१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

आश्रम

लघुकथा

सुनिता निरौला पौडेल

‘आमा, मेरो यसपालिको जन्मदिन घरमा हैन,वृद्धाश्रममा मनाउने है।’

वृद्धाश्रमका हजुरबुवा–हजुरआमासँग बसेर केक काट्ने र रमाइलो गर्ने’ भनेर मेरो १२ वर्षीया छोरी श्रेयाले आएर भन्न थालिन्।

मैले पनि ‘हुन्छ नि छोरी, तिम्रो राम्रो विचार राम्रो रहेछ’ भनी खुशी पोखें।

छोरी श्रेया र म उनको जन्मदिनमा वृद्धाश्रममा गयौं। त्यहाँ सबै हजुरबुबा–हजुरआमा देखेर मेरो छोरी दङ्ग थिइन्। उहाँहरू पनि आआफ्नो नातिनातिनी सम्झेर खुशी हुनुहुन्थ्यो।

छोरी सबै हजुरबुवा र हजुरआमाको साथमा मैनबत्ती र केक लिएर बसिन्। साँच्चै मेरो श्रेया छोरी आज निकै खुशी भएकी थिइन्।

मानौं, सारा खुशी उनको अनुहारमा झल्केको थियो। छोरीले सबै हजुरबुबा–हजुरआमालाई केक दिइन्। त्यहाँ हजुरबुबा–हजुरआमाहरू कति खुशी देखिनुहुन्थ्यो,उल्लेख नै गर्न सकिंदैन थियो।

मैले पनि छोरीलाई केक बाँड्न सघाएँ। एकजना बुवा कुनामा बसेर रुँदै गरेको देखें। मलाई लाग्यो,नातिनातिनातिना सम्झेर रोएको हुनुपर्छ।

हेर्दा उहाँ निकै राम्रो परिवारको जस्तो देखिन्थ्यो। फेरि चित्तले नमानेपछि सोधपुछ गर्न मन लाग्यो।

त्यहाँ नजिकै गएर तिनै बुढा मान्छेसँग सोधें,‘बुवा, हजुरलाई यो ठाउँमा कस्ले ल्याइपुयायो!’

तत्कालै उत्तर आयो, ‘छोराले मलाई यहाँ ल्याएको।’

म स्तब्ध हुँदै सोधें, ‘हजुरको कति भाइ छोरा नि?’

–तीन भाइ।

झन् चकित हुँदै तिनै बुढा बालाई सोधें, ‘बुवा, हजुरको छोरी छैन र?’

त्यसपछि ती बुढा हजुरबुवाले गहभरि आँसु पार्दै भन्नुभयो, ‘मेरो छोरी भएको भए आज यसरी आश्रममा आउनु नै पर्दैनथ्यो नानी।’

प्रकाशित: ५ श्रावण २०७९ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App