शुक्रराज कुँवर
सरकारी कार्यालयमा राम्रै ओहोदामा पुगेका श्यामभक्त सम्पत्तिले पनि धनधान्य थिए। धर्मकर्ममा उनको विशेष रूचि थियो। विहानको नित्यकर्मपछि उनी एकघण्टा त पूजापाठमै व्यस्त रहन्थे।
घरमा मात्र नभई उनी बाहिर समाजमा पनि विभिन्न धार्मिक कार्यहरूमा सक्रिय रहन्थे। कहिलेकाहीं समाजमा हुने धार्मिक अनुष्ठानमा प्रवचन पनि दिन्थे। यसैकारण जान्ने/बुझ्नेहरू उनलाई धर्मभीरु मान्दथे। विभिन्न मठमन्दिरमा नित्यपूजा गर्नुका अतिरिक्त देशविदेशका धार्मिक क्षेत्रहरूमा तीर्थाटन पनि गरिरहन्थे।
उनी जतिसुकै धर्मभीरु भए पनि उनको मनमा शान्ति थिएन।
घरकी अर्धाङ्गिनी दीर्घरोगी थिइन् भने अरू अनेक कष्ट पनि भोगिरहन्थे। एकपटक सपरिवार तीर्थाटन गएको बेला दुर्घटनामा पनि परेका थिए। त्यस्ता दुःखकष्ट निवारण उपायका लागि उनी कहिलेकाहीं ज्योतिषको शरण पनि पर्थे।
वर्षातको समय थियो। एकदिन उनी कार्यालयमा काम गरिरहेको बेला पहाडमा पहिरोले खेत लग्यो भनेर दुःखद खबर पाए। उनलाई कार्यालयमा बस्नै मन लागेन र निराश भएर घर फर्कदै थिए। बाटामा साथी प्रमोद भेटिए। प्रमोद उनलाई र उनको व्यवहारलाई राम्ररी चिन्दथे र ठट्यौलो पारामा सोधे, ‘के भयो हाम्रो हाकिम साबलाई? निकै निराश देख्छु त।’
‘प्रमोद, यो धर्मकर्म र पाठपूजा भन्ने कुरा मिथ्याजस्तो लाग्न थाल्यो मलाई त।’ श्यामभक्तले प्रमोदलाई आफू निराश हुनुपर्ने सबै कारण बताए।
कुरा सुनिसकेपछि प्रमोदले कटाक्षपूर्वक सुझाउँदै भने, ‘हेर श्यामभक्त, भगवानको पाठपूजा र धर्मकर्मले मात्र पुग्दैन, आफ्नो पेशागत धर्म पनि कायम गर्ने गर्।’
वास्तवमा श्यामभक्त कथित धर्मभीरु भए पनि घुसबिना डेग नचल्ने सरकारी कर्मचारी थिए।
प्रकाशित: १३ श्रावण २०७९ ०६:१९ शुक्रबार