राजन सिलवाल
१) भावी
जन्मेको छैटौं दिनमा भावीले भाग्य लेख्छन् भन्ने आम विश्वास थियो। लेख्न त लेख्छन् तर कुन समयमा आएर लेख्छन् त्यो कसैलाई थाहा थिएन। पृथ्वीको कुनाकुनामा जन्मिने शिशुहरूको भाग्य लेख्न भावी एक्लै दौडिन्थे वा उनका कर्मचारीहरू पनि काजमा खटिन्थे त्यो कुरा पनि अज्ञात नै थियो।
मान्छेहरूलाई के मात्रै ज्ञात भनौं वा विश्वास थियो भने भावीले राम्रो लेखे जीवन सुखद हुन्छ, नराम्रो लेखे भने दुःखद। साना उमेरका र कोहीकोही ठूला मान्छेहरूलाई नि कौतुहल थियो कि भावीको कलम कस्तो हुन्छ होला? कुन रङ्गको मसी प्रयोग गर्लान्? उनले कुन भाषामा लेख्छन् होला इत्यादि।
आमाहरू शिशु जन्मेको पाँचौं रात ढलेर छैटौं लाग्नुअगावै शिशुको सिरानीको छेउमा हुनेले सुन वा चाँदीको, नहुनेले आ–आफ्नो गच्छे अनुसारको धातुपात्रमा क्षमता अनुसारका कलम र मसी राखिदिन्थे।
आस्थाले त्यो गरिन जुन उसका आमा र हजुरआमाहरूले गर्ने गर्थे। उसलाई लाग्यो कि भावी खुसी भए भने मात्र जाँगर चलाएर लेखिदिन्छन्। उनलाई खुसी किन नपार्ने?
उसले सोची- कलियुगका भावी हुन्। पैसामा नि बिक्न सक्छन्।
हजारको पाँच ओटा नोट खामभित्र हाली र छोराको सिरानीछेउमा थपक्क राखी। दुनियाँभरि लेख्दा लेख्दा भावी थाकेर आउलान्। भोक–प्यास लाग्ला। कलिका भगवान् हुन् के खान्छन् के खाँदैनन् यकिन गर्न सकिन।
शाकाहारी र मांसाहारी दुवै थरी परिकार राखिदिई। पिउन नि खोज्लान्। भाइले भिनाजूका लागि त्यसै दिन दुबईबाट ल्याइदिएको रेडलेबल थियो। एउटा रोज्जा गिलासमा त्यो पनि राखिदिई र शिशुको एकाछेउमा भावीलाई पुकार्दै पल्टिई।
बिहान उठ्दा भावीले खाम पनि लगेका थिए। रेडलेबल पनि सिध्याइएको थियो। खानेकुरा पनि बाँकी थिएन। ऊ त्यो खुसीको कुरा सुनाउन दौडिंदै लोग्नेको कोठामा पुगी।
‘बाबा! राति भावी आएछन्। दक्षिणा नि उठाएछन्। खानेकुरा नि ग्रहण गरेछन्। सितन पनि मन पराएछन्।’
लोग्नेले भन्यो,‘राम्रै भयो बूढी। तिम्रो भावीले खानेकुराको थाल र सितनको गिलास यहाँ मेरो कोठामा छोडेछन् हेर न।’
‘अनि दक्षिणा त?’
लोग्नेले भन्यो, ‘कापीमा हेर त के लेखेका छन्?’
उसले पढी, ‘भोलि एउटा अर्को रेडलेबल किन्नका लागि दक्षिणा लगिनँ है?’
–बदमास बुढा, यो तिम्रै अक्षर होइन र?
२) स्वयम्भूनाथको गजुर
फ्लाइ दुबईको विमानमा यात्रा गरिरहेकामध्ये हाराहारी सत्तरी प्रतिशत यात्रीहरू नेपाली थिए। विमानका कर्मचारीहरू विमान उडेको ४५ मिनेटपछि पानी र खानेकुराको ट्रली लिएर पुछारतिरबाट विमानको अघिल्तिर बढे। दुबईबाट बिहानको साँढे नौ बजे उडेको विमान काठमाडौं पुग्न पाँच घन्टा लाग्थ्यो। ट्रलीवालाहरूले गोरे यात्रीहरूलाई छानीछानी खानेकुरा दिएको र आफूहरूलाई नदिएको देखेपछि तराईबासी एउटा नेपालीले अर्को मंगोल वर्णको नेपाली ठिटोलाई सोध्यो, ‘यिनीहरूले हामीलाई त केही खियाउँदैन कि के हो?’
त्यो ठिटाले तत्कालै भन्यो, ‘पैसा तिरेर खाने हो ठाकुर हामीले त।’
ठाकुरले भन्यो, ‘अब काठमाडौं गएर थकाली खाना खाने प्रकाश।’
त्यसपछि उसले प्लास्टिकको झोलाबाट झिकेर जम्बो बोटलको पानी पियो र दुई फग्लेटा बिस्कुट मुखमा हाल्यो।
बिचबिचमा नेपाली केटाहरूले साउदी र दुबईमा खाएका सास्ती, साथीभाइले नै गरेका ठगी, श्रम अनुसार पाउने गरेको न्यून तलब आदिबारे आआफ्ना लघुकथाहरू सुनाइरहे। साउदीबाट दुबई हुँदै आएकी अन्दाजी ४३ की नेपाली महिलातिर ठाकुर, प्रकाश र अरू नेपाली ठिटाहरूको ध्यान गइरहेको र बोल्ने चाहना भइरहेको म बुझिरहेको थिएँ।
प्रकाशले सोध्यो, ‘दिदी छुट्टीमा कि कन्ट्याक्ट सकिएर?’
उसले भनी, ‘कन्ट्याक्ट त बाँकी छ भाइ। सात वर्ष बसेँ। अब पुग्यो।’
दिदीले सोधी, ‘तिमी के गर्छौ?’
‘नेपाल गएर राजनीति गर्छु,’ प्रकाशले भन्यो।
‘मेरो छोराले अरब आउन नपरोस्।’
ठाकुरले सोध्यो, ‘मेरो बहनले नि?’
विमानको बायाँतिरका झ्यालहरूबाट उत्तरतिरका हिमालहरू देखिन थालेपछि ठाकुरहरू, प्रकाशहरू र साउदीवाली दिदीहरूले धमाधम मोबाइलबाट फोटाहरू खिच्न थाले। लाग्थ्यो, नेपालका ती हिमालहरू तिनले पहिलोपल्ट देखेका हुन्। विमान परिचारिकाले सिटबेल्ट बाँध्नू भनेपछि ती सब आआफ्ना सिटमा बाँधिए। तिनीहरूको मन सिटबेल्टले बाँध्न सकेको थिएन।
‘अब केही मिनेटमै हामी काठमाडौं विमानस्थलमा अवतरण गर्दैछौं’ भनेपछि युवकहरूले खै किन ताली पिटे। ठाकुरले भन्यो, ‘ऊ हाम्रो नेपाल आयो।’
प्रकाशतिर हेरेर साउदी दिदीले भनी, ‘प्रकाश! ऊ हेर, स्वयम्भूनाथको गजुर नि देखियो।’
विमानबाट ओर्लिएपछि अध्यागमनतिर जाँदै गर्दा प्रकाशले भन्यो, ‘एउटा झोला मलाई दिनू दिदी। तपाईँलाई गाह्रो भयोजस्तो छ।’
दिदीले जिस्किँदै भनी, ‘तिमीले त दुबईमा खुब केटी पट्यायौ जस्तो छ।’
३) पुरुष
कोटेश्वरबाट हिंडेदेखि नै आकाश कालो थियो। गठ्ठाघर पुग्दानपुग्दै त्यो सुँक्सँुकाउन थाल्यो। ठिमी पुग्दा त्यो बेस्सरी रुन थाल्यो। सल्लाघारी पुग्दा बर्सादी आत्तिन थाल्यो र सूर्यविनायक पुग्दा त्यसले आत्मसमर्पण गर्यो। एउटा डण्डीपसलमा ओत लागें। पौने आठ बजेसम्म पनि पानी एकनासले परिरह्यो। पसलमा भर्खरै ओत लाग्न आएको युवकले खबर ल्यायो कि श्यामाश्याम धामनेर टिपरले मान्छे मार्यो। स्थानीयले चक्काजाम गरे।
अब काठमाडौंतिरबाट कुनै गाडी बनेपातिर जाँदैन भन्ने कुरा यकिन भयो। पानी रहँदैन र नभिजी सुखै छैन भन्ने निष्कर्षमा पुगिसकेपछि मैले बाइक गुडाएँ। जगातीको प्रहरी जाँच पोस्ट कटिसकेपछि भिज्दै हिंडेकी एकजना महिलामाथि मेरो ध्यान तानियो। बाइक रोकूँ वा नरोकूँ लाग्यो। कहाँसम्म जाने सोधूँ कि नसोधूँ भयो। कल्याणको भावनाले जितिसकेपछि छेवैमा बाइक लगेर सोधें, ‘कहाँसम्म जानुहुन्छ? म बनेपातिर जाँदैछु। तिनले पुलुक्क मेरो अनुहारमा हेरिन्। मेरो हुलियाको शीघ्र परीक्षण गरिन् र के गरूँ के गरूँको भावमा मतिर हेरिन्।
‘अप्ठेरो नमान्नुस्। बस्नुस् पछाडि। अब गाडी आउँदैन। रात परिसक्यो। कहाँ जानुहुन्छ?’ मैले सोधें।
‘जान त नाला जाने हो। कस्तो आपत् पर्यो आज। उहाँलाई फोन गरेको पनि स्वीच अफ रहेछ।’
बनेपा पुग्दासम्म पनि खासै कुरा भएन। तिनले यत्ति मात्र भनिन्,‘धन्य तपाईँ भेटिनुभयो। नौ बजिसकेछ। अब त नाला जाने गाडी पनि पाइन्न।’
तिनले चिन्ता दोहोर्याइन्।
‘बजारबाट कति टाढा हो र?’ मैले सोधें।
‘अलिकति माथि, धेरै छैन।’ तिनले आशालु लवजमा भनिन्।
बनेपामा छाडेर म अघि बढ्न सक्ने मनको थिइनँ। उनको आँगनसम्म पुगेर फर्किन थालें। उनले आज यतै बसौं पनि भनिनन्। तातो चिया एक कप खाऊँ पनि भनिनन्। म छक्क परें।
बाइक फर्काउँदै थिएँ। एउटा पुरुष टाउकाले झ्यालबाट हेर्यो।
‘घर आउने समय यतिबेला हो तेरो?’ मैले आफ्ना गुनासाहरूको उत्तर पाएँ। बाइकको किक हान्दै गर्दा मेरो कानमा परेको वाक्यले भने मलाई पनौतीसम्मै घोचिरह्यो, ‘तेरो पोइ हो त्यो?’
४) पहाडकी आमा
‘चार हजार मिटरभन्दा नि बढी पो रहेछ तालको उचाइ’, जीवनले गुगलमा हेर्दै भन्यो।
‘लेक लाग्छ रे कतिलाई,’ ज्योतिले थपी।
शिखाले भनी, ‘मान्छेहरूले सगरमाथा चढेका छन्।’
ज्योतिलाई यस वाक्यले ग्लुकोजको काम गर्यो। ‘बाटोमा होटलहरू पाइन्छन् त?’ ज्योतिले सोधी। ‘होटल नपाए पाल छ हामीसँग। तिमीहरू पालभित्र सुत्नू। विवेक र म पालबाहिर पहरा दिन्छौं।’ जीवनले भन्यो। ती दुइटीले परस्पर हेराहेर गरे।
गाउँमा होटेल हुने कुरै थिएन। न त होमस्टे पुगेको थियो त्यहाँ। एउटा सानो पसल थियो जहाँ गाउँलेहरू दैनिक उपभोगका सामान्य कुराहरू किन्न सक्थे। हामी त्यो पसल छाडेर उकालो लाग्यौं। ज्योतिले गोडा लतार्न थालिसकेकी थिई। शिखा सय पाइला हिँडेपछि थ्याच्च बस्थी।
मैले भनें, ‘यो तालले त साँझमा नि फेदी पुग्न मुस्किल छ।’
‘जहाँ पुगिन्छ त्यहीं बस्ने।’ ज्योतिले भनी।
‘हिउँपानी पर्यो भने कोरोनाले नखाएको ज्यान यहीं सकिन्छ नि,’ जीवनले भन्यो।
शिखाको झोला माग्दै मैले भनें, ‘लेऊ, म सघाइदिन्छु। यात्रामा बस्यो भने बसेको बस्यै भइन्छ।’
उसको झोल छिनेर म अगाडि अगाडि लागें। मानिस खेद्नु अगाडि लागेर, वस्तु खेद्नु पछाडि लागेर, यो उखान थाहा थियो मलाई।
फेदीभन्दा निकै वर साँझ खस्यो। शिखाहरू आत्तिए। जीवन अघिअघि हिँड्यो। दुईटी बिचमा रहे। म पछिपछि हिँडें। सिमसिम पानी परिरहेको थियो। निकै पर भित्तामा एउटा गोठजस्तो घर देखियो।
‘ भित्र को हुनुहुन्छ? एक रात बास पाइएला?’ जीवनले सोध्यो।
जवाफ आयो, ‘कति जना हुनुहुन्छ?’
हामीले काठको बेञ्ची जस्तोमा झोलाहरू बिसायौं।
मैले भनें, ‘जति पैसा लिनुहुन्छ लिनोस्। एक रात निदाउन दिनुहोस्।’
खानाभन्दा भोक मिठो थियो। ओछ्यानभन्दा आतिथ्य अविस्मरणीय। बिहान चार नबज्दै घरधनी दाइले बोलाए, ‘ओई सरहरू, अब उकालो लाग्नु भएन भने घाममा परिन्छ माथि। गारो नमान्नुस्।’
हामी सबै तयार भयौं। मैले भनें, ‘दाइ साह्रै ठुलो गुन लगाउनुभयो। कति भयो हाम्रो हिसाब?’
उनकी जहानले भनिन्, ‘एकेक गिलास तातो पानी पिएर जानुस्। हाम्रोमा धेरै मान्छेहरू बसेको छ। हामी कसैसँग पैसा लिँदैन।’
शिखाले पस्मिानको आफ्नोे सल तिनको घाँटीमा बेरिदिंदै भनी, ‘पहाडकी आमा! तपाईंलाई यो मेरो चिनो ल?’
५)अपराजित
प्रेम थियो, निष्ठा थिएन। दुवैलाई एक अर्कामाथि शङ्का थियो। युवती भन्थी, ‘मैले बाटो बिराउन सक्छु। तिमीले सम्हाल्नू। मलाई जतन गर्नू।’
युवक भन्थ्यो, ‘त्यस्तो कहाँ हुन्छ? बाटो त प्रायः लोग्नेमान्छेले पो बिराउँछन्। बरु तिमी नै मलाई सम्हाल्ने, यताउति भड्किन नदिने, भड्किइहाले पनि ठेगानमा ल्याउने ठेक्का लिऊ।’
युवतीले नि जिद्दी गरी, ‘त्यो छुट पनि दिन सक्तिनँ म। यो ठेक्कासेक्का पनि लिन्न। म त झन् स्वभावैले कोमल र कमजोर छु। लल्याकलुलुक हुन्छु। स्कुस वा तरुलको लहराजस्तो। तिमी रुख बनेर मलाई सम्हाल।’
युवक हाँस्यो तर पराजित हुन मानेन।
युवकले फेरि भन्यो,‘हैन स्वास्नीमान्छे भनेका नडग्मगाउने धर्ती हुन्। हामी आकाश पो बादल र सादल बोकेर चराचर व्याप्त हुन्छौं। बरु तिमी नै रुख बन र म जस्तो अस्थिर चित्त भएको लहरालाई आफूमा समाहित गर। अन्त कतै जान नदेऊ।’
ती दुवै विच लहरा को र रुख को बन्ने भनेर नाइँनास्ति चलिरह्यो। युवतीले लहरा नै बन्ने हठ गरी। युवकले हार खायो।
हिंड्दै जाँदा एउटा कसैको बारीको डिलमा अनौठो दृश्य देखियो। अग्लो पैयुँको रुखलाई तरुल, स्कुस र इन्द्रेनीका लहराले सक्कली रूपै नदेखिने गरी बेरेका थिए। युवतीतिर हेरेर युवकले सोध्यो, ‘अब देख्यौ त?’
युवतीले भनी, ‘तिमी लोग्नेमान्छेहरूसँग सकिंदैन। बरु मै रुख...।’
युवकले त्यस रुखलाई हेरिरह्यो।
(लघुकथाकार सिलवालका ‘बाको कोट’ लघुकथासंग्रह बाट।)
प्रकाशित: ८ श्रावण २०७९ ०६:१८ आइतबार