शारदा दहाल (भण्डारी)
ठिन्डुपाललाई आफ्नै नाम मन परेको थिएन। उसले आफ्नो नाम फेर्न खोज्यो। तेरो नाम कसले राखेको हो भन्दै साथीहरू गिज्याउँथे।
नाम त हाम्रो जस्तो पो राख्नुपर्छ। अर्कै राम्रो नाम राख भनेर हैरानै पार्थे पनि।
बच्चा छँदादेखि ठिन्डे र सिन्डे भनेको सम्झेर आफूलाई हीन र लज्जाबोध भैरहँदा एकदिन ऊ नाम फेर्ने चक्करमा हिंड्यो। हिंड्दै जाँदा एकजना व्यक्ति अर्काले दाइँ गरेर छोडेको खलो बढारिरहेको देख्यो।
ऊ छेउमै गएर सोध्यो, ‘तिम्रो नाम के हो? किन यो खलो बढारिरहेछौ?’
उसले भन्यो, ‘मेरो नाम लक्ष्मीप्रसाद हो। यसरी खलो बढारेर केही धान जम्मा गर्छु र परिवारलाई खुवाउँछु।’
यो सुनेपछि त्यहाँबाट ऊ हिंड्यो। अलि पर पुगेपछि फेरि अर्को भिखारीसँग भेट भयो। त्यो व्यक्तिले भिखारीको पनि नाम सोध्यो।
उसले जवाफ दियो, ‘मेरो नाम धनपति हो।’
ऊ फेरि त्यहाँबाट पनि बाटो ततायो।
अलि पर पुग्दा लाश बोकेर आइरहेका मानिसलाई देख्यो। उसले एकजनासँग सोध्यो,‘त्यो मर्ने व्यक्तिको नाम के हो?’
‘अम्बरबहादुर!’ यति भनेर मलामी बाटो लाग्यो।
अब बस् ऊ केही सोच्दै त्यहाँबाट बाटो लाग्यो।
नाम अनुसारको काम कहीं पनि नदेखेर अलि पर चौतारीमा बसेर सोच्न थाल्यो, ‘ओहो, यो नाम फेर्नु त राम्रो हैन रहेछ!’
‘जे नाम छ, छ। मेरै नामको पहिचान व्यापक बनिसकेको छ।’
ऊ नाम फेर्ने चक्करबाट बाहिर आयो।
प्रकाशित: ११ श्रावण २०७९ ०५:५४ बुधबार