रमेशचन्द्र अधिकारी
दुःखहरू जुलुस निकालिरहेका छन्
म हेरिरहेको छु।
गहिरो पिरले भारी भएको छ छाती
दुःखहरू बुट बजारेर छातीमा
परेड खेलिरहेका छन्।
अन्तहीन पीडाले थलिएको
एउटा बूढो रातलाई
कठालो समातेर घिसारिरहेका छन्,
विद्रोहका स्वरहरू
उरालिरहेका छन्।
मलाई लागिरहेको छ
अब दुखाइ थर्मोमिटरको पारोझैं
चढेर चरम छुन्छ होला,
तनावहरूको आँधीले
अस्तव्यस्त दिमागमाथि
धावा बोल्छ होला,
सल्काएर आगो
अभावको धुवाँले
पुत्पुताइदिन्छ होला जीवन!
त्यो बेला
हत्केलाले आँखा मिच्न
र आँसुले भिजाउनबाहेक
म केही गर्न सक्दिन होला!
यद्यपि
हाम्रा दुःखहरू फिक्का हुँदा रहेछन्
माटाको दुःख अघिल्तिर।
प्रकाशित: ५ श्रावण २०७९ ०५:३८ बिहीबार