‘कवितामा आकाश’ काव्यमा विचरण गर्दै गरेंथें। कवितामा विचरण गर्नु त ध्यानयोग मग्न हुनुझैं अनुभूत गरें। अनुभूति तरङ्गभित्रको अर्को तरङ्ग पैदा गर्ने तरङ्गै लाग्यो। तरङ्गित बने छु। अनुभूतिका लहर यी शब्दविन्यासका तरङ्गै त हुन्। पोख्न मन तरङ्गित भएछ। कवितामा आकाशका अँजुलीका एक मुठी गङ्गाजलले पखाल्न पुगें। शीतल कवितामा आकाश हेर्दाहेर्दै छोपेछ यो मन–मस्तिष्कधारी जीवात्मालाई निथ्रुक्क। जति भिजियो उति अझै भिजिने उत्कर्ष उक्लिँदै जाँदो रैछ। अनुभूतिको दुनियाँ अनुभूतिकै कवितामा आकाश विचरण गरेजत्तिकै। अनुभूति सँगाल्न सक्नु त आनन्ददायी जीवन जगत्!
युगकवि सिद्धिचरण श्रेष्ठले भावनाको शीतल डुङ्गा चढेर शैल गरेको व्यक्त गरेको भावुकता तत्कालीन आर. मानन्धरका कवि चेतमा उद्दीपन पाएको ‘कवितामा आकाश’ वर्तमान बोकेको युगीन युगवाणी ठहर्छ। यस्तै लहरमा लहसिन मन गर्छ–तेजेश्वर ग्वंगःको चेत। ‘कवितामा आकाश’ च्यापेर विचरण गर्दा नयाँ–नौलो चेत सञ्चार गर्दो छ। एक क्षणव्यापी कविता होइन भन्छु–‘कवितामा आकाश’ सङ्ग्रह। कविताका पारखी चेतका कुबेरहरू सबका साझा सम्पदा यही नभए नि हाराहारी यस्तै बन्छ। आत्मश्लाघा नजँचियून् यो अनुभूतिका तरङ्ग... तरङ्गित अनुभूति...!
‘कवितामा आकाश’ कवितामा मनका कविता कवितामा/कविताका चिन्तनका लहरहरू कविताका दर्शन/दर्शनधारी अभिव्यक्तिले ओतप्रोत/अभिव्यञ्जित तरङ्गहरूसित पौडी खेलें। अनुपम आनन्दका अभिनन्दन अनुभूत गरें। यथार्थमा कविता यथार्थवादी, भावुकतावादी, छायावादी जे भनिए पनि वस्तुवादी गुणका व्यञ्जना नै रहेका हुन्छन्। कवि साथै दुवै पाठक समीक्षकका बौद्धिक चिन्तनले काव्यिक भावनाका भाष्य तरङ्ग सुम्सुम्याई बन्दोरहेछ।
कवितामा आकाशका समर्पणका यी काव्यिक अभिव्यञ्जना चेत केलाऔं:
सबै द्वारहरू उघारी
अद्यापि तिम्रै प्रतीक्षामा छ
तिमीभित्रको आकाश
समर्पण
तिमीभित्रको त्यही आकाशलाई!
समर्पणभावका यी काव्यिक चेत–तरङ्ग नितान्त भावनाका व्योममयी लाग्छ। ‘कवितामा आकाश’को भाव गम्भीर चेत यिनै काव्यिक अनुष्ठान बनेका छन्। प्रार्थनाका पंक्ति उच्चारण गरौं:
हे आकाश
तिमी मलाई आफूजस्तै
अनन्त हुन सिकाइदेऊ
आफूजस्तै व्याप्तिन सिकाइदेऊ।
शून्य! शून्य!!
केही हैनौ तिमी
केही नभएरै त सबै हौ तिमी
र त म पुकार्छु
हे आकाश! तिमी मलाई
आफूजस्तै हुन सिकाइदेऊ।
अभीष्ट कामनामय यी मङ्गलाचरण आकाशसापेक्ष वन्दना बनेका छन्। आकाश शून्य छ। निराकार छ। निर्विकल्प छ। तर, आकाशको अभाव, अनुपस्थितिमा यो भू–भौतिक वस्तु, जीवन तत्त्व केही पनि सम्भव छैन, हुन्न नै! आकाशलाई हेर्ने, देख्ने अनि बुझ्ने र बुझेर आत्मसात गर्ने वैयक्तिक साबगास। क्षमताका पुञ्जमा निर्भर गर्छ। कविता आकाश हेर्दाहेर्दै रित्तो भएरै त त्यसमा सबै ग्रहगोचर अवलोकन गर्न सकिने–भेद मात्र होइन; दुर्भेद्य अनन्त ग्रह, तारापुञ्जहरू साराका सारा अटिएर रहन पाएका हुन्। कवि चेतले यिनै रहस्यलाई सम्बोधन गर्नपुगेका छन्, हु्न्।
सम्पूर्णताको केन्द्रमा पनि
निर्लिप्त तिमी!
द्वन्द्वै द्वन्द्वको माझ पनि
निर्द्वन्द्व तिमी!
हे आकाश! तिमी मलाई
आफैंमा हराइदेऊ।
सम्पूर्णताको केन्द्रमा पनि निर्लिप्त–कुनै लोभमोहमा नचुर्लिम्लिने। यो लोभीपापी दुनियाँका द्वन्द्वदेखि टाढा–मुक्त आकाश त्यसैले सीमाहीन व्योम रहेको छ–आकाश! कसैलाई कहीँ केही निन्दा–चर्चा नगरी उदार मनस्क कविचेत भावुकतामा उडान भर्छन्। त्यसैले कवि विनम्र उद्गार पोख्छन्–तिमी मलाई आफैमा हराइदेऊ! कविताको अन्तिम अभिव्यक्तिमा प्रयुक्त–आफैमा हराइदेऊ! शब्दको साटो–आफैमा विलय गरिदेऊ भन्दा भावुकता झल्काउँदो हो। भावुक कवितालाई भावुकताकै उचाइ–गहिराइमा उद्दयन भर्न सघाउँदो हो भन्छु।
सबै रंगभित्र पनि
निरञ्जन तिमी
सबै आकारभित्र पनि
निराकार तिमी
उथलपुथलभित्र पनि
निश्चल तिमी
हे आकाश! तिमी मलाई
आफूजस्तै निरञ्जन निराकारमै
आफ्नो उपस्थिति अडिग राख्न सिकाइदेऊ।
तिमी मलाई आफूजस्तै
अम्लान हुन सिकाइदेऊ!
कविता सरल भएर अझै गम्भीर बनिदिन्छ। सरलताभित्रको गाम्भीर्य झन् अर्थ महिमापूर्ण बन्छ। भिन्नभिन्न पाठक हृदयका ढुकढुकीले मनमस्तिष्कमा सञ्चार गर्ने तरङ्ग अनेक तरङ्ग बन्नु शतप्रतिशत स्वाभाविक छ। त्यसले कविताको महिमा अरू आकासिन्छ। निराकारभित्रको आकार अनन्त रूपाकार बनिदिन्छ। मुण्डमुण्ड विचार कुण्डकुण्ड पानी माझिएका नेपाली उखानझैं टुक्का साबितिन पुग्छ। कविताभित्रका भावगाम्भीर्य मिठासमय रस प्लावन बन्छ।
कविता अध्ययन गर्ने अध्येताका विवेचनात्मक हैसियतले कविताको आकाश खुल्न पुग्छ। कवितामा आकाश उघ्रिन थाल्छ। कवितामा आकाश निर्मलिन्छ। कवितामा आकाश निर्मलिनुको अर्थ विन्याश सहृदय पाठकवृन्दका पाठकीय चिन्तन गहिरिनु हुन्छ। कविता प्रयोग भए गरिएका शब्द विन्यास भरिएका गहिराइ–उद्दीपन–आयामिक मन्थन पर्याप्तिनु त हुन्छ! सरलताभित्रको असरलता बोध हुनपुग्नु कविताको मर्मभेदी चिन्तन बन्नु हो।
कविता कविका कवित्वको प्रस्फुरण–प्रस्फुटन दुवैको संयुक्त–सशक्त प्रतिभाशाली क्षमता हो। कवित्व भावनाका शक्तिवान् कर्मठता बन्छ–बनेको हुन्छ। कवितामा आकाश द्रष्टा कवि आर. मानन्धर आफै अलगधार प्रवाह गर्ने आफ्नै सार्थकता बोक्छ। ‘कवितामा आकाश’ सँगालोमा कविता खण्ड, चिन्तन खण्ड, दर्शन खण्ड समाहित छ। कविता खण्डमा ४९ चुट्किला समाहित छन्।
आकाशमा
आकाश देख्नु
आकाश नदेख्नु हो
यस कविताबाट थालनी भए गरिएका भित्र यति व्यापक व्याख्यात्मक आख्यान भेटिन्छन–मर्मज्ञ पाठककै मर्मशील ब्रह्म विवेकमा निर्भर रहन्छ। आकाश मात्र देख्नु आकाश नदेख्नु हो। आकाशमा नअट्ने के पो छ र? आकाशमै हामी छौं। जीवित अवस्थामा मात्र त हो चराचर जीवनजगत्मा रहन्छौं। सजीवन अवस्थापछि हामी सबै दिवंगत हुन्छौं। दिवंगत हुनुको यथार्थ आकाशमा समाहित हुनु सिवाय अरू के? दिवंगत आत्मा अदृश्य हुन्छ; रहन्छ।
गीतामा यसै तथ्यलाई सापेक्ष वर्णित छ–नैनं छिन्दति शस्त्राणि नैनं दहति पावकः। नचैनं कनेदयन्त्यायो न शोषयति मारुतः। अर्थात् नैनं = नयनं = न यसलाई, छिन्दति = छिनाल्छ वा टुक्र्याउन सक्छ, नैनं = न यसलाई, दहति = जलाउन, भष्म गर्न सक्छ, न शोषयति = सुकाउनै सक्छ, मारुत = हावाले नै। त्यसैले आत्मा अजर छ; अमर छ, दृश्यवान् छैन। अमूर्त र अदृश्य छ। बुद्धले पनि यस्तै आत्मदर्शनलाई महत्त्व दिएको छ। विज्ञानले त इथर नै आकाशमा भेटिन्छ; बिलिन हुन्छ भनेकै छ। विलीन हुनु नै अदृश्य बन्नु। अदृश्य भएको अवस्था व्याप्तिनु स्थितिबोध हुनु। त्यही स्थितिबोधी तत्त्वज्ञान नै बुद्धका बोधितत्त्व ठान्छु। यति गहन चिन्तनमय ध्यान दृष्टि–अन्तरध्यान ‘कवितामा आकाश’ को तेह्रौं कविताले बोध गराउने चेष्टा धारण गर्छ; गरेको अन्तर्य झुल्केको पाएँ।
कवितामा आकाशको पूर्वाचरण अध्याय/खण्ड कवितामय पाएँ–चाखेँ–रसास्वादन गरेँ। प्रफुल्लता साथ! दोस्रो खण्ड चिन्तन/अध्याय रहेछ। चिन्तन वैचारिक बहस अनुभूत गरेँ। मनमनै भनेँ आफैंसित कोरा चिन्तन काव्य भावगाम्भीर्य चेतका पुञ्ज जँचिन्न। जँचिएन पनि। केवल चिन्तन रुखो हुँदो छ भन्छु। रसविहिन खोष्टो। कविता विचार–भाव भनौं भावमय चिन्तन–चिन्तनमय भाव। उन्मुक्त, उद्दीपनयुक्त। चिन्तनको गर्भगृह भाव–भङ्गिमापूर्ण हुन सक्दो हो। तर, काव्यात्मक हुनुपर्ने नहुँदो पनि हुनसक्छ।
कविताबाट चिन्तन खण्डमा डुबुल्किनु पर्दो ठानिनँ, मानिनँ। तथापि चिन्तन खण्डको अन्तिम अनि दर्शन खण्डको आरम्भ अगाडिको सिद्धार्थको गृहत्याग कविता, चिन्तन र दर्शनबीचको सँघारझैं अनुभूत हुन्छ। फड्को मार्नुअघि दर्शन र चिन्तनमुखी धारणा उत्सर्ग गर्न चाहें। चिन्तनकै गर्भगृहमा सरलतम अभिव्यञ्जनामा गहनतम दर्शन अभिव्यक्त हुन्छ! काव्यात्मक सीप र कौशल टल्किन्छ। अनुराग वृद्धि हुन्छ। तिनै अनुरागको अन्तरप्रवाहले अनन्त सृजनाको मूल फुट्छ। प्रवाहित हुन्छ। प्रश्न कविताबाट आरम्भित चिन्तन कविता सिद्धार्थको गृहत्यागसम्म पुगेर टुङ्गिन्छ। लाग्छ, सिद्धार्थको गृहत्याग कविताले नै बौद्ध दर्शनमुखी कविताका प्रवाह चलेका छन्। प्रत्येक कविता अन्तरमुखी छन् नै। एकएकका विश्लेषण गर्नु रोचक हुँदो हो। किन्तु, केही माथिका भाव धैर्यवान् भन्न सकें। रोकिनुको बेग कविता सुरु हुन्छ–
कुद्नुमा भन्दा रोकिनुमा बढी वेग छ।
भएभरको बलले लखेट्दा पनि अंगुलिमालले रोकिएको बुद्धलाई भेट्टाउन सकेन।
रिसले रन्थिनिँदै ऊ गर्जियो–पर्ख, ए श्रमण! श्रमणले दौडिन सुहाउँदैन।
बुद्धले भने–मैले त आफूलाई रोकिसकें।
तिमी पो कुद्दै छौ त।
-श्रमण भएर किन झूटो बोल्छौ? तिमी नकुदेको भए मैले कसरी भेट्टाउन सकिन त?
-मैले प्राप्तिको चाहनावश भौतारिन छोडिसकें भनेको हुँ। तिमी अझै तृष्णावश भड्किँदै छौ।
कुदेर पनि अंगुलिमालले बुद्धलाई भेट्टाउन सकेन।
रोकिंदै पनि बुद्धले अंगुलिमाललाई भेट्टाए।
बुद्धको रोकिनु अँगुलिमालको कुद्नुभन्दा वेगवान् छ। कविता गद्यात्मक छ। गद्यात्मक अभिव्यञ्जनामा अभिव्यक्त रहस्यमय अन्तर्य दर्शनधारी मानें। दर्शन गहिराइमा ठिग्रिरहेको हुन्छ। भाषिक संरचना जस्तोसुकै होस्। परवाह गरेनछ–आर. मानन्धरका दार्शनिक कविले...! भौंतारिंदैमा लक्ष्य र उद्देश्यमूलक गन्तव्यमा नपुगिँदो सन्देश प्रवाह गर्छ–‘रोकिनु वेग’ कविता। परमाणु दृश्यभेदी छैन। तर, प्रहारशक्ति अथाह। दर्शन अन्तर्गतका ‘मौनता टड्कारो सुनिन्छ’, ‘अनन्तता’, कविता उही कोटीका भन्न मनपराएँ।
यी दुवैका एकदुई ठाउँमा उपदेशात्मक क्रियापद पढें। युगले काँचुली फेरिसकेको परिवेश हाम्रो। आदेश–उपदेशात्मक वाक्य विन्यासबाट कवि–लेखकीय साधनाले अग्रगमन गर्नु युगोन्मुख प्रशष्टिले सघाउनु उत्तम ठान्छु। ‘मौनता टड्कारो सुनिन्छ’ को दोस्रो पङ्क्तिमा ‘कान बिसाऊ’, ‘बिसाऔं’मा ढाल्दा अलि बढी सुमधुर र कर्णप्रिय जँचिदो हो। छैटौं हरफका ‘सिक’, ‘सिकौं’मा परिणत गर्दा हुँदो हो सुमधुर; नवौंका अन्तमा ‘पिऊ’, ‘पिऔं’ पार्दा बढी हृदयस्पर्शी बन्दो हो। त्यस्तै ‘सुनाऊ’ लाई ‘सुनाऔं’ मा परिणत गर्दा। ‘अनन्तता’ कविताको अन्तिम क्रियापदलाई ‘पाइने छ’ गर्न सके ग्राह्य हुँदो हो–भाषिक जगत्लाई।
प्रकाशित: ७ श्रावण २०७९ ०३:१८ शनिबार