच रुपैयाँ, भैंसी ब्याउनेलाई पाँच सय, एक मुठा सागमा सात रुपैयाँ, मान्छेले बच्चा जन्माए पच्चिस सय, मरे प्रमाण लिन सात हजार..!

‘यस्तै छ। आफैले सर्सर्ती हेरिबक्स्योस् न!’ लेखा अधिकृतले कपाल कन्यायो।

‘त्यसरी त पालिकाको आम्दानी मनग्य बढ्ने भो! खर्चको हाल के छ त?’

‘आम्दानी अन्सार छुट्याइदिएको छु। पालिकाका सदस्यहरूको एकाघरका विहेमा पाँच लाख, बाबुआमा कोही मरेमा पचास हजार र एक दिन पालिकाभित्रका कार्यालय र विद्यालय बन्द गर्ने, सबै सदस्यहरूलाई एउटा-एउटा मोटरसाइकल र मासिक पाँच हजार पेट्रोल खर्च...।’

‘यस्तो पनि हुन्छ? अलि सुधार्नोस्!’ प्रमुखले बीचैमा कुरा काट्यो।

‘यता हेरिबक्स्योस् न!’ लेखा अधिकृतले अर्को पाना पल्टायो।

‘गाउँको ढुंगा खानीमा लाग्दै आएको करमा आधा रकम छुट (ढुंगा खानीको संचालक प्रमुखको भाइ थियो), प्रमुखका छोराछोरीको पढाइ खर्चवापत वार्षिक पाँच लाख अनुदान, प्रमुखका स्वर्गीय पिताको स्मृतिमा राते खोला छेउमा पचास रोपनी जग्गामा स्मृति पार्क बनाउन दुई करोड़ र सराद्देका दिन पालिकाका सबैलाई सार्वजनिक बिदा...।’

‘लल ठिक छ। मेरो तर्फबाट सबै पास.!’ प्रमुखले ढल्केर आफ्नो टाउको माथिका तस्वीरहरू हेर्‍यो।

प्रकाशित: १६ श्रावण २०७९ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App