विकल आर्त
१)गजल
विछट्टै सजिएर तिमी श्रृङ्गारमा आउनु,
अपार मूल्यवान् भएर बजारमा आउनु।
अस्तित्वहीन मलाई होलसेलमा किन्न,
मूल्यहीन अभियानको मझधारमा आउनु।
तिमी मर्दैनौ शरीर मर्छ यो सत्य कुरा हो,
छाडेर मूलघाट तिमी किनारमा आउनु।
तान्दिनँ तिम्रो पछ्यौरी बिनास्वीकृति म,
क्लियोपेट्रा होइन शशि भई दरबारमा आउनु।
समाल्छु, अँगाल्छु, छातीभरि टाल्छु पनि,
मलाई अबेर होला तिमीचाहिं हत्तारमा आउनु।
२)गजल
तिम्रो दिलभित्र पस्न मन लाग्यो ठाउँ छ कि छैन सानू?
सम्झिएर आउँदाखेरि स्वागत गर्ने गाउँ छ कि छैन सानू?
समाजले स्वीकारेन भने परिवारले पनि लखेट्दा,
कोठाभित्रै भाग्नलाई सुरुङ खन्ने दाउ छ कि छैन सानू?
जवानीका रंगीन छालहरूले झाँक हाल्न थालेपछि,
पलपल दुःखी रहने त्यो दिलभित्र घाउ छ कि छैन सानू?
कंगाल भई त्यताबाट फर्किएको बेला प्रवासी मलाई,
हाम्रो लागि बाटोबीच कोशी तर्ने नाउ छ कि छैन सानू?
मैले सोधेको अन्तरस्पर्शी अमृता तिमीलाई नै हो?
हृदयमा धड्की रहने यो ‘विकल’ ताउ छ कि छैन सानू?
३) गजल
गाउँमा मुर्चुङ्गा, विनायो, डम्फू, मादल घन्किएकै हुन्,
रोगीहरू छटपटाइरहे घाउ, चोट टन्किएकै हुन्।
कसले खोजी गर्ने र! स्वार्थ र आडम्बरको माहौलमा,
नैतिकता, कर्तव्य, जिम्मेवारी र धर्म थन्किएकै हुन्।
रोक्नु, छेक्नुपर्छ भन्ने धेरै छन् तर आफू तम्सिदैनन्,
जता हेर्यो उस्तै ज्वालामुखी पहाड दन्किएकै हुन्।
अरूको दुःख देख्नेहरूको बेहाल हुन्छ कन्तवियोग,
स्वास्थ्यकर्मीको भागमा लाम्खुट्टे, झिँगा भन्किएकै हुन्।
त्यो ठावै त्यस्तै छ त्यहाँ पुगेपछि सबै कुरा बिर्सिन्छ,
साँच्चिकै भण्डारमा पुग्नेहरू जति सबै सन्किएकै हुन्।
४) गजल
विश्वमा सगरमाथा नेपालीको भएर शिर मुस्कुराइरहन्छ ।
बुद्धले शान्ति फैलाएर नै त हाम्रो तक्दिर मुस्कुराइरहन्छ।
संसार जित्दै आएका अंग्रेजसँग चन्द्रसूर्य हारेनन् नेपाली,
त्यसैले त नेपाली वीरवीरङ्गानाको तस्वीर मुस्कुराइरहन्छ ।
नतीजा नआउन्जेल रहस्यको महत्त्व कसैलाई थाहा हुन्न,
जब कापबाट सुनाखरी फुल्छ त्यसबेला भीर मुस्कुराइरहन्छ।
भाषा, संस्कृति, सभ्यताको नमूना बन्नुपर्छ विश्वमा नेपाल,
अनेकतामा एकता, एकतामा विविधता यही जञ्जिर मुस्कुराइरहन्छ।
सिक्नेहरू काँचो माटो हुन् जिम्मा अध्यापककै भयो आकार बनाउने,
जलाऊ जति डढाउन सक्छौ झन बेस्सरी सुन आखिर मुस्कुराइरहन्छ।
५) गजल
अर्को कुन छ पहाडको वारपार चाँदी टल्किएको देश।
दक्षिण त कहिले उत्तर नाइकेसँगै ढल्किएको देश।
स्वतन्त्रता छ ती साँढलाई आफूआफू जुधाजुध गर्न,
जुधेको निहुँ पारेर बिचरा बाछा मिच्न पल्किएको देश।
बाघ वनमा मात्रै खतरा हुन्छ मान्छेको बस्तीमा हुन्न,
उही खोरमा नथुनेरै अद्योगतितिर हल्किएको देश।
लगामबिनाको घोडा अनियन्त्रितजस्तै भा’छ अचेल,
र त गुराँस ढालेर कमल सार्न यता सल्किएको देश।
प्राकृति छटा र बहुरंगी फूलका मालामा सजिएर,
सर्वसम्पन्न छ तर सरापेको आँसुले छल्किएको देश।
प्रकाशित: १२ श्रावण २०७९ ०५:४९ बिहीबार