रामबाबु घिमिरे
गएरात मलाई पटक्कै निद्रा लागेन। त्यसो त म अनिद्राको रोगी होइन। फुसर्दका बेला दश बाह्र घण्टा निदाउनु मेरो लागि प्राकृत कुरा हो ‘तर प्रिय मित्र! गएरात मलाई पटक्कै निद्रा लागेन। मनमा नानाथरिका कुराले आक्रमित गर्दै रहे। मनलाई इच्छित काल्पनिक संसार दिएँ तैपनि मन बेकाबु नै भयो। म सम्झौतावादी हुँ तर मन भने यदाकदा अतिवादी हुन्छ।’
झकाउन मात्र लागेका बेला अनौठो आवाजले बिउँझिएँ। ‘उत्तरै बाँधूंँ दक्षिणै बाधूँ’ आदि/इत्यादि अनि ‘गुरु गोरखनाथको बाचा।’
मान्छेको नलीखुट्टाको हाडको एकतमास, बिरसिलो र दिग्दारीको आवाज। मेरो मनमा मेरी आमाको निर्देशन आरोपित छ–त्यतिबेला हेर्न र बोल्न हुन्न। मलाई हुँइचिलको आवाज पनि मन पर्दैन एक तमासको विरसिलो मरणासन्न आवाज।
केही दिनपूर्व आधारात काठमाडौंको एउटा डिस्कोमा बिताएँ। धूमिल प्रकाश, उत्तेजक नृत्य र धून अनि अर्धनग्नवालाको शारीरिक अवयव सहितको आग्रह अलि बढी नै पिएछु। थाहै भएन, लिलीसँग के कस्ता कुरा गरें।
उसको खास नाम नानिचा रहेछ र ऊ ठमेलकी रहिछे। पुरानो कुरा सम्झिने हो भने कवि हरिभक्त कटुवाल र मैले झोंछेमा धेरै वास खाइयो। ममचा, छोयला र कचिला अनि नानीचा। एउटी त उल्कै राम्री थिई। हरिभक्त कटुवालको कुनै गीतमा ऊ आएकी हुन सक्छे तर कुन साइतमा जन्मेछु कुन्नि जसको सामीप्यमा रहे पनि गुणग्राही कहिल्यै बन्न सकिनँ।
मच्छेन्द्रनाथ गोरखनाथ गुरु हुन् कापालिक अघोरी नरहरिनाथ पनि कानफट्टा दर्शनधारी हुन्। नरहरिनाथका गुरु धौलाश्री हुन् र उनीसँग मैले जुवा खेलेको हुँ। प्रिय मित्र! लिलीको आग्रहमा मैले धेरै पिएछु। उसको शरीर ७०% अनावृत थियो। तर किनकिन म भन्न सक्दिनँ। मेरो दृष्टि उसको नलीखुटामा केन्द्रित थियो। नाथ सम्प्रदायका योगीहरूले फिरी लगाउँदा बजाउने यस्तै मैचा, नानिचा, बेली र चमेलीका नलीखुट्टाको हाड नै त होला।
एउटी भर्खरकी अर्थात् नूतनवालाले हिन्दी गीतमा उत्तेजक नृत्य प्रस्तुत गरी। मैले पिएका बेला आफूलाई रइस ठानेर बक्सिस दिन खोज्दा लिलीले रोकी। तैपनि मैले स्टेजमा ५० रूपैयाँ मिल्काएँ। मैले कहीं कतै पढेको थिएँ एउटा मगन्तेले मन्दिर, मस्जिद र चर्चको ढोका कुर्दा कसैले केही दिएछ। साँझ लखतरान भएर भट्टी अगाडि बसिरहेको बेला एउटा जँड्याहाले यसो हेरेछ र ५० रूपैयाँ मिल्काएछ। मगन्तेले मनमनै सोचेछ–हे ईश्वर, तिम्रो निवास यहाँ रहेछ। बेकारमा म मन्दिर, मस्जिद र चर्चमा खोज्न गएँ।
बिहान श्रीमतीले बिउँझाई र भनी, तपाई आफ्नै हातले योगीलाई दान गर्नुस्, ग्रह-दशा समाप्त हुन्छ। दुईटा योगी रहेछन्, पहिलोचाहिं कानफट्टा दर्शनधारी अनि दोस्रो फेटाले कान छोपेको।
मैले मनमनै सोचें, ‘दोस्रोचाहिँ सांसद हुनलायक छ।’
मैले लिलीलाई सोधें, ‘तिम्रो तलब कति छ?’
उसले भनी मात्र १५०० अनि मलाई लाग्यो, यो लिली होइन, नानिचा हो र अंगप्रदर्शन सोख होइन विवशता हो। मैले उसका केही प्रतिबन्धित अवयव स्पर्श गर्न खोज्दा ऊ उत्तेजित हुनुको सट्टा खुम्चिदै गई। मैले १०० रूपैयाँ ट्रिप्स दिएँ। उसले सतर्कतासाथ ग्रहण गरी।
मेरी आमाले मलाई गोरखनाथको गुफा देखाएकी हुन् अनि गोरखनाथ र पृथ्वीनारायण शाहको किम्वदन्ती पनि पढेको छु। पशुपतिमा मैले अघोरी देखेको थिएँ। मानव खप्परमा मूत्र विसर्जन गर्थे र त्यसैमा प्रसादी ग्रहण गर्थे। मलाई पनि पञ्च मकार मन पर्छ। साँच्चैकी लिली फेला पारें भने क्याभ्रे वा ब्रेक डान्स वा ताण्डव नृत्यका लागि पनि तयार छु। तर, नानिचालाई लिली भनेर झुक्याएकोमा नाखुस छु।
श्रीमतीले अब ग्रहदशा सकियो भनी तर मैले सोचें,‘अब सुरुवात हुँदै छ। म आफैं ग्रह हुँ र दशा भनेको प्रकारान्तरमा स्वनिर्मित चक्रव्यूह हो।’
यतिखेर मेरा मनमा मात्र दुईवटा कुरा छ-लिली र अघोरी। साँच्चैकी लिलीको नलीखुट्टाको हाड फिरी लगाउँदा बज्छ वा बज्दैन थाहा छैन तर सांसारिक प्रयोजनपछि नानिचाको नलीखुट्टा कानफट्टाले पायो भने फिरी लगाउँदा बजाउनेछ। जसबाट एक तमासको बिरसिलो आवाज आउनेछ जो मलाई पटक्कै मन पर्दैन।
प्रकाशित: ९ श्रावण २०७९ ०६:५३ सोमबार