२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

समाजसेवा

लघुकथा

राजकुमार श्रेष्ठ

एक बिहान छोराले आमासँग भन्यो, ‘आमा, आज संस्थाको मिटिङमा जानु छ। समाज र देशका लागि केही गर्नु छ।’

–हैन केको मिटिङ, मिटिङ पनि दिनदिनै हुन्छ त?

–त्यसो हैन के आमा तपाईंले आशीर्वाद दिंदा ‘ज्ञानी, ठूलो  मान्छे बन्नु’ भन्नुभएको हैन त?

–तपाईंको पनि नाम राख्नु छ। आखिर एक दिन मर्ने नै चोला हो।

–लु बाबु, ठूलो मान्छे बन्नु छैन। दुनियाँको आँखाको कसिंगर भएर गरिखानुभन्दा त सामान्य नागरिक भएर सरल जीवन जिउनु बेस। बरु जाऊ त्यो ब्याक लागेको विषय निकालेर पढ्न बस।’ बाह्र कक्षा पढेर बसेको छोरालाई आमाले सम्झाउँदै भन्नुभयो।

बिहानको चिया खाई किताब लिएर छोरा पढ्न त बस्यो तर उसको ध्यान किताबमा नगई संस्थाको मिटिङतिर केन्द्रित हुन्छ।

फेरि आमालाई जवाफमा भन्यो, ‘मामू, कम्प्युटर युगको जमाना छ। विज्ञानले प्रकृतिसँग विजय प्राप्त गरिरहेको अवस्था छ। तपाईं त्यै ढुंगे युगको मात्रै कुरा गर्नुहुन्छ! हेर्नुस्, युग बदलिएको छ। आखिर केही त गर्नै पर्छ। यदि संस्था राम्रोसँग फस्टाएर जाँदा गाउँ–समाजलाई यति फाइदा हुन्छ नि तपाईंलाई के थाहा र? प्रत्येक मान्छे व्यक्ति हैन संस्थागत हुनुपर्ने आजको आवश्यकता पनि हो।

तर बाबु, यहाँ समाजले गरिखाएको पटक्कै देखी सहँदैन। मान्छेले जंगलको सीधा रूखलाई खोजीखोजी काटेजस्तै राम्रो विचार भ’को र राम्रोसँग काम गर्ने मान्छेलाई काम गर्न नदिई टाढै राख्छन्। तँलाई थाहै छ त। व्यर्थको समाजसेवी हुनु पर्दैन है।

आमाको कुरा एक कानले सुन्दै अर्को कानले उडाउँदै ऊ मिटिङमा गयो। विचार–विमर्श राख्ने क्रममा उसले भन्यो,‘संस्थाको दिगो विकास गर्न युवा जनशक्ति अपरिहार्य हुन्छ। हामीले काम गर्ने उचित अवसर दिइनुपर्दछ।’

उसको कुराले धेरैको मनमा पहारिलो घाम लागेर आयो। पररर ताली बज्यो। केहीको मनमा चिसो पस्यो अनि मनमनै सोचे,‘आहा! साँच्चै यसको बुद्धि पलाएछ। यो धेरै जान्ने भएछ। यसलाई अगाडि बढ्न दिनु हुँदैन।’

यो कुरा बुझेपछि त्यहाँको माहोल तातियो। एक अर्का बिचमा चर्काचर्की हुँदै  हात हालाहालको अवस्थामा पुग्यो।

त्यसपछि कसैले फोन गरेर रामको आमालाई सुनाइदिए। आमा हतपत साइकल चढेर मिटिङस्थलमा पुग्नुभयो। त्यहाँको माहोल देखेर भन्नुभयो,‘संस्थाको तालाचाबी हाम्रै हातमा छन् भनेर ठूलाबडा मान्छेले जे गरे पनि हुने?’

छोराले आमालाई पछाडिबाट कुमले हान्दै मिटिङमा त्यस्तो चर्को आवाज नगर्नु भन्दै थियो। आमाले सबैसामु पुनः दिल खोलेर भन्नुभयो, ‘हामीले पनि छोराछोरी हुर्काउनुभन्दा धेरै दुखकष्ट गरेर यो संस्था हुर्काएको  हो। तर यहाँ आफूलाई ठूलो मान्छे सम्झेर समाजसेवालाई कमाइ खाने भाँडो बनाउँछु भन्ने नसोच्नुहोला।’ 

प्रकाशित: ५ श्रावण २०७९ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App