१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मुसाहरूको बस्ती

कविता

कृष्णबहादुर बुढाथोकी

मुसाहरूको बस्ती

अनायास आएको भुईचालोले

मुसाहरूको बस्तीमा

हल्ला छ/खलबल छ

साना डुहुरेहरू बिलखबन्दमा छन्

यत्रतत्र सर्वत्र हच्किएर,

दौडधूपमा अतालिंदै

आआफ्ना मालिकको खोजीमा

व्यस्त कति डुहुरेहरूनिसासिएर

गन्तव्यमार्ग थुनिएर छटपटाहटमा छन्

कति डुहुरेहरू अलमलमा परेर

कता जाने भनी गन्तव्यहीन छन्

ह्वान्द्रे मुसाहरूको एकल साम्राज्य ढल्यो।

अनिकालको जोहो गरेको कमाइ पुरियो

तुरियो।

मंसिरमा किसानको कमाइ

रातारात चोर्ने ह्वान्द्रे र डुहुरेहरू

अरू मुसालाई खान्की खुवाएर

आफ्नो हुलमा भित्र्याउने दाउमा छन्

भत्किएको पुरानो महल ठड्याई

अरूको मेख मार्ने योजना बुन्दै छन्

किसानको कमाइ चोर्न नपाउनेहरू

आफ्ना डुहुरे अरूतिर जालान्  

र आफू एक्लो परिएला भन्ने आतुरीमा छन्।

ह्वान्द्रे मालिकका पछि लागेर

पेटपालो गर्नेलाई

नपर्नु शोक परेको छ।  

मुसाहरूको बस्तीमा

खैलाबैला र उकुसमुकुस छ

हुन त मुसाहरूले पौरख देखाउन

आफू बसेको धर्ती छियाछिया बनाएर

लामा र बेसोमतका छिद्रा बनाए

योजनाविहीन प्वाल खनेर

किसानको उपज आफ्नो भँडारमा ओसारे

तँछाडमछाडको गतिमा गरिएको

सुरुङे विकासले मुसाहरूलाई

शोक सागरमा डुबाएको छ।

चोरिएको अनाजमा

कतिबेला कसले अधिकार कायम गर्ने हो

कतै काला मुसा, सेता मुसा र राता मुसाहरूले

हात हाल्लान् कि

अर्काे तर्कना छ।

माटोमा प्वाल बनाउने

मुसाहरूको दुनियाँमा

बडेमाका पाषाण पत्थरको ओइरो लागेको छ

सुरुङमा थुनिएकाहरू

बाहिर निस्कन नपाइएला भन्ने चिन्तामा

बाहिर आएकालाई

बिल्ली राजाको भय

आफ्नै वर्गका न्याउरीले पनि सिध्याउने त्रास

भाग्नका लागि

बनाइएका छिद्रामा

पत्थरको उपस्थितिले मुसा साम्राज्यमा

न्याउरीको आक्रमण घातक हुन्छ,

कारण न्याउरी, मुसा प्रजाति हो

उसका लागि सुरुङ सहज मार्ग हुन्छ।

मुसा साम्राज्यमा बिल्ली बादशाहको

चर्काे उपस्थित छ

काला बिल्ली बादशाह/राता बिल्ली बादसाह/ सेता बिल्ली बादशाहको

जगजगी छ

सेता र राता बिल्ली बादसाह त

हब्बेकब्बे आउँछन्

काला बिल्ली बादसाह त

चोर दुलाको मुखमै ढुकेर बस्छ

धेरै ह्वान्द्रे र डुहुरेलाई

आहारा बनाइसकेको छ

यसको नियमित कर्म नै

पहाडी अनकण्टरमा लुकेका मुसाहरूलाई

समात्नु, खेलाउनु र मरणासन्न बनाएर

पेट भर्नु हो।

कालो बादसाह

समय अनुसार भिन्न रूपमा आउँछ  

कुनाकन्दरा, जल, जमिन, जंगल चाहर्छ

कतै नि चयन दिंदैन।

चारो चर्न उसको आदेशविना सम्भव हुँदैन।

जताततै उहीं बादसाह  

कविकाल, मुसाहरूले हाँक दिए

राता बिल्ली बादशाहलाई गुहार माग्छ

सैयौं दिन सुरुङमा बसेर

चुनौती दिने

स्वाभिमानी मुसाहरू निकाल्न।

सेता बिल्ली बादसाह बलवान् छ

तथापि राता/ काला बादशाहले विश्वास गर्दैनन्।

खटाएर खाने,

माया दिएझैं गरेर

मुसाहरूको हुल आफ्नोतिर ओसार्ने

चेष्टा छ उसको।

संकटको भुमरीमा फसेका मुसाहरूको बस्तीमा

मुर्दा शान्ति आउन नपाउँदै

अर्काे विध्वंस निम्तिएको छ

आपस्तमा कुस्ती खेल्ने घरेलु ह्वान्द्रेहरू  

राता, काला र सेता मुसाहरूको शरणमा

लम्पसार नपरी

लापत्ता सुरुङ खुल्दैनन्।

मित्र वर्गका मुसाको समीप

पुग्न नपाउँदै  

कैयौ ह्वान्द्रेलाई

बिल्ली बादशाहले

कब्जामा राख्ला

कैयौको इहलीला खतम बनाउला

ह्वान्द्रेहरूको मति नमाझिए

काला र राता मुसाहरूले

यिनका सुरुङमा र बस्तीहरूमा

साम्राज्य चलाउन

समय नलाग्ला।

प्रकाशित: ९ श्रावण २०७९ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App