१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

महको प्रस्तुतिले जापानबासी नेपालीका अाँखा रसाए

टोकियो-एनआरएनए जापानको आयोजनामा राजधानी टोकियोमा आइतबार 'मह'जात्रा सम्पन्न भएको छ। पाँच करोड परोपकारी कोषको स्थापनार्थ आयोजना गरिएको महजात्रा हेर्न एक हजारभन्दा बढीको संख्यामा उपस्थित दर्शकहरू सहभागी भए।

'एउटा राम्रो नेता दिनलाई किन तिम्ले टाउँको कन्यायौ' भन्दै प्यारोडी गीतबाट आफ्नो प्रस्तुति शुरू गरेका महले नेवारबहादुर बाहुनबहादुर नामक प्रहसनबाट जातीय द्वन्दले मूलुक गम्भीर मोडमा पुगेको तितो यथार्थलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरे। महले सो प्रहसनमार्फ़त हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश दिइरहँदा कतिपय दर्शक भावुक भएका थिए। कतिका आँखा रसाए।

म 'डन' नामक प्रहसन मार्फ़त मुकुलमा राजनीतिक संरक्षणमा मौलाएको दादागिरीलाई तिखो ब्यंग्य प्रहार गरे अनि बेरोजगारि समस्याले युवाहरू कसरी बिदेसिन बाध्य हुन्छन् भन्ने कुरालाई यथार्थपरक ढंगले प्रस्तुत गरे। मोहित आचार्य र नरेन्द्र कंशाकारले प्रहसनमा साथ दिएका थिए। 'मैले सोचेको भन्दा धेरै रमाईलो भयो', भक्तपुरका झुकाराई सुवालले भने, 'मनोरंजन मात्र नभई धेरै कुराहरूको ज्ञान पनि भयो।',

अर्का सहभागी अनिश महर्जनले सानो हुँदा टिभीमा देखेको कलाकारको प्रत्यक्ष प्रस्तुति हेर्दा एकदम खुशी लागेको बताए। ८ वर्षदेखि जापानमा बस्दै अाएका उनले अाफ्ना लागि मह जोडीको प्रस्तुति अविष्मरणीय रहेको बताए।

कार्यक्रममा लोकसंगीतका पुराना गायक बमबहादुर कार्कीले पुराना गीत गाएर मनोरञ्जन प्रदान गरे। चर्चित नायिका प्रियङ्का कार्किको आकर्षक नृत्यले धेरैलाई रोमाञ्चित बनायो। कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का कार्यक्रमको अर्को आकर्षण बने। गायक यमन श्रेष्ठको 'नेपाली नेपाली भेट भोकी र छ अहिले सेल्फीको जमाना' गीत लाई दर्शकहरूले निकै रूचाएका थिए।

एनअारएनको परोपकारी अभियानमा सहभागी हुन पाउँदा अाफूलाई अन्त्यत खूसी लागेको हरिवंश अाचार्यले सुनाए। कार्यक्रमपछि नागरिकन्युजसँग कुरा गर्दै वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले भने, 'हामीलाई माया गरेर हाम्रो प्रस्तुति हेरिदिनुभएकोमा धन्याबाद छ।'

'आज हामीले सात समुद्रपारी आएर कार्यक्रम देखाउन पाएको तपाइँहरूकै मायाको कारण हो', अर्का वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले भने, 'कार्यक्रम सफल भयो।'

जापानका लागि नेपाली कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आथित्यमा सञ्चालन भएको कार्यक्रमको उदघाटन गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, कावा राजदुत राजभण्डारी, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, समसारा रेमिटयान्सका शंकर गिरीले संयुक्त रुपमा गरेका थिए।

परोपकारी कोष संकलनार्थ दोश्रो चरणको कार्यक्रम २२ तारिकमा ओसाका तथा २४ तारिकमा फुकुओका शहरमा आयोजना हुने एनआरएनए जापानले जनाएको छ।

प्रकाशित: ६ पुस २०७२ ०१:०४ सोमबार