गुप्तबहादुर श्रेष्ठ
छवि बढुवाको निमित्त धैरै मन्दिर र शक्तिकेन्द्र धायो। अरूले पनि धाउन सकेसम्म धाए। आशीर्वादले गर्दा संगठन प्रमुखमा छविले नै बढुवा पायो।
रवि, मौसम, कवि समेत अरू ४ जना छविभन्दा वरिष्ठ थिए। वरिष्ठता र कार्यसम्पादनका आधारमा १ नम्बरका रवि नै बढुवा हुन्छ भन्नेमा सबै विश्वस्त थिए। सबैको अनुमान भई आएको संस्कार र नियम तोडिएकोमा सबैमा निराशा छायो तर बोल्न कोही सकेनन्। अरूका निमित्त बोलेर आफू किन नजाती हुने भन्ने सबैको मनमा आयो। केहीले असन्तुष्टि जनाएर राजीनामा दिए। संगठन प्रमुख भएपछि छविले तल्ला पदहरूमा बढुवाको श्रृङ्खलाबद्ध अभियान सुरु गयो।
कुनै बढुवामा वरिष्ठता र कार्यसम्पादन हेरेर गरेको जस्तो पनि देखियो। कुनैमा कनिष्ठलाई बढुवा दिएर वरिष्ठलाई बढुवा दिएन। कनिष्ठले बढुवा पाएकोमा कनिष्ठबाहेक अरू खुसी भएनन्। बढुवा सम्बन्धमा खुब चर्चा र टीकाटिप्पणी बढ्न थाल्यो। यो कुरा छविका मान्छेले उसको कानमा फुके। छवि यस घटनामा जानकार त थियो नै तर उसका केही बाध्यता थिए।
उसमा नियम पालन र परम्परा रोक्न सक्ने नैतिकता थिएन र रोकेन पनि। अब अर्को दर्जाको बढुवा गर्ने पालो आयो।
सरकार प्रमुखले संगठन प्रमुख छविलाई बोलाएर विभागको अवस्था सोधे र बुझे। संगठन प्रमुखले धेरै समयदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर अब सकिन लागेको जाहेर गरे। त्यसपछि प्रधानमन्त्रीले भने–तपाईं अब त्यो दर्जाको बढुवा निकाल्दै हुनुहुन्छ रे। त्यसमा मेरो सुरक्षा अधिकारी असिमलाई पनि समावेश गर्नुस् न है!
संगठन प्रमुखले साहस जुटाएर बिन्ती गरे–प्रधानमन्त्रीज्यू, ऊ त धेरै जुनियर छ। अहिले उसलाई गर्न मिल्दैन हजुर। अर्को पटक गरौंला।
प्रधानमन्त्रीले शिष्टतापूर्वक भने–तपाईंको बढुवा कसरी भएको भन्ने भुल्नुभएछ कि जस्तो लाग्यो। तपाईंको बढुवाको निर्णयविरुद्धको मुद्दालाई अब प्रक्रियामा लैजानुपर्ने बुझियो। तपाईं जान सक्नुहुन्छ।
प्रधानमन्त्रीले विदा लिए। संगठन प्रमुखले राति नै बढुवा निर्णय गराए र भोलिपल्ट नै सुरक्षा अधिकारीलाई आफूले बढुवाको निर्णय गरेको जाहेर गरे।
प्रधानमन्त्री मुसुक्क हाँसे। संगठन प्रमुख ढुक्क भए।
प्रकाशित: ८ श्रावण २०७९ ०४:५५ आइतबार