रमेन्द्र कोइराला
सरुलाई महिनावारीले दिक्क लगाउँथ्यो। कहिलेकाहीं त स्कुलमै भइदिन्थ्यो। बाहिर देखिएला भन्ने डर। बेञ्चमा लाग्ला, केटाहरूले देख्लान् भन्ने डर। मुडै अफ हुने। शरीर नै आलस्य हुने। केटाहरूले थुके भने आफ्नै गन्धले थुकेको हो कि भन्ने लाग्ने। हाँसे भने आफंैलाई देखेर हाँसे कि भन्ने लाग्ने। बडो आपत! के गर्ने ऊ विचलित हुन्थी।
झन् कष्टपूर्ण भयो भने त चार दिन स्कुल नै बन्द हुन्थ्यो। पढाइ र गृहकार्य छुटेर हैरान हुन्थ्यो।
ऊ सोच्थी, ‘यो कष्टबाट पार पाउन पाए कति आनन्द आउँथ्यो!’
एकदिन नवजात शिशु च्यापेकी छिमेकी काकीलाई भनी, ‘काकी, यो महिनावारी हामीलाई मात्र किन हुन्छ? पुरुषलाई पनि हुनु नि! मलाई त साह्रै दिक्क लागेर आउँछ।’
काकीले सम्झाउँदै भनिन्, ‘हेर, यो शिशु काखमा च्यापेर मैले जुन आनन्द लिइरहेको छु नि त्यसको स्रोत भनेकै महिनावारी हो। यति ठूलो आनन्द पुरुषलाई कहाँबाट आउँछ र? त्यसकारण धैर्य गर र महिनावारीको अनुभव गर।’
प्रकाशित: १६ श्रावण २०७९ ०६:१४ सोमबार