१९ असार २०८१ बुधबार
image/svg+xml
कला

द्वन्द्वमा हराएको छोराको कथा हो ‘पानीफोटो’

तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि दश वर्षसम्म जनयुद्धको नाममा सशस्त्र द्वन्द्व गर्‍यो। त्यो द्वन्द्वको क्रममा कैयौं मानिसले ज्यान गुमाए। बेपत्ता र घाइते भए भए। ज्यान गुमाउनेहरु त मरेर गए नै, तर बेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

जसका कारण सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रुपान्तरण भएको डेढ दशक बितेपनि बेपत्ता परिवार प्रताडित छ। अहिले पनि छोरोको खोजिमा आफन्त भौतारिनु परेको छ। फिल्म ‘पानीफोटो’ को कथा यस्तै विषयको सेरोफेरोमा छ। आगामी शुक्रबारदेखि यो फिल्म प्रदर्शनमा आउँदैछ।

चलचित्र प्रदर्शनमा आउने भएपछि यसको टिम प्रचार-प्रसारका लागि देश दौडाहामा निस्केको छ। सोही क्रममा चलचित्रका निर्माता, निर्देशक, कथाकार तथा कलाकार खगेन्द्र लामिछाने पोखरा आएका छन्। उनले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर चलचित्रको कथावस्तु र दर्शकको साथ र माया पाउने विश्वास व्यक्त गरे।

‘म आफैं पनि द्वन्द्वमा मामा गुमाएको भाञ्जा हुँ,’ उनले भने, ‘मेरो मावली हजुरआमा, माइजू, म लगायत मामाको खोजी गरिरहेका छौं, बेपत्ता हामी जस्तै परिवारको कथा भन्ने प्रयास पानीफोटोमा गरिएको छ।’ उनले धेरै अगाडि लेखेको कथालाई बल्ल चलचित्रको माध्यमबाट बताउने प्रयास गरेको सुनाए।

‘यो कथा भन्ने धेरै अगाडिदेखि सपना साँचेर राखेको थिए। त्यो सपना पूरा गरेको छु’ उनले भने। माओवादी सशस्त्र द्वन्द्वले सकारात्मक सन्देश पनि दिएको छ,’ उनले भने, ‘सचेतना जगाउने, अधिकार स्थापित गर्ने, कथित दलित र मजदुरले शीर उठाएर जो कसैसँग भन्न सक्ने स्थिति पनि बनाएको छ। तर कैयौं नकारात्मक प्रभाव छाडेर गएको छ द्वन्द्वले। तीनै धेरै मध्येको एउटा कथा हो पानीफोटो।  

लामिछानेले पक्षधरता नदेखाई चलचित्र बनाएको दाबी गरे। ‘मैले कथालाई न्याय दिने प्रयास गरेको छु,’ उनले थपे, ‘स्टोरी टेलर (कथाकार) न्यूट्रल हुनुपर्छ भन्ने मेरो मान्यता छ। त्यसमा अडिग रहेर तटस्थ रहेर ‘पानी फोटो’को कथा बुनेको छु।’ उनले कथामा देखाएको चरित्रकै कारण चलचित्र विवादमा नआउने विश्वास व्यक्त गरे। उनले भने, ‘तर आएपनि म त्यसका विरुद्ध लड्न तयार छु। किनकी मैले कसैको पक्षधरता लिएर कथा भनेको छैन।’

कुनै कालखण्डमा भएको घटना, जसको कारणले त्यो पुरै परिवारले पीडा भोग्छ। त्यो कालखण्डको कुराले अहिलेको कालखण्डमा पनि प्रभाव पारिरहेको उनी बताउँछन्। ‘त्यसको प्रभाव अहिले के छ समाजमा? यो चलचित्रले त्यहि देखाउँछ,’ उनले भने।  

लामिछानेले आफूले रहरले मात्र नभइ कथालाई न्याय गर्न चलचित्रको निर्देशन गरेको बताए। ‘कुनै-कुनै कथा आफैंलाई भन्न मनलाग्दो रहेछ,’ उनले भने, ‘कथालाई न्याय गर्नको लागि पनि, नत्र कथाको न्याय मर्छ कि भनेर हो।’ उनले पानीफोटोकै लागि भनेर दुई वर्षदेखि कुनैपनि चलचित्र नगरेको बताए।

चलचित्रका कलाकार माओत्से गुरुङले पनि चलचित्र राम्रो बनेकाले दर्शकको माया पाउने विश्वास व्यक्त गरे। उनले चलचित्रको कथा मन परेकैले आफूले काम गरेको बताउँदै भने, ‘जोसँग क्रिएसन छ, आत्मियता छ, उ सँग न रोल सोधिन्छ नत पैसा (पारिश्रमिक) नै। क्रिएसन र आत्मियताका कारण सिधै ‘ओके’ भनिन्छ। पानीफोटोमा मैले त्यसै गरेको हुँ।’

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको छायाङ्कन स्याङ्जा, बर्दिया, रोल्पा, ललितपुरसहित काठमाडौँ उपत्यकामा गरिएको थियो।  

प्रकाशित: ११ श्रावण २०७९ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App