१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

आडम्बर

लघुकथा

विमला अधिकारी देवकोटा

मनकली,ए मनकली! मन्दिर जाने होइन?

बिहानको त्यस्तै सात बजेतिर मेरो घरको आँगनमा उभिएर निकै उच्च आवाजमा बोलाउँदै थिइन् बिमली।

मैले भित्रबाट झ्यालको पर्दा हटाउँदै बिमलीलाई यसो बाहिर नियालें, दुवै हातमा मेहेन्दी लगाएकी, हरियो साडी, हातैभरि हरियो चुरा र केशमा हरियो रिबन थियो। सुन्दर शृङ्गार निकै सजिएर आएकी रहिछन्।

आज श्रावणको पहिलो सोमबार अलि टाढाको महादेवको मन्दिर जान हिंडेकी रहिछन् र मलाई सँगै लिएर जान खोजेकी रहिछिन्। मैले बुझिहालें।

यति राम्री सजिएर कसका लागि व्रत बसेको होलिन्! सधैं श्रीमानसँग बाझाबाझ र झगडा गरिरहने उनी खै कसका लागि व्रत बसेर मन्दिर जाँदै थिइन्। मैले केही भेउ पाउन सकिनँ।

होलान्, कोही माया गर्ने उनैका लागि पनि हुन सक्छ। श्रावण महिना नै प्रेम महिना हो भन्छन्।

म आफ्नै मनसित कुरा गर्न थालें, ‘बाहिर देखिने सुन्दरताको के अर्थ! भित्री आवरण पो सुन्दर हुनुपर्छ। सफा मनले मनभित्रको मन्दिर सजाएर पूजा गरे हुँदैन र?’

म बिहान चारै बजे उठें। घरधन्दा सकेर आफ्नै घरभित्रको भगवानको पूजाआराधना गर्ने तयारी गर्दै थिएँ। त्यो सुन्दर आवरणमा सजिएर जाने सामर्थ्य यो मनले राख्न सकेन र त्यो ढोङ गर्न पनि सकिनँ।

मैले भित्रबाट नै भनिदिएँ, ‘तिमी जाऊ बिमली, म टाउको दुखेर सुतिरहेको छु।’

प्रकाशित: ५ श्रावण २०७९ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App