डा. विदुर चालिसे
जोखाना हेर्ने जोतिसले एकदिन ‘इरोटिक कविता–कल्प’ को बारेमा व्याख्यान सुन्न भोजको आयोजना गरेर कविहरूलाई बोलाए। उनले सुटुक्क आफ्नो एउटा कविता कुर्ता-सुरुवालको पकेटबाट झिकेर गाउन थाले। उनको कविताको लय थियो।
‘समालोचना!’
कविताको शीर्षकचाहिं समसामयिक विषयको अब्बल थियो।
‘विमोचन!’
त्यो कविताको भोजमा जाने रहर मलाई पनि थियो तर अवसर मिलेन। बालिष्टमाथि उपरखुट्टी लगाएर बसिरहेको मेरो ध्यान कसोकसो अन्तै मोडियो। मोडदामोड्दै मनमनै अनायास एउटा तर्कना उठ्यो। तर्कनाको साथमा भावुकताको चाप्लुसी पनि उडिरहेको थियो। अलौटा मकैको पटपट आवाज कानमा सुनिन्थ्यो। खिस्स पर्थें। खुच्चिङ हुन्थें। सम्झन्थें। मुखबाट मेरा शब्दहरू निस्के-‘म न झाँक्री, न वैद्य, न चिकित्सक!’
बालिष्टमा आराम गरिरहेको ठाउँमा आएर बुढी मैयाँले कानैमा आएर भनिन्,‘हजुर त खासमा बोक्सी नै हो, सबलाई डस्ने!’
मैले पनि उनलाई मनको ठुँग मार्दै छिल्लिएर भन्न भ्याइहालें, ‘तिमी पनि नागिन हौ नि त!’
यसै बीच तत्कालै एकजना मित्रको जिस्किएर मेसेन्जरमा कल आयो। मैले उठाइनँ। उठाउने कुनै अधिकार थिएन। उनको स्वभाव यस्तै लाग्थ्यो। घरिघरि उडिरहने मित्रले फेरि न्वारानदेखिको बल लगाएर मेसेज लेखेर पठाए।
-धन्दा मान्नु पर्दैन, हुन्छ!
-के हुन्छ?
-काम हुन्छ तर अलि गडबड छ!
उनले बोलेको गडबड शब्द सुनेपछि मेरो मनमा बेलाबेलामा मित्रको रोगबारे सोधें, ‘साइक्रयाटिक प्रोब्लेम?’
उनी झस्किन थाले। उनको लेखाइका वर्णहरू लर्बरिन थाले। उनको हातको औंला कसो दायाँबायाँ पुगेर छटपटिएर रहेझैं शब्दहरू मेसेन्जरमा बर्सिन थाले। उनले हतारमा एक शब्द लेखे-सरी!
प्रकाशित: ११ श्रावण २०७९ ०६:४२ बुधबार